coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

ज्ञानको इतिहासबाट ईश्वरको निर्वासन

पृथ्वीको आकार गोलो छ भन्ने सबैलाई थाहा छ। स्कुले बच्चाहरू पनि फुर्तिसाथ यो कुराको समर्थन गर्छन् अहिले। पृथ्वीले सूर्यलाई घुमिरहेको हुन्छ भन्ने कुरा पनि साना कक्षाबाटै विद्यार्थीलाई पढाइन्छ। तर, पृथ्वी गोलो छ भन्ने तथ्यलाई पुष्टि गर्ने प्रमाण र तर्क प्रस्तुत गर्न भने हामीमध्ये धेरैलाई हम्मे पर्छ। साँच्चै पृथ्वी गोलो छ त? साँच्चै पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ? यीजस्तै अनेक प्रश्नका उत्तरले नै आजका हाम्रो ज्ञानको निर्माण गरेको छ। हामीले थाहा पाउनुपर्ने, जान्नुपर्ने आधारभूत कुराहरू हुन् यी। मान्छे ईश्वरको सृष्टि होइन, बरू क्रमविकासको परिणामस्वरूप करोडौँ वर्षको अन्तरालमा सरल जीवबाट विकसित हुँदै आजको रूपमा आइपुगेको हो भन्ने तथ्यलाई हामीले हाम्रो ज्ञानको अंश ठानिरहेका छौँ। यी र यस्ता कैयौँ कुरा छन् जुन आज हाम्रो ज्ञान भनेर हामी गर्व गरिरहेका छौँ, त्यो हिजोका दिनमा ज्ञान थिएन। यो कुरा हिजोका मान्छेलाई थाहै थिएन। मलाई रोमाञ्चक लाग्ने प्रश्न के हो भने, यस्ता कुरालाई पहिलो पटक वैज्ञानिक र सत्यतथ्य भनेर प्रस्तुत गर्दा त्यसबेलाका मानिसको सोचाइको ढाँचामा कस्तो प्रभाव पार्‍यो होला? उनीहरूको सत्य के थियो होला? आफूले सत्य ठान्दै आएको कुरा सत्य होइन भनेर सुन्दा तिनको मनोविज्ञानमा कस्तो भुइँचालो गयो होला? आज हामीले सत्य भनेर थाहा पाएका कुराहरूको जानकारी नभएका मानिसले आफ्ना वरिपरिका घटनालाई कसरी सोच्थे होलान्? उनीहरूको दृष्टिकोण हाम्रो आजको दृष्टिकोणभन्दा के कति फरक थियो होला? 

विज्ञानसम्मत चिन्तन र सोचाइका पाटाहरूको चर्चा गर्नुअघि यी सोचाइ स्थापित हुनुअगाडि कस्ता सोचाइलाई मानिसले सत्य ठान्दै आएका थिए भन्ने विषयमा घोत्लिनु मनासिब होला। त्यो समयका पढेलेखेका मानिस आफ्ना चिन्तनलाई, आफ्ना विश्वासलाई आज हामीले भनेजस्तै 'वैज्ञानिक' नै ठान्थे होलान् त भन्ने प्रश्न पनि महŒवपूर्ण छ। ती कुरा 'वैज्ञानिक' थिए भने आजका हाम्रा कतिपय वैज्ञानिक विश्वास भोलिका दिनमा वैज्ञानिक नहुन सक्ने सम्भावना पनि प्रष्टै छ। यसले के कुरातर्फ संकेत गर्छ भने वैज्ञानिक ज्ञान भनेको निरपेक्ष कुरा होइन। ज्ञानको इतिहास हुन्छ र त्यो भन्नु नै विज्ञानको क्रमविकासको इतिहास हो भन्ने कुरा स्पष्ट हुँदै जान्छ।

हाम्रो पूर्वीय परम्परागत चिन्तन प्रक्रियामा ज्ञानको विकास हुँदैन। यो निरपेक्ष हुन्छ। हाम्रो भाषामा ज्ञान 'प्रकट' हुन्छ, गुरु–शिष्य परम्पराअनुसार ज्ञानको हस्तान्तरण हुन्छ। हाम्रा ज्ञान लौकिक छन् अर्थात अपरा ज्ञान, परलोकको ज्ञान पनि छ अर्थात् परा ज्ञान। परा, अपरा दुवै ज्ञान निश्चित छन्, स्थिर छन्। त्यसको खोजी हुन्छ र प्राप्त हुन्छ। हामी त्यो बनाउन सक्दैनौँ, ईश्वर निःसृत हुन् यी। भगवान्रचित यो ज्ञान नै विद्या हो। आमव्यक्ति यो सत्यसँग परिचित नहुन पनि सक्छ। सत्यसँग परिचित नहुनेले पनि आफू, लोक र परलोकको बारेमा एउटा धारणा राखेकै हुन्छ। उसका लागि त्यो ज्ञान नै भए पनि शास्त्रअनुसार त्यो सत्य नठहरिने भएकोले त्यसलाई अविद्या भनिएको छ। अर्थात् अविद्या 'असत्य ज्ञान' हो। रमाइलो कुराचाहिँ हामीमा विद्या होस् कि अविद्या संसारमा यी दुवै सफल छन्। संसार बुझ्न, व्याख्या गर्न, व्यवहार गर्न यी दुवै ज्ञान उपयोगी हुन्छन्। फरक के भने, सत्य ज्ञानले मुक्ति दिन्छ, असत्य ज्ञानले दुःख।

आज हामी विज्ञान भनेर 'पश्चिमी विज्ञान' लाई बुझ्छौँ। यो चर्चा पश्चिमी विज्ञानकै हो। पश्चिमी विज्ञानको उपज स्थल ग्रिस हो। विभिन्न कारणबस प्लेटो र अरिस्टोटलकै धारणाहरू आधिकारिक बन्न पुग्यो पश्चिमी इतिहासको लामो कालखण्डमा। जब यी धारणा विभिन्न समयका विद्वान्हरूले बाइबलसँग मेल खाएको 'प्रमाणित' गरे, यिनले धर्मको आवरण र सुरक्षा प्राप्त गरे। त्यसमा प्रश्न उठाउनु स्वाभाविकरूपले धर्मग्रन्थमाथि प्रश्न उठाउनु मानिन थाल्यो। फलस्वरूप, चिन्तन र खोजअनुसन्धानमाथि चर्च र धर्मगुरुको प्रत्यक्ष नियन्त्रण स्थापित भयो। यसमा समयसमयमा हलुका परिवर्तनहरू भएको देखिए पनि मूलरूपमा यो अपरिवर्तनशील नै रह्यो लामो समयसम्म। आजभन्दा अघि सृष्टि र अस्तित्वसम्बन्धी सत्यतथ्य मानिएका प्रमुख दार्शनिक अवधारणा यस्ता थिएः

१. ब्रह्माण्डको केन्द्रमा पृथ्वी छ। सूर्यलगायत सम्पूर्ण ग्रह, तारा सबैले पृथ्वीको परिक्रमा गर्छन्। यी आकाशीय पिण्डहरू पृथ्वीको वरिपरि गोलाकार बाटोमा परिक्रमा गर्छन्।

२. पृथ्वीका भौतिक वस्तुहरूमाथि लागु हुने नियम यी आकासीय (स्वर्गीय) पिण्डहरूमाथि लागु हुँदैनन्। यिनको विधान छुट्टै हुन्छ र यो मानिसको ज्ञानको बसको कुरा होइन।

३. मानिस ईश्वरको सर्वोच्च रचना हो।

४. मानिसको चेतनाशक्ति सर्वश्रेष्ठ छ।

५. मानिस–मानिसबीचको सम्बन्ध ईश्वरीय विधानले निर्धारित गरेको हुन्छ।

६. ब्रह्माण्डमा निरपेक्ष सत्ताको अस्तित्व छ। त्यो स्थिर छ र त्यसको सापेक्षमा अन्य वस्तुहरूको गतिशीलताको मापन हुन्छ।

७. ज्ञान र सत्य निरपेक्ष छ। मानिसको मस्तिष्कले त्यो ज्ञान हासिल गर्न सक्छ।

आज यी सबै कुरा हाम्रो ज्ञान होइन, अज्ञानको विषय भएका छन्। विज्ञान होइन रूढीका विषय भएका छन्। ब्रह्माण्डको केन्द्रको कुरा गर्दा निकोलस कपर्निकसको नाम आउँछ। कपर्निकसको निष्कर्ष थियो केन्द्रमा पृथ्वी होइन सूर्य छ। तर, यिनले आफ्नो जीवनकालमा स्पष्टसँग यो कुरालाई व्यक्त गर्ने आँट गरेनन्। यो कुरा प्रमाणित र स्थापित हुन समय लाग्यो। यसैताका ग्यालिलियोले बनाएको टेलिस्कोपले अन्तरीक्षका ग्रह, उपग्रहहरू देख्न थालिएको थियो। तथापि, धर्मगुरुहरू टेलिस्कोप आँखामा लगाउँदा पनि ती आकाशीय पिण्ड देख्दैनथे! अन्ततः सत्य स्थापित भइछाड्यो। ब्रह्माण्डको केन्द्रमा रहिरहेको मानिसको घर पृथ्वी एकाएक एउटा किनारामा पुग्यो र अरू ग्रहजस्तै सूर्यको वरिपरि परिक्रमा गर्ने भएर थन्कियो। हजारौँ वर्षदेखि स्वीकार्दै आएको मानिसको विश्वासमा संकट पैदा भयो। चिन्तन परम्परामा यो ठूलो झट्का थियो। यो विश्वासको उलटफेर नै थियो।

अर्का आए जोहानस केप्लर। यी जर्मन खगोलशास्त्रीले आकाशीय पिण्डहरू गोलाकार बाटोमा नभई दीर्घवृत्ताकार बाटोमा सूर्यको परिक्रमा गर्छन् भने। पृथ्वी केन्द्रमा छैन त ठीक छ, जे भए पनि गोलाकार बाटोको सत्ता त छ भन्ने धारणा यिनको थियो। त्यो पनि समाप्त भयो। मानिसले अब आफूहरू ब्रह्माण्डको केन्द्रमा पनि नरहेको र विकृत बाटोमा फनफनी घुमिरहेको भनेर विश्वास गर्नुपर्ने भयो। केप्लरको भनाइको अर्को झट्का पनि सहनुपर