७ वैशाख २०८१ शुक्रबार
अन्य

नारी साहित्यका पकवान

नेपाली साहित्यमा महिला लेखकहरूको संख्या निकै कम छ। बर्सेनि सयौँ पुस्तक बजारमा आउँदा महिलाले लेखेका पुस्तकको संख्या भने औँलामा गन्न सकिने मात्र हुन्छन्। त्यसो त, पारिजातपछि नेपाली साहित्यमा सशक्त महिला साहित्यकारको उदय नै हुन नसकेको गुनासो पनि सुनिने गरेको छ। पुरस्कार तथा सम्मान पाउने नारी लेखक भेट्न मुस्किल पर्छ। पछिल्लो तीन दशकमा नेपाली वाङ्मयको चर्चित पुरस्कार 'मदन पुरस्कार' पाउने जम्मा दुई वटा मात्र महिलाले लेखेका कृतिहरू छन्। झमक घिमिरेको 'जीवन काँडा कि फूल' र राधा पौडेलको 'खलंगामा हमला'ले यो पुरस्कार पाएपछि नारी लेखक पनि स्तरीय लेख्न सक्छन् भन्ने प्रष्ट भएको छ।

नेपालमा सामान्य महिलाका लागि पनि चुनौती धेरै छन्। घरेलु कामकाजका साथै अन्य जिम्मेवारी पूरा गरेर साहित्य सिर्जना गर्न त्यति सजिलो छैन। लेखिहाले पनि वा कृति प्रकाशन गरिहाले पनि महिलाले लेखेको कृति भनेर नकारात्मक आँखाले हेर्ने र होच्याउने जमात ठूलो छ। 

पछिल्लो समय 'चीरहरण' उपन्यास लेखेेकी नीलम कार्की निहारिका महिला लेखकलाई कृतिको हिसाबमा नभएर 'लेखिका'को हिसाबमा पढ्ने जमात अझै पनि भएको बताउँछिन्। महिलाले लेखेको भन्नेबित्तिकै अलि फरक हिसाबले हेर्ने गरेको उनको गुनासो छ। 'समाजमा अझै पनि महिलाले लेखेको पुस्तकलाई कृतिका रूपमा नहेरी अर्कै धारणा बनाउने अधिकांशको सोच हटेको छैन,' उनी भन्छिन्। कुनै पनि कृतिसँग अर्को साहित्यकार कृतिसँग तुलना हुनै नसक्ने उनको भनाइ छ।

पाल्पामा जन्मेकी उनले २२ वर्षदेखि साहित्यमा कलम चलाइरहेकी छन्। विधागत हिसाबले कथा, कविता, निबन्ध, उपन्यास सबै मन पराउने उनी कविताबाट बढी आकर्षित छिन्। 'आफ्नो ठाउँमा सबैको आफ्नैखालको महŒव छ, तर लेख्न र पढ्नको लागि समय कतिको छ भन्नेमा भर पर्छ,' उनी भन्छिन्। उनलाई नेपाली महिला लेखकमा पारिजातको खुबै मन पर्छ। अग्रज लेखकका धेरैजसो कृतिले आफूलाई प्रेरणा दिएको उनी बताउँछिन्।

स्कुल पढ्दा कविता लेखनबाट साहित्य यात्रा सुरु गरेकी आन्बिका गिरीले भने पछि कविता लेख्न चटक्क छाडिन् र  कथा लेख्न थालिन्। अहिलेसम्म उनले 'हाम्रा कुरा पनि सुन्नुहोस्' बाल कथासंग्रह, 'कम्युनिस्ट' कथासंग्रह र 'मान्छेको रङ' लेखिसकेकी छन्। आफूले धेरै साहित्यकारका सिर्जना पढेको भए पनि लेखनमै प्रेरणा दिने भनेर कुनै एक साहित्यकारको नाम लिन भने उनी चाहन्नन्।

