coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मदन पुरस्कारको सूचीबाहिर

अघिल्लो साता मदन पुरस्कार गुठीले पहिलोपल्ट मनोतित सात किताबको सूची सार्वजनिक गर्दा नेपाली वाङ्मय क्षेत्र तरंगित भयो। पहिलेपहिले मदन पुरस्कार कसले पाउला भन्ने असंख्य किताबका चाङबाट अड्कलका अनगिन्ती चंगाहरू उड्थे र अधिकांश काटिन्थे। मनोनित सूची आएपछि त्यो स्थिति रहेन। तैपनि, परिणाम नआउन्जेल अडकलबाजीहरू भइहरने छन्। जति विरोध र खिसी गरिए पनि अधिकांश लेखक मदन पुरस्कार पाउन लालायित देखिन्छन्। (एकाध अपवादले मलाई माफ गरून्।) त्यो नै यस्तो पुरस्कार हो जुन पाउने मोह लेखकहरूमा सबैभन्दा बढी छ, जुन पाएपछि गुमनाम कृतिहरूको समेत बिक्री ह्वात्तै बढ्छ। अहिले मनोनित हुँदैमा ती किताबको खोजी र बिक्री बढ्न थालिसकेको छ।

मनोनित कृतिहरूमध्ये भुवनहरि सिग्देलको 'आमोई', रामलाल जोशीको 'ऐना', निलम कार्की निहारिकाको 'चीरहरण' मैले पढ्न बाँकी छ। दामोदर पुडासैनी किशोरको यात्रा संस्मरण केही पढे पनि पूरा गर्न बाँकी छ। सरिता तिवारीको 'प्रश्नहरूको कारखाना' विगत केही वर्षबीच निस्केका कवितामध्ये मलाई घत परेको संग्रह हो। 'के तिमीले मलाई आविष्कार गर्‍यौ?', 'हे देवी', 'डेलीमा माछा', 'नगाऊ कसैले शोकगीत', 'विजेता' आदि उनलाई बचाइराख्ने कविता हुन्। माया एन्जेलोको जस्तै विष्फोटक कविताको स्वाद दिने 'हे देवी' उनको सबैभन्दा चर्चित कविता हो। हिन्दु मिथकी देवीलाई एउटी मार्क्सवादी कविले शक्ति स्वरूपाका रूपमा प्रस्तुत गर्दा यो कविता विवादित भयो। तर, प्राग्इतिहासमा नारीको शक्ति स्वरूप सामन्ती युग हुँदै पुँजीवादी भोगवादी युगमा कसरी धुलोमा पछारियो र कसरी ऊ पुरुष सत्तामा शृंगारले छोपिएकी उपभोग्य वस्तु भई भन्ने इतिहासको यति कलात्मक र जीवन्त लेखा नेपाली कवितामै दुर्लभ छ। तिख्खर भाषा र तीक्ष्णताका कारण पनि यो कविता अनुपम छ। बुद्धिसागरको फिरफिरे र घनश्याम खड्काको निर्वाण पृथक भाषा र कथा बोकेका यस वर्षका 'बेस्टसेलर' उपन्यास हुन्।

मदन पुरस्कार गुठीले यसअघि १० किताब मनोनित गर्ने खबर आएको थियो। सात वटा ाहेक अन्य प्राप्त पुस्तक उपयुक्त नभएकाले मनोनयनमा राख्न नसकिएको खबर एउटा अखबारमा छापियो। गत वर्ष प्रकाशितमध्ये सूचीमा नपरेको, (सायद दर्ता नभएकाले होला) तर मलाई निकै घत परेको एउटा किताब थियो गिरीश गिरीको 'वीरगन्ज'। पत्रकारितामा गिरीश र म केही वर्षका सहयात्री थियौँ। त्यस क्रममा हामीबीच सम्झनलायक आत्मीय संवाद कहिल्यै भएन। तर, 'वीरगन्ज' का थुप्रै नोस्टाल्जिक प्रसंगले मसँग आत्मीय संवाद गरिरहे। गैरआख्यान भए पनि नोस्टाल्जिया र रिपोर्ताज मिसिएको यो किताब आख्यानकै स्तरमा स्वाद दिन सफल छ।

