coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यस्तो देखियो सभागृहमा

उम्मेदवारी दर्ताको भइरहँदा राष्ट्रिय सभा गृहको दृश्य। तस्विरः प्रबीन कोइराला

भाषा शर्मा/खिलक बुढाथोकी/हिमाल शर्मा

काठमाडौं–राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मंगलबार काठमाडौं महानगरपालिकाका विभिन्न दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन सहरका विभिन्न ठाउँबाट दलहरूको भिन्नाभिन्नै जुलुस सभागृह पुगेको थियो । कार्यकर्ताहरू विभिन्न परम्परागत बाजागाजा, झाँकीसहित आआफ्ना पार्टीका झन्डा फहराउँदै त्यहाँ पुगेका थिए।

धेरैजसोले आफ्नो पार्टी र चुनाव चिह्न अंकित टिसर्ट र टोपी लगाएका थिए । भीडमा रहेका व्यक्ति कुन दलका कार्यकर्ता हुन् भनेर पहिचान गर्न गाह्रो थिएन।

धेरैजसोले आफ्नो पार्टी र चुनाव चिह्न अंकित टिसर्ट र टोपी लगाएका थिए । भीडमा रहेका व्यक्ति कुन दलका कार्यकर्ता हुन् भनेर पहिचान गर्न गाह्रो थिएन। कोही कार्यकर्ता मनोनयन फाराम भर्दै गरेका देखिन्थे भने कोही नागरिकता, मतदाता परिचयपत्रको फोटोकपी हातमा लिएर उम्मेदवार दर्ताका लागि फाराम भर्न व्यस्त थिए।

मुख्य दल कांग्रेस, एमाले, माओवादी केन्द्र साथै स्वतन्त्रबाट उम्मेदवारी दिनेको ठूलै लर्को देखिन्थ्यो । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको एकै स्थानमा मनोनयन दर्ता भएकाले सभागृहअगाडि दलका कार्यकर्ताको भीड लागेको थियो । झुन्डझुन्डमा रहेर कार्यकर्ताले आफ्नो वडामा कुन पार्टीमा कसले उम्मेदवारी दियो भनेर निकै चासोका साथ छलफल गर्दै थिए ।

महिला झनै उत्साहित

सभागृहअघि कांग्रेसका झन्डा बोकेर उभिएकी काठमाडौं–१० नयाँ बानेश्वरकी अनिता चापागार्इंले आफू वडा सदस्यका लागि उम्मेदवारी दिन आएको बताइन्। ‘महिला सधैं किन पछाडि पर्ने ? गर्न सक्छौं हामीलाई अवसर देऊ,’ उनले भनिन्, ‘हामी यसै पनि काम गरिरहेका छौं। अवसर पायौं भने विकास गर्न सक्छौं।’

महानगरपालिकाको बजेट तर्जुमामा कांग्रेस तर्फबाट प्रतिनिधित्व गर्दै आएकी उनले सबै सरकारी कार्यालयसँग आफ्नो पहुँच रहेको दाबी गरिन्। उनले भनिन्, ‘म २०४६ सालदेखि महिला संघको सदस्य बनेर काम गरिरहेकी छु । मैले वडा सदस्यमा जित्न सकें भने महिलालाई पहिलो प्राथमिकता दिनेछु । तालिम दिएर आत्मनिर्भर बनाउन सहयोग गर्छु।’

उनीसँगै वडा नं. १० बाटै शान्ति तामाङले पनि सदस्यमा उम्मेदवारी दिन लागेको बताइन्। बुद्धनगरकी तामाङले आफूले जितेमा बाटोघाटो र ढलको व्यवस्थापन गर्नमा सघाउने प्रतिबद्धता व्यक्त गरिन्। ‘हामी यसै पनि समाजसेवा गरिरहेका छौं। सदस्य जितेमा काम गर्न अझै सजिलो हुनेछ,’ उनले भनिन्।

दलित महिलातर्फबाट सुनिता परियारले उम्मेदवारी दिइन्। उनले संविधानमै दलित महिलाका लागि व्यवस्था भएकाले आफूले उम्मेदवारी पाएको भन्दै खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘दलित महिला कम छन् । म राजनीतिमा लागेको धेरै त भएको छैन । दलित भएकाले वडाबाट सदस्यमा उम्मेदवार बन्ने अवसर पाएँ।’