२०५७ सालको राष्ट्रिय कविता महोत्सवमा तेस्रो भएकी निहारिका नेपालमा महिला साहित्यकारलाई अवसर कम भएको बताउँछिन्। 'कवितामा पुरस्कुत हुँदा म धेरै खुसी थिएँ, तर एक जना अग्रजले उसले त महिला कोटामा पाएको हो भन्नुभयो। मलाई धेरै ननिको लाग्यो,' उनी भन्छिन्। महिला भएका कारण कसैले पुरस्कृत भएको प्रतिक्रिया दिएको सुन्नुभन्दा पुरस्कारै नपाएको राम्रो भन्ने उनको विचार छ। महिलाले प्रतिस्पर्धा गर्न सक्ने भए पनि उनीहरूलाई छुट्टै व्यवहार गर्ने गरेको उनको गुनासो छ। 

अर्की साहित्यकार सीमा आभास पनि नेपाली समाजमा महिलाले लेख्नासाथ महिला साहित्यकार भनेर छुट्टै कित्तामा राखिदिने गरेको बताउँछिन्। महिला लेखनले अझै पनि सामाजिक मान्यता पाइनसकेको उनको अनुभव छ। एउटा पुरुषले महिला पात्रलाई लेख्यो भने ऊ मेनस्ट्रिमको साहित्यकार हुने, तर एउटी महिलाले लेखिन् भने 'महिलावादी घेराबाट उठेनन्' भन्ने आरोप लाग्ने गरेको उनी बताउँछिन्। 'मेरो कवितासंग्रह प्रकाशित हुँदैछ। धेरै आरोप लागेपछि मैले संग्रहको नाम नै परिवर्तन गर्नुपर्‍यो,' उनी भन्छिन्। विशुद्ध साहित्यकारभन्दा पनि महिलावादी भनेर आरोप लगाउनेहरूलाई आफूले पुरुष कुण्ठाबाट मुक्त होऊ भनेर सुझाव दिने गरेको उनी बताउँछिन्।

२०७१ सालमा मदन पुरस्कार प्राप्त कृति 'खलंगामा हमला– एउटी नर्सको डायरी' की लेखिका राधा पौडेलले सानै उमेरदेखि लेख्न थालेकी हुन्। स्कुल पढ्दै गर्दा कथा, कविता, निबन्ध प्रतियोगितामा उनले भाग लिन थालिन्। यसमा उनी प्रायः पहिलो नै हुन्थिन्। नर्सिङ अध्ययन गर्दा र त्यसपछिको अध्ययनको क्रममा जहाँ साहित्यक प्रतियोगिता हुन्थ्यो, त्यहाँ भाग लिने गर्थिन्। उनीसँगै प्रतियोगितामा भाग लिने कति साहित्यबाटै पलायन भए भने उनी अझै पनि साहित्य लेखनमा सक्रिय छिन्।

पारिजातको 'अनिदो पहाडसँगै' पुस्तकबाट अधिक प्रभावित पौडेल नेपाली समाजमा साहित्य र साहित्यकार भनेको के हो भन्ने कुरा नै चित्तबुझ्दो नभएको बताउँछिन्। साहित्य लेखन सुरु भएको समयदेखि अहिलेसम्म जुन दृष्टिकोणबाट साहित्यलाई हेरिन्थ्यो, त्यही लेख्नेमात्र साहित्यकार, त्यस्तैमात्र साहित्य भनेर बुझिएको उनको भनाइ छ। 'बुझाइमै कमजोरी छ। समावेशीको कुरा गरिरहँदा फरक धारबाट आएका महिला लेखक, व्यक्तित्व र विषय नै साहित्य हो भनेर स्वीकार गर्न नसकेको अवस्था छ,' उनी थप्छिन्, 'साहित्य र साहित्यकारको परिभाषा एकदमै परम्परावादी छ। पहिलाको परिभाषा नाघेर अहिले समावेशीको कुरा उठिरहेको छ।' नेपालको साहित्य अझै पनि पुरानै ढाँचाको भएको उनको गुनासो छ।