अन्तर्कथा

गत वर्ष हिउँद्को अन्त्यतिर पुस्तक सार्वजनिक हुँदा कार्यक्रममै केही लेखकबीच खासखुस चलिरहेको थियो, आउँदो वर्षको मदन पुरस्कार पाउने किताब यही हो। मदन पुरस्कारको दायरा र राजनीति बुझ्न सके अनि सेटिङ मिलाउन सके यो पुरस्कार पाउन सकिन्छ भन्ने विश्वास नेपाली लेखकहरूलाई छ। त्यसैले पत्रकार हुलिया भएका गिरीशजस्ता पहुँचवाला लेखकका किताबबारे यस्तो हल्ला हुनु स्वाभाविक थियो। किताब पढिसकेपछि मलाई पनि त्यसमा सत्यांश छ भन्ने लागेको थियो। किनभने, गत वर्ष निस्किएका पठनीय किताबमध्ये यसलाई अग्रसूचीमा राख्न सकिन्थ्यो।

कुनै स्थानको औसत शब्दचित्र उतारिएका आलेख र पुस्तिका प्रशस्त छापिएका छन्। 'वीरगन्ज'लाई त्यति सामान्य आँखाले हेर्न मिल्दैन। नेपालको सन्दर्भमा यो त्यस्तो दुर्लभ किताब हो जसले एउटा सहरको राजनीति, इतिहास, संस्कृति, जीवनशैली, खानपान, भ्रष्टाचार, अपराध, तस्करी, शिक्षा र सामाजिक मनोविज्ञानलाई सुरुचिपूर्ण र स्तरीय भाषामा केलाएको छ। खासमा यसले वीरगन्जको प्रतिबिम्बमा पूर्वी तराईको जीवनशैलीकै समग्र चित्र खिचेको छ। यो किताब पढ्दा मलाई २०३५ सालको मदन पुरस्कारप्राप्त धच गोतामेको नोस्टाल्जिक उपन्यास 'घामका पाइलाहरू' र उनकै संस्मरण किताबका प्रसंगहरू आँखावरिपरि घुमिरहे। फरक के छ भने, त्यसमा ७० वर्षअघिको वीरगन्ज छ। यसमा त्यसअघिदेखि यहाँसम्मको एकसरो चित्र छ।

पुस्तकमा गिरीश बारम्बार नोस्टाल्जियाबाट वर्तमानमा र वर्तमानबाट नोस्टाल्जियामा डुब्छन्। प्रवेशमा उनी कुनै स्थानको शब्दचित्र प्रस्तुत गर्छन्। बिस्तारै त्यसको पत्र केलाउँदै–पन्छाउँदै, पन्छाउँदै–केलाउँदै नागराजको दरबारमा झैँ पाठकलाई भित्रैसम्म लिएर जान्छन्। वर्तमान राजनीतिको रिपोर्टिङबाट उनी नोस्टाल्जियामा पुग्नु कतै पनि अस्वाभाविक लाग्दैन। आफूले भनेका कुरा सिद्ध गर्न उनी आफ्नै अनुभव र अनुभूतिको गहिराइमा डुब्छन्। त्यसलाई वर्तमानसँग सजिलै जोडिदिन्छन्।  पुरेनवास्थित मामाघरको देहाती जीवनशैलीको वर्णन पढ्दा त चलचित्रको काव्यिक दृश्य हेरिरहेझैँँ लाग्छ। रक्सौल जंक्सनबाट पूर्व जाने रेलले बैरगनिया पुर्‍याउँछ। त्यहाँबाट सिमाना नाघ्दै गौर र अझ भित्र बाटो नभएको निख्खड देहाती जीवनको वर्णन चित्ताकर्षक छ। जबसम्म उनी बाल्यकालीन अनुभव र अनुभूतिको गहिराइमा डुबिरहेका हुन्छन्, उनका शब्दहरू आकर्षक भंगिमामा नाच्न थाल्छन्। जब मृदु स्मृतिको पैनीबाट उनी वर्तमानको डिलमा उभिएर 'उनी भनिरहेका थिए' शैलीको रिपोर्टिङमा उत्रन्छन्, एकाएक त्यो आकर्षक नृत्यको तालसुर बिग्रन थाल्छ।

