काठमाडौं— स्थानीय तहको निर्वाचनको माहोल बढ्दै जाँदा सबैको चासोको केन्द्र बनेको छ काठमाडौं महानगरपालिका। देशकै केन्द्रमा मात्रै नभई पहिलो र धेरै मतदाता भएको महानगर भएकाले पनि सबैको चासो बढेको हो।
महानगरको मेयर पदका लागि मंगलबार विभिन्न राजनीतिक तथा स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरूले आफ्नो पक्षमा मतदाता आकर्षित गर्न विभिन्न योजना अघि सारेका छन् । प्रायः सबै उम्मेदवारले काठमाडौंलाई नमुना सहरका रूपमा विकास गर्ने अजेन्डा अघि सारेका छन्।
नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार राजुराज जोशीले काठमाडौंलाई स्वच्छ र सुविधासम्पन्न महानगरका रूपमा विकास गर्ने घोषणा गरे। उनले पाँच वर्षभित्र फ्लाइओभर र मेट्रोको सुरुआत गर्ने महत्वाकांक्षी योजनासमेत राखेका छन्। त्यसैगरी काठमाडौंबासीले भोग्दै आएको धुलोधुवाँ नियन्त्रण, सबै सार्वजनिक जग्गामा पार्क निर्माण, महानगरभित्र फ्रि वाइफाई र प्रविधिको विकास, सामुदायिक विद्यालयको स्तरोन्नति गरी बोर्डिङ स्कुलसरह बनाउने योजना जोशीले अघि सारेका छन्।
काठमाडौंबासीले भोग्दै आएको धुलोधुवाँ नियन्त्रण, सबै सार्वजनिक जग्गामा पार्क निर्माण, महानगरभित्र फ्रि वाइफाई र प्रविधिको विकास, सामुदायिक विद्यालयको स्तरोन्नति गरी बोर्डिङ स्कुलसरह बनाउने योजना जोशीले अघि सारेका छन्।
राप्रपाको समेत समर्थन पाएका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले पाँच वर्षमा काठमाडौंलाई समृद्ध सहर बनाउने घोषणा गरे। आवश्यक पूर्वाधारको विकास गरी काठमाडौंलाई २४ सै घन्टा खुला गर्ने योजना पनि उनले सुनाए। फोहोर, खानेपानी, यातायातलगायतको समस्यालाई व्यवस्थापन गर्दै सुन्दर र शान्त सहर बनाउने शाक्यको योजना छ। महानगरभित्र राजस्व एकीकृत रूपमा संकलन गरी विकासमा खर्च गर्ने उनले सुनाए ।
माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहमा पुर्याउने अजेन्डा आफ्नो पार्टीको भएको दाबी गर्दै सो अजेन्डा कार्यान्वयनका लागि पनि माओवादीकै नेतृत्व आवश्यक रहेको बताए। काठमाडौंवासीको समस्याप्रति पूर्ण जानकार रहेकाले ती समस्यालाई व्यवस्थापन गर्न आफू सक्षम रहेको उनले बताए। पाँच वर्षभित्र काठमाडौंलाई व्यवस्थित, विकसित र सुन्दर सहर बनाउने उनले बताए । स्थानीय स्रोतसाधनलाई परिचालन गरी महानगरको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवद्र्धनलगायतमा प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्ने योजनासमेत डंगोलले सुनाए।
विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) ले काठमाडौंलाई वास्तविक महानगरका रूपमा विकास गर्ने योजना अघि सारेकी छन्। नागरिकलाई केन्द्रमा राखेर नागरिक केन्द्रित विकास गर्ने बताउँदै उनले काठमाडौंको धुलोधुवाँ नियन्त्रण, पर्याप्त खुला स्थानको व्यवस्थापन, सार्वजनिक पार्कको निर्माणलगायत योजनालाई प्राथमिकता दिएकी छन् । सार्वजनिक सवारीसाधनको उचित व्यवस्थापन, पैदलयात्री मैत्री र साइकल लेनको विकास, उद्यमशीलता विकास गर्ने र कामपामा गर्नु पर्ने तत्काल सुधारका कार्य पहिचान गरी सुधार गर्ने योजनासमेत उनको रहेको छ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबाट संयुक्त उम्मेदवार बनेका पवित्र बज्राचार्यले काठमाडौंवासीको असन्तुष्टिलाई सम्बोधन गर्ने योजनाका साथ आफूले उम्मेदवारी दिएको बताए । विगतमा कामपामा तीन पटक वडा अध्यक्षका रूपमा काम गरिसकेकाले आफूले महानगरको समस्यालाई नजिकबाट बुझेको बताए।
राष्ट्रिय जनमोर्चाका निर्मलकुमार थापाले काठमाडौंलाई सिंगापुर, हङकङ, पेरिसजस्तै मेगा सिटीका रूपमा विकसित बनाई पाँच वर्षमा एसियाकै नमुना सहर बनाउने योजना सुनाए।
प्रकाशित: २० वैशाख २०७४ ०१:२१ बुधबार