दुई दशकअघि विद्यालयमा पढ्दै गर्दा कविता लेख्न सुरु गरेकी सरिता तिवारीलाई किशोरावस्थादेखि नै पुस्तक अध्ययनमा रूचि थियो। घरमा आफ्ना दाजुले ल्याउने पत्रपत्रिका र सामान्य ज्ञानबाट पढ्ने बानी लागेको उनी बताउँछिन्। स्कुलमै पढ्दाताका उनले म्याक्सिम गोर्कीको आमाको अनुवाद पढ्न पाइन्। त्यसबाहेक, 'देउमाईको किनारमा', 'लुटिएका दुई थुँगा फूल', 'चोर'जस्ता उपन्यास पनि किशोरवयमै उनले पढिन्। क्याम्पस पढ्न थालेपछि पढ्ने कामसँगै लेख्ने रूचि पनि बढ्न थाल्यो। प्रतियोगिताहरूमा भाग लिने र पुरस्कृत हुने क्रम झन बाक्लियो। त्यसैको हौसलाले पहिलो कवितासंग्रह २०५७ सालमा प्रकाशित गरिन्।

पारिजात र तसलिमा नसरिनका पुस्तकबाट प्रभावित तिवारी चुप लागेर बस्नेहरूसँग कुनै चुनौती नहुने बताउँछिन्। 'जब तपाईं आफ्नो जिब्रो चलाउन थाल्नुहुन्छ, चुनौती सुुरु भैहाल्छ,' उनी भन्छिन्। लेखक वा साहित्यकार हुन सजिलो नभएको उनको भनाइ छ। महिला भएर लेखक हुन कस्सिनु ड्रेसिङ टेबुलमा बसेर मेकअप गर्नुजस्तो सहज नहुने उनको अनुभव छ। त्यसमाथि, समाजले महिला लेखकलाई स्वीकार गर्न त्यति सजिलै नसक्ने उनी बताउँछिन्। 'हाम्रो समाजका आममानिस मात्र होइन, बौद्धिक जगत् र स्वयं लेखकवृत्तले समेत महिलालाई 'नलेज मेकर' स्वीकार गर्न सक्दैन, उनी भन्छिन्, 'यहाँ महिलालाई वेश्यावृत्ति गर्नु बरु सजिलो होला, लेखक बनेर स्वीकृत हुन गाह्रो छ।'

कविता लेखनमा रमाएकी पोखराकी सरस्वती प्रतीक्षा महिलाले साहित्य सिर्जनामा लाग्दा ठूलो चुनौती झेल्नुपर्ने देख्छिन्। महिलाहरूको प्राकृतिक र शारीरिक संरचनासँगै सामाजिक र सांस्कृतिक व्यवधानले पनि चुनौती थप्ने उनको बुझाइ छ। ती सबैलाई पन्छाएर अगाडि बढ्नु चुनौतीपूर्ण रहेको उनी बताउँछिन्। यति हुँदाहुँदै पनि बिस्तारै अवस्था परिवर्तन हुँदै गएको उनको अनुभव छ। 'पहिलापहिला अग्रज दिदीहरूको कुरा सुन्दा हामीलाई अहिले त धेरै सजिलो छ जस्तो लाग्छ,' उनी भन्छिन्। साहित्यलाई अहिले पनि अनुत्पादक मान्ने गरिएकोमा भने उनको विमति छ। यही कारण अघिल्लो पुस्ताका महिला सर्जकहरूका लागि लेखन निकै चुनौतीपूर्ण भएको उनको भनाइ छ। 

चुनौतीका चाङ

नेपालमा महिला साहित्यकारको संख्या तुलनात्मकरूपमै थोरै छ। यही कारण महिलाले लेखेका कृतिहरू पनि कम हुने नै भए।  राजधानी र मोफसलमा हुने साहित्यिक कार्यक्रमहरूमा पनि महिला प्रतिनिधित्व एकदमै कम हुने गर्छ। निहारिका भने नेपालमा महिला साक्षरता दर कम भएकाले महिला लेखिका कम हुनु स्वाभाविक भएको बताउँछिन्। विवाह भएपछि घरको काम, बालबच्चाको स्याहारसुसारजस्ता पारिवारिक जिम्मेवारीले पनि पर्याप्त समय दिन कठिनाइ पर्छ। 'महिला साहित्यकारले लेखनलाई निरन्तरता दिन अनेकखाले चुनौती छ,' उनी भन्छिन्।