अरूका लागि वीरगन्ज एउटा सहर हो। गिरीशका लागि वीरगन्जले त्यसभन्दा निकै बढी अर्थ राख्छ। त्यहाँको हावा, पानी र माटो अनि सामाजिक–सांस्कृतिक गतिविधि मिलेर उनलाई निर्माण गरेका हुन्। गिरीश वीरगन्जको प्रतिष्ठित र चिरपरिचित परिवारबाट पत्रकारितामा आएका हुन्। त्यसकारण वीरगन्जका कुनै पनि मुद्दाको भित्री तह खोतल्न उनलाई असम्भव थिएन। उनका पिता गोपाल गिरी पहिले वामपन्थी पत्रकार, पछि सूर्यबहादुर थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य थिए। ०५८ असोज १८ मा ज्ञानेन्द्र शाहको कदमपछि थापा प्रधानमन्त्री भए। पछि गोपाल वीरगन्ज उपमहानगरपालिकाका मेयर बनाइए। वीरगन्जको कायापलटमा उत्साहसाथ लागिरहेकै बेला माओवादी कार्यकर्ताले उनको हत्या गरिदिए। पितासँगको स्मृति र उनको हत्या प्रसंगमा गिरीशको लेखन यति मार्मिक छ कि ती शब्दमा उनले आफ्नै हृदयको रगत निचोरेर लेखेझैँ लाग्छ।  उनी लेख्छन्, 'बुवाको अन्तिम संस्कारपछि हरेक पटक मासिकको काम गर्दा हामीलाई बुवा पृथ्वीबाट यति पर पुग्नुभयो भनेर जानकारी दिइन्थ्यो। हरेक अर्को मासिकमा दूरी थपिँदै जान्थ्यो। मलाई कुनै तवरबाट त्यो दूरी तय गर्दै छोप्न मन लाग्थ्यो। कुनै आधार मिल्दैनथ्यो। फेरि अर्को मासिकमा बढेको दूरी सुनेपछि व्याकुल हुन्थेँ। किनभने, त्यो एउटा औँला झन्झन् टाढा पुगिरहेको थियो। मलाई हिँड्नका निम्ति त्यो औँला चाहिन्थ्यो। कसैगरी लडेँ भने उभिनका निम्ति त्यो औँला जरुरी पर्थ्यो।'

विद्रोहको पृष्ठभूमि

गिरीशले मधेस विद्रोह र नाकाबन्दीको आँखीझ्यालबाट वीरगन्जको समग्रतालाई चिहाएका हुन्। दुई देशबीच सिमानाका बासिन्दाका नाताले पारितिरका बासिन्दासँग मधेसी जनताका सांस्कृतिक समानता हुनु, रोटी र बेटीको सम्बन्ध गाँसिनु स्वाभाविक हो। सिमानामा बस्नुको पीडा भुक्तभोगीलाई नै थाहा हुन्छ। रातारात सिमाना सार्न र बलमिच्याइँ गर्न भारतको एसएसबी अत्यन्त बदनाम छ। मधेसबासीको नागरिकता नेपाली हुन्छ, तर भोलिपल्ट बिहान उठ्दा तिनका घर र जमिन भारततिर परिसकेका कैयन् घटना छन्। भारतीय सिमाना सुरक्षा बल (एसएसबी), नेपाल प्रहरी र भारततिरबाट आएका खतरनाक डाँकु सबैतिरबाट जीउधनको सुरक्षा गर्नु तिनका लागि ठूलो चुनौती हो। तर, तिनै मेहनती, परिश्रमी र सोझा मधेसीको राष्ट्रियतामाथि पहाडले शंका गर्छ र बारम्बार देश निकाला गर्ने धम्की दिन्छ। नेपालको संविधान २०७२ मा अन्तरिम संविधानमा सुनिश्चित गरिसकिएका अधिकार पनि घटाउ भएको महसुस भएपछि मधेसमा आगो बल्यो। ४० दिनमा ४२ जनाले ज्यान गुमाउँदा पनि राज्य कानमा तेल हालेर मौन मुद्रामा बसिरह्यो। समस्या समाधान गर भनेर अन्ततः भारतले नाकाबन्दी लगायो। मधेसी दलका कार्यकर्ता आफै पारिपट्टि सिमानामा पुगेर वारि ढुंगा हान्दै नाकाबन्दी गरिरहे। शासकलाई गलाउन गरिएको नाकाबन्दीले शासकलाई कुनै असर गरेन, देशको अर्थतन्त्र र जनसाधारणको दैनिकीलाई भने बेस्सरी खल्बलाइदियो। गिरीशले भने नाकाबन्दीको पृष्ठभूमिमा नयाँ संविधानमा वैवाहिक अंगीकृतको व्यवस्थालाई एउटा मुख्य कारण ठानेका छन्।

