८ वैशाख २०८१ शनिबार
राजनीति

जुलुस र बाजागाजासहित मनोनयन दर्ता

भक्तपुर— खरिपाटीस्थित चाँगुनारायण नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालय मंगलबार बिहान १० बजे सुनसानजस्तै थियो। कार्यालयमा बाहिर म्यादी प्रहरी सुरक्षामा तैनाथ थिए। कार्यालयभित्र उम्मेदवारी मनोनयन दर्ताका लागि कर्मचारी तयारी अवस्थामा थिए। दिउँसो एक बजेसम्म उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू कार्यालयमा पुगेका थिएनन्।

निर्वाचन अधिकृतको कार्यालय सूर्यविनायक नगरपालिकाका कटुन्जेको अवस्था पनि उस्तै थियो। दिउँसो तीन बजेसम्म पनि कार्यालयमा जिल्लामा प्रभावशाली दलले उम्मेदवारी दर्ता गराएका थिएनन्। त्यहाँ पहिलोपटक सवा तीन बजे नेपाल मजदुर किसान पार्टीको जुलुस उम्मेदवारी दर्ताका लागि बाजागाजासहित पुगेको थियो। त्यसलगत्तै एमाले अनि राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवारी दर्ताका लागि जुलुससहित पुगेका थिए । कांग्रेसको जुलुस चार बजेतिर उम्मेदवारी दर्ताका कटुन्जे पुगेको थियो। 

यस्तै मध्यपुर थिमि नगरपालिका कार्यालयमा कांग्रेस जुलुस अपराह्न ५ बज्न पाँच मिनेट बाँकी रहँदा उम्मेदवारी दर्ताका लागि पुगेको थियो । एमाले, नेमकिपा र माओवादी केन्द्रले त्यसअघि नै उम्मेदवारी दर्ता गराएका थिए।

उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू नाराजुलुससहित सयौं कार्यकर्ता लिएर निर्वाचन कार्यालय पुगेका थिए। मध्यपुर थिमिमा नेपाली कांग्रेसको उम्मेदवारी दर्ता गर्न कार्यकर्ताहरू कार र्‍यालीसहित पुगेका थिए।

प्रकाशित: २० वैशाख २०७४ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App