महिला साहित्यकारलाई पुरुषको सहयोग नभएको भन्ने कुरामा निहारिका समर्थन गर्दिनन्। पुरुष उत्तरदायी भए पनि प्राकृतिकरूपमै महिलालाई बढी जिम्मेवारी भएकोले पुरुषलाई भन्दा गाह्रो भएको उनको भनाइ छ। 'बच्चा राति रुँदा आमाको निद्रा खल्बलिन्छ, दूध आमाले खुवाउनुपर्छ। संस्कारकै कुरा गर्दा घरमा पाहुना आउँदा चिया बनाएर महिलाले खुवाउनुपर्छ,' उनी थप्छिन्, 'मेरी श्रीमती लेख्दैछ भनेर कमै श्रीमान्ले पारिवारिक काममा सघाउँछन्। त्यही घरमा पुरुष लेखक छ भने छोराछोरीलाई ए डिर्स्टब नगर, बुवा लेखिरहनुभएको छ भनेर महिलाले नै भन्नुपर्छ।' त्यसरी महिलाका लागि बोलिदिने पुरुष अपवाद हुने गरेकाले प्राकृतिक र सामाजिक कारणले पनि महिलालाई अप्ठ्यारो भएको उनी बताउँछिन्।

महिला साहित्यकारलाई विगतमा पनि गाह्रो हुने गरेको र अहिले पनि गाह्रो भएको पौडेलको अनुभव छ। आजको दिनमा पनि कुनै एउटा साहित्यभित्र नातावाद, कृपावाद वा राजनीतिक आस्थाको सम्बन्ध भएन भने स्थान पाउन असम्भवजस्तै भएको उनको अनभुव छ। 'चाहे पत्रपत्रिकाको कुरा होस् वा पुस्तक प्रकाशनको कुरा होस्, महिलाले उठान गरेका कुरा र विषयवस्तुलाई आत्मसाथ गर्न वा बहसको विषय बनाउन महिलालाई हिजो पनि गाह्रो थियो आज पनि छ,' उनी भन्छिन्। जातिवाद, नातावाद, कृपावाद, राजनीतिक सम्बन्धजस्ता कुनै पनि गाँठो भएन भने महिलाले अवसर पाउन गाह्रो भएको उनी बताउँछिन्।

मदन पुरस्कार प्राप्त कृति खलंगामा हमला प्रकाशन हुनै पौडेलले १२ वर्ष कुर्नुपर्‍यो। देशकै ठूलो साहित्यिक पुरस्कार भए पनि यो किताबकै बारेमा आजसम्म कुनै पनि टेलिभिजन च्यानलले कुराकानीका निम्ति आफूलाई नबोलाएको उनी बताउँछिन्। 'यसले के देखाउँछ भने कुनै नाता–सम्बन्ध नभएको महिलालाई समस्या छ। मेरो मात्र कुरा होइन, अन्य महिलाले पनि साहित्यमा स्थान पाउन र समाजले स्वीकार्न मुस्किल छ,' उनी भन्छिन्। नेपाली साहित्यको बजार एउटै मान्छेले कब्जा गरिरहने, पुस्तक प्रकाशन गरिरहने र उनीहरूले लेखेको मात्रै राम्रो हुन्छ भन्ने संस्कार हावी हुँदै गएको उनको गुनासो छ। बजारमा सीमित लेखकको एकाधिकार बढ्दै गएको उनको बुझाइ छ। 'यो समग्र नेपाली साहित्यका लागि हानिकारक छ,' उनी भन्छिन्।

तर, विवाह गरेपछि आफूले गरिरहेको काम रोकिनुपर्छ वा पूर्णविराम लगाउनुपर्छ भन्ने कुरामा पौडेल विश्वास गर्दिनन्। कामलाई निरन्तरता दिने सन्दर्भ महिलाको इच्छाशक्तिमा भरपर्ने उनी बताउँछिन्। त्यससँगै, घरपरिवार र विशेषगरी श्रीमान्को साथ–सहयोेग र बाहिरी वातावरणले पनि प्रभाव पार्ने उनको बुझाइ छ। 'यी तीनवटा कुराको सकारात्मक भए सजिलो हुन्छ। लेखिरहने्क तर प्रकाशन नगर्ने भयो भने पनि गुणस्तर खस्कन्छ,' उनी भन्छिन्।

