७ वैशाख २०८१ शुक्रबार
राजनीति

ललितपुर महानगरः कांग्रेसबाट बागी उम्मेदवार

ललितपुर–ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार उठेका छन्। पार्टीले आधिकारिक उम्मेदवार मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याललाई तोके पनि पुराना नेता प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले ललितपुर महानगरका लागि मेयर तथा उपमेयरमा २९ जनाले मनोनयन दर्ता गराएको जानकारी दिए ।

स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको अन्तिम समयमा कांग्रेसका प्रेमलाल महर्जनले ललितपुर महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

एमालेले मेयरमा हरिकृष्ण व्यञ्जनकार र उममेयरमा सुकमाया लामालाई उम्मेदवार बनाएको छ। उम्मेदवारी मनोनयनका लागि एमाले नेता रघुजी पन्त पनि निर्वाचन कार्यालय पुगेका थिए।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल उम्मेदवारको मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेकी थिइन्। माओवादीले दिनेश महर्जन (दीपेश) लाई मेयर र हसिना शाक्यलाई उपमेयरमा मैदानमा उतारेको छ।

राप्रपाले ललितपुर महानगरमा अष्टबहादुर महर्जनलाई मेयर र सजना कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ। नयाँ शक्ति पार्टीले मेयरमा मदन महर्जन, नेपाल लोकतान्त्रिक फोरमले मेयर पदमा मुरारी रिसाल र चुरेभाबर लोकतान्त्रिकले अभय बस्नेतलाई मेयर पदमा उठाएको छ। यी तीनै पार्टीले उपमेयरमा उम्मेदवारी दिएका छैनन्। नेकपा मालेका तर्फबाट मेयरमा मोहनराज शाक्य र उपमेयरमा लक्ष्मीकुमारी क्षेष्ठले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी क्रान्तिकारी वैद्य समूहबाट विजय खड्गीले मेयरमा र इन्दिरा अधिकारीदे उपमेयरमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट रोशन महर्जन मेयरमा उम्मेदवारी दिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार साझा पार्टीको समर्थन रहेका रमेश महर्जनले मेयरमा र शोभा शाक्यले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  यस्तै प्रवीणकुमार बज्राचार्यले मेयर र रुपा थापाले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। मेयरका लागि प्रदिपकुमार थापाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले ललितपुर महानगरका लागि मेयर तथा उपमेयरमा २९ जनाले मनोनयन दर्ता गराएको जानकारी दिए । उनका अनुसार मेयर पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरि १७ जनाको उम्मेदवारी परेको छ, यस्तै उपमेयरमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

‘शान्तिपूर्ण वातावरणमा मंगलबारको मनोनयन कार्य सकिएको छ, अन्य प्रक्रिया नियमित हुनेछन्,’ दवाडीले नागरिकसँग भने ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App