लालबाबुको कथा

मधेसी नेता लालबाबु राउतको मार्मिक कथा खोतलेर उनले मधेस विद्रोहको पृष्ठभूमि पर्गेल्न खोजेका छन्। मुस्लिम परिवारका लालबाबु पहिले ठाकुरराम बहुमुखी क्याम्पसमा अंग्रेजी पढाउँथे। पछि वीरगन्ज उपमहानगरपालिकामा जिन्सी फाँट प्रमुख भए। ०६० सालमा मेयर गोपाल गिरीको हत्यापछि तत्कालीन स्थानीय विकासमन्त्री कमल थापाका सहयोगी राजीव पराजुलीले प्रदीप सुवेदीलाई मेयर बनाए। नगरपालिका बोर्डले टेन्डर आह्वान नगरी भारतीय कम्पनी सिन्टेक्सको एकपांग्रे ठेला १ सय ५० थान किन्ने निर्णय गर्‍यो। किनेको दुई महिना नबित्दै यही विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मार्‍यो। अख्तियारले नगर प्रमुख र बोर्ड सदस्यहरूलाई सामान्य बयान लिएर उन्मुक्ति दियो। कारबाहीमा परेर अन्य दुई कर्मचारीसहित निर्दोष लालबाबु निलम्बित भए। स्थानीय स्वायत्त शासन ऐनअनुसार बोर्डले गरेको निर्णय कार्यान्वयन गर्न कर्मचारीहरू बाध्य हुन्थे। विशेष अदालतले पनि उनीहरूविरुद्ध फैसला सुनायो। मुद्दा सर्वोच्च पुग्यो। आठ वर्षसम्म उनीहरू नोकरीबाट निलम्बित अवस्थामा भ्रष्टाचारीका रूपमा अदालत धाइरहे। बल्ल सर्वोच्चले निर्णय कार्यान्वयन गर्नेहरू दोषी नहुने ठहर गर्‍यो। त्यसपछि लालबाबुले नगरपालिकाको जागिरबाट राजीनामा गरे र उपेन्द्र यादवको पार्टीमार्फत् मधेसी राजनीतिमा होमिए।

अख्तियारले छापा मारेको केही दिनमै नगर प्रमुख सुवेदीले राजीव पराजुलीले किनेको एउटा सामानको भुक्तानी दिन दबाब दिँदा उनले आफ्नै गोजीबाट २० हजार रुपियाँ तिरिदिएका रहेछन्। त्यो पैसा उनले नगरपालिकाबाट फिर्ता लिएनछन्। विशेष अदालतमा मुद्दा चलाउनुअघि अख्तियारका अनुसन्धान अधिकृतले उनीसँग मुखै खोलेर पैसा मागेका थिए रे। (ती अधिकृत को थिए? गिरीशले  नामचाहिँ उल्लेख गरेका छैनन्।) हराउँदै गएका वीरगन्जेली खाना, राजनीतिक दाउपेच र प्रतिस्पर्धा जस्ता अनेक रोचक प्रसंगहरूले पुस्तकलाई पठनीय बनाएका छन्।

पुरस्कारको दायरा

कुनै पनि पुरस्कारका लागि कुनै किताब किन छानिएन वा किन मनोनयनमा परेन भनेर कानुनी प्रश्न उठाउन सकिन्न। हरेक संस्थाका आआफ्ना नियम र दायरा हुन्छन्। दायराभित्र नपर्ने किताब स्वतः बाहिरिन्छन्। तर, यसको अर्थ यो होइन, त्यहाँ नपरेका किताब पठनीय हुँदैनन्। 'वीरगन्ज' स्वयंलाई उदाहरण मान्न सकिन्छ। (अन्य भाषा र क्षेत्रबाट प्रकाशित किताब पनि उत्तिकै पठनीय होलान्, अनभिज्ञताका लागि माफी चाहन्छु।) पुरस्कृत नभए पनि नयनराज पाण्डेको 'उलार', नारायण ढकालको  'प्रेतकल्प' र बुद्धिसागरको 'कर्नाली ब्लुज' तत्तत् वर्र्ष पुरस्कृत कृतिभन्दा धेरै बढी प्रशंसित र चर्चित छन्। खोज्दै जाँदा यस्ता उदाहरण अरू थुप्रै भेटिन्छन्।

प्रकाशित: १ श्रावण २०७३ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App