नेपालमा महिलाका लागि लेखक हुनमात्र हैन जुनसुकै क्षेत्रमा पनि चुनौती रहेको गिरीको अनुभव छ। 'हाम्रोजस्तो पितृसत्तात्मक समाजमा महिलाका लागि लेखक हुन सजिलो छैन। आर्थिक, सामाजिक कुराहरू यति सशक्त तगारोको रूपमा उभिएका छन् कि त्यो ढाल्न ठूलै विद्रोहको आवश्यकता पर्छ,' उनी भन्छिन्, 'बजारमा प्रतिस्पर्धाका लागि तयार हुन पनि महिला लेखक कुन सामाजिक संरचनाबाट आएकी हुन् भन्ने कुराले निर्धारण गर्ने गरेको छ।' तमाम अप्ठेराका बीच नेपालमा महिला लेखक झन् सशक्त भएर आइरहेको उनी बताउँछिन्।

सिमित अवसर

हिजोभन्दा आज नेपाली साहित्यमा महिलाको अवस्था सुधार भए पनि अवसरमा सीमितता रहेको उनको गुनासो छ। महिलाका प्रतिस्पर्धी केवल महिलामा लगेर टुंग्याइदिने प्रचलन भएकाले पनि यस्तो भएको उनको विश्लेषण छ। 'तपाईंले कुनै लेखकलाई पाँच जना मन पर्ने लेखकको नाम भन्नुस् भन्दा उसले तबसम्म महिला लेखकको नाम नै भेट्टाउँदैन जबसम्म तपाईंले तोकेरै महिला लेखकको बारेमा सोध्नु हुन्न,' उनी भन्छिन्। त्यसबाहेक समाजले महिला लेखकलाई अविश्वास गर्ने गरेको उनको अनुभव छ। कोही महिला लेखकले राम्रो लेख्यो भने स्वीकार्न सकस हुने भएकाले महिला भएर पनि लेखिरहेकी छ है भनेर सहानुभूति दिने गरेको उनी बताउँछिन्।

नेपालमा महिला साहित्यकारको कमी छ भन्ने, समावेशी बनाउनुपर्छ भन्ने बुझेरै पनि आवश्यक रणनीति परिवर्तन नहुने भएकाले महिला साहित्यकारको संख्या बढ्न नसकेको पौडेल बताउँछिन्। परिवर्तन घरबाटै सुरु हुने भएकाले परिवारबाटै सकारात्मक सहयोग भयो भने समाजका बाधा, लैंगिक हिसाबमा आउने व्यवधान कम हुँदै जाने उनको बुझाइ छ।

समयक्रमसँगै नयाँ पुस्ता र पठन संस्कृति र चेतनाको स्तर बढेकाले बिस्तारै साहित्यलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको प्रतीक्षाले महसुस गरेकी छन्। 'पहिला ओ लेखक, ओ कवि भनेर जिस्काउँथे, अहिले त्यस्तो छैन। एउटा लेखक, कवि उपन्यासकार हुनु भनेको स्थापित व्यक्तित्व हुनु हो,' उनी भन्छिन्। तर, अहिलेको पुस्ता आधुनिक पुस्ताको भए पनि चेतनाको संक्रमणकालीन अवस्थामा रहेको उनी बताउँछिन्। देशमा छोटो समयमा धेरै राजनीतिक र सामाजिक परिवर्तन भएकाले यसका लागि यो पुस्ताले थुप्रै मूल्य चुकाउनुपरेको उनको बुझाइ छ। राम्रै लेख्ने पुरुषहरूमा पनि महिला लेखकप्रति एकखालको पूर्वाग्रह रहेको उनले  देखेकी छन्। 'आफूले चाहेको क्षेत्रमा लाग्न महिलाले पाइलापाइलामा ठूलो मूल्य चुकाउनुपर्छ। महिलाले गतिलो लेख्दैनन् भन्ने पुरुष सोच्छन्,' उनी पीडा पोख्छिन्।

