७ वैशाख २०८१ शुक्रबार
राजनीति

भरतपुर महानगरपालिकामा को को छन् प्रत्यासी ?

चितवन– एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका गरेर सात वटा स्थानीय तह रहेको चितवनमा मंगलबार उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भएको छ। जिल्लामा तीन लाख १३ हजार मतदाता छन्। जसमध्ये एक लाख ५० हजार २४७ मतदाता भरतपुर महानगरपालिकामा छन्। महानगरपालिकामा मुख्य दलसहित स्वत्नत्र र अन्य दलहरुका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ।

                भरतपुरमा २९ वटा वडाहरु रहेका छन् । नेपाली काँग्रेसका तर्फबाट महानगरपालिकाको मेयर पदका लागि दिनेश कोइरला र उपमेयर पदका लागि पार्बती शाहले उम्मेद्वारी दर्ता गराएका छन् । एमालेका देवी ज्ञपालीले मेयर र दिब्य शर्माले उपमेयर पदमा मनोनयन दायर गरेका छन् । नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मेयर र सुरेन्द्र गुरुङले उपमेयरमा नाम दर्ता गराए ।

राप्रपाबाट मेयरमा उठ्ने बद्री तिमिल्सिना र उपमेयरमा रिना गुरुङको मनोनयन दर्ता भएको छ। माओवादी, राप्रपा, एमाले, काँग्रेस सवैले २९ वटै वडामा वडाध्यक्ष, सदस्यसहित सवै १४७ पदमा उम्मेद्वार उठाएका छन् । नयाँ शक्तिले भरतपुरमा सुर्य तिमिल्सिनालाई मेयर र शारदा घिमिरेलाई उपमेयरमा उठाएको छ । उनीहरुले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

राष्ट्रिय जनमोर्चाका भक्ति गौतमले मेयर र उमा शर्माले उपमेयरमा उम्मेदोरी दर्ता गराए । बैद्य माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट स्वतन्त्र रुपमा अम्बिका मुडभरीले मेयरमा र बाबुराम प्यासीले उपमेयरमा उम्मेद्वारी दर्ता गराए । भरतपुर महानगर देशको चारमध्येको एक महानगर हुनुका साथै देशको केन्द्र भागमा रहेकाले महत्वपुर्ण मानिएको छ ।

पहाडी र मैदानी भुभाग समेटिएको, आदिवासी समुदायको पनि बसोबास रहेको, नारायणी त्रिशुली, राप्ती जस्ता नदी र निकुञ्जको आडमा रहेको भरतपुरलाई प्रविधि र पुर्वाधारले भरी पुर्ण सम्वृद्ध पर्यटकीय नगरका रुपमा विकास गर्ने अठोट उम्मेद्वारहरुले व्यक्त गरेका छन्। मनोनयनका बेलामा संक्षिप्त मन्तब्य राख्दा यसो बताएका उनीहरुले चाडै नै प्रतिवद्धता पत्र सार्वजनिक गर्ने जानकारी दिए।

कस्ता कस्ता छन् मेयरका उम्मेद्वारहरु:

                नेपाली काँग्रेसले भरतपुरमा मेयर पदमा उम्मेद्वार बनाएका दिनेश कोइराला विस २०२८ सालमा बैशाख १९ गते जन्मेका हुन्। मनोनयन दर्ता हुँदाकै दिन जन्म दिन परेका कोइरला २०४२ सालदेखि नै पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति सुरु गरेको बताउँछन् । अन्तराष्ट्रिय सामाजिक संस्था जेसिसको उनी नेपाल शाखाको राष्ट्रिय अध्यक्ष भइसकेका व्यक्ति हुन्।

                यो पटक नेपाली काँग्रेस चितवनको नेतृत्व गर्न अग्रसर भएका उनी निकटतम प्रतिद्वन्दी भएका थिए । युवा वर्गको प्रतिनिधित्व गर्दै समग्र चितवनको विकासमा नयाँ दृष्टीकोण र योजनासहित अगाडी बढ्ने कोइरलाको भनाइ छ ।

                एमालेका तर्फबाट मेयर पदमा उम्मेद्वारी दर्ता गराएका देवी ज्ञवाली चितवनका परिचित राजनैतिक व्यक्ति हुन् । उनी विस २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालिन भरतपुर नगरपालिकाको उपमेयर पदमा पनि विजयी भएका थिए । चितवन एमालेको नेतृत्वसमेत गरेका ज्ञवाली पहिलो संविधान सभा सदस्य पदको निर्वाचनमा चितवन क्षेत्र नं. ३ का उम्मेद्वार बनेका थिए । तर निर्वाचित हुन सकेनन्।

                माओवादीबाट भरतपुरमा मेयर पदका लागि उम्मेद्वार भएकी रेणु दाहाल चितवनका मतदाताका लागि नयाँ राजनैतिक व्यक्तित्व हुन्। उनी प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। एसएलसीसम्मको पढाइ चितवनमै गरे पनि एसएलसीपछि माओवादी सशस्त्र संघर्ष सुरु भएको र चितवन छाड्नु परेको दाहालले बताएकी छन्।

मतदाता नामावलीमा प्रधानमन्त्री दाहाल परिवारको नाम भरतपुरको वडा नं. ४ मा छ। संविधानसभाको दुवै पटकको निर्वाचनमा मतदान गर्न आएको बाहेक रेणु चितवनका कार्यक्रममा खासै देखिएकी थिइनन्। पार्टीका तर्फबाट भरतपुर महानगरमा उम्मेद्वार भएपछि उनी अहिले बढीभन्दा बढी मतदाता र कार्यकर्ता माझ पुग्ने अभियानमा छन्।

बद्री तिमिल्सिना पञ्चायतकालमा जिल्लाका सक्रिय युवा पञ्च हुन् । राप्रपाबाट भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेद्वार बनेका तिमिल्सिना भाषणकका लागि चर्चित पनि छन्। चितवन क्षेत्र नं. पाँचमा दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाबाट विक्रम पाण्डे निर्वाचित भएपछि यो स्थानीय निर्वाचनमा राप्रपालाई पनि बलियो दलको रुपमा हेरिएको हो।

प्रकाशित: १९ वैशाख २०७४ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App