वडा नं. १८ मा एमालेका तर्फबाट एक दलित महिलासहित तीनजना महिलाले उम्मेदवारी दिए। हेराशोभा महर्जन, अम्बिका सुनार र रचना शर्मा । उम्मेदवारका साथमा झन्डा लिएर आएकी भीममाया महर्जनले भनिन्, ‘कति घरधन्दा मात्रै गर्ने ? अब हामी पनि महिलाका लागि अधिकार ल्याउँछौं ।’ महिलालाई जिताउन चुनावमा लागिपर्ने उनले बताइन्।

वडा नम्बर २८ मा माओवादी केन्द्रका तर्फबाट महिला सदस्य सुनकेशरी खड्गीले उम्मेदवारी दिइन् । बागबजार निवासी खड्गी माओवादी केन्द्रको एक्ली महिला सदस्य हुन् । त्यस वडामा दलित महिला नभएका कारण उम्मेदवार उठाउन नसकिएको खड्गीले बताइन् । त्यसैगरी वडा नं. २९ मा माओवादी केन्द्रका तर्फबाट वडा सदस्य पूर्णदेवी महर्जन र दलितबाट मनसासिंह परियारले उम्मेदवारी दिए । घट्टेकुलो निवासी उनीहरूले वडाको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए।

कलंकी बस्ने सुशीला बथा लिम्बुले मेयरमा स्वतन्त्र उम्मेदवार दिइन्। देशमा राजनीतिक अस्थिरता देखेर आफूलाई स्वतन्त्र उम्मेदवार बन्न मन लागेको उनको भनाइ छ। ‘धेरै पार्टी देखियो, भोगियो ती पार्टीबाट केही उपलब्धि भएन। दिगो शान्ति र विकासका लागि मैले उम्मेदवारी दिँदैछु,’ उनले भनिन्।

उत्साह थपियो : निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनमा उत्साहजनक सहभागिता देखिएको बताए । राष्ट्रिय सभागृहमा भएको उम्मेदवार मनोनयन दर्ता अनुगनका क्रममा पुगेका प्रमुख निर्वाचन आयुक्त यादवले मनोनयनमा उम्मेदवार र मतदाता दुवैको उत्साहपूर्ण सहभागिता रहेको बताए। ‘मनोनयन दर्तामा सहभागी उम्मेदवारको उपस्थितिले चुनावी माहोल ह्वात्तै बढेको अनुभव गरेको छु,’ उनले भने,‘उम्मेदवारमा मात्रै होइन मतदातामा पनि छुट्टै उत्साह थपिएको छ ।’ पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका दुई सय ८३ स्थानीय तहमा झण्डै ५० लाख मतदाता सहभागी हुने प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए ।

मतदान गर्न पाइने भो: मतदाता

मंगलबार बिहानसम्म सर्वसाधारणमा निर्वाचन होला कि नहोला भन्ने दुविधा थियो। बिहानदेखि नै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारको चहलपहलसँगै मतदातामा अब निर्वाचन हुनेमा ढुक्क छन् । ‘केही दिनअघिसम्म त निर्वाचन होलाजस्तै लाग्दैनथ्यो,’ काठमाडौं महानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय सभागृहमा भेटिएका शिव हमालले भने, ‘उम्मेदवारी दर्ता गरेसँगै अब निर्वाचन हुने आशा जगाएको छ ।’ मतदाताहरूले स्थानीय तहको निर्वाचनमा मतदान गर्न उत्साहित भएको बताएका छन् । ‘राजनीतिक दलको खिचातानीले निर्वाचन हुँदैन कि जस्तो लाग्थ्यो,’ असनकी रमिशा श्रेष्ठले भनिन्, ‘ दलका प्रतिनिधिले उम्मेदवारी दर्ता गरेसँगै अब निर्वाचन हुने भयो ।’

काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्य पदमा उम्मेदवारी दर्ता गर्न दलका कार्यकर्ता बहुरंगी पहिचान झल्किने पहिरनमा उपस्थित भएका थिए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘कोही बाजागाजासहित उम्मेदवारी दर्ता गर्न आउनुभयो । कोही मौलिक पोसाक झल्किने पहिचानमा आएको देखियो । निर्वाचनमा सबै क्षेत्रका जनताको प्रतिनिधित्व देखियो । स्थानीय तह निर्वाचनमा विविधतामा एकता झल्किएको छ । जुन प्रजातन्त्रकै सुन्दर पाटो हो ।’

प्रकाशित: २० वैशाख २०७४ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App