महिलाका लागि नेपाली साहित्यमा चुनौतीमात्र होइन, अवसर पनि प्रशस्त रहेको तिवारी बताउँछिन्। अझै पनि समाजले महिलालाई भान्सामै हेर्न चाहने भएकाले ती अवसर प्राप्त गर्न केही संघर्ष भने गर्नुपर्ने उनको भनाइ छ। 'हाम्रो समाजले धेरै भए कमाउने र पैसा ल्याउनेसम्म स्वीकार्छ, तर सार्वजनिक क्षेत्रमा हस्तक्षेप गरेको, निर्णय दिएको र कुनै साहसिक कदम उठाएको कदापि देख्न चाहँदैन,' उनी भन्छिन्। आफू जोडिएको समाजमै एउटा लेखकको रूपमा आफ्नो व्यक्तित्व स्वीकार गर्न कठिनाइ पर्ने गरेको उनको अनुभव छ। संख्यात्मकरूपमा नेपाली साहित्यमा महिला लेखक कम नभएको, तर स्पष्ट समाजबोध भएका लेखकहरूको कमी भएको उनको भनाइ छ। 

डेढ दशकभन्दा लामो समयदेखि कविता लेखनमा सक्रिय प्रतीक्षाका तीन वटा कवितासंग्रह बजारमा आइसकेका छन्। अहिले महिलाको मनोविज्ञानको विषयवस्तुमा रहेर 'नथिया' नामक उपन्यास उनी लेखेरहेकी छन्। उनीसँगै लेख्न सुरु गरेका कतिपय सहयात्री अहिले साहित्य लेखनभन्दा धेरै टाढा रहेकोमा उनलाई दुःख लाग्छ। यो क्षेत्रमा सानो आत्मबलले टिक्नै नसकिने उनको बुझाइ छ। 'आत्मविश्वास छैन भने लेखनमात्र बलियो भएर हुँदैन। लेखन बलियो हुँदा त यति धेरै प्रहार हुन्छ। हरेक कुरालाई लिएर व्यक्तिगत जीवनका पाटालाई ओल्टाइपल्टाइ गरेर यो क्षेत्रमा आउँदाआउँदै टिक्नै दिँदैनन्,' उनी भन्छिन्। त्यसैले, लेखन र आत्मबल बलियो भयो भने मात्र साहित्यको क्षेत्रमा टिक्न सकिने उनी बताउँछिन्। मानिसले सकारात्मक र नकारात्मक दुवैखालका टिप्पणी गर्ने भएकाले त्यस्ता कुरालाई नेपथ्यमा राख्न उनलाई मन पर्छ। त्यस्ता टिप्पणी गर्नेहरू लेखनशैली मात्र होइन, राजनीतिकरूपमा समेत पूर्वाग्रही हुन सक्ने भएकाले कति कुरालाई उनी बेवास्ता गरिदिन्छिन्।

नेपाली साहित्यमा कतिपय महिला रहरले लेख्न सुरु गर्छन् र बीचमै छाडिदिन्छन्। निरन्तर लेखिरहेका लेखिकालाई जुनसुकै सामाजिक विषयमा आवाज उठाउँदा पनि महिलावादीको ट्याग लगाइदिने प्रवृत्ति समाजमा रहेको आभासको अनुभव छ। 'महिलाको विषयलाई उठान गर्नुस् अथवा समाजमा रहेका महिला पात्रलाई उठाउनुस् त्यसलाई मूलधारको साहित्यको स्तरमा लेखे पनि व्याख्या गरिदिने समालोचक र समीक्षकले महिलावादी भनिदिन्छन्,' उनी भन्छिन्। छन्दमा कविता लेख्ने आफ्नी आमाबाट प्रेरित भएर कविता लेख्न थालेकी आभास विवाह गरेपछि थपिने जिम्मेवारी र जागिरका कारण महिलाले पुरुषले जति समय नपाउने हुनाले निरन्तरता दिन गाह्रो परेको बताउँछिन्। यसै कारण पनि साहित्यसँग सम्बन्धित कार्यक्रम वा कविगोष्ठीमै पनि महिला लेखकको सहभागिता कम भएको उनको भनाइ छ।

प्रकाशित: १ श्रावण २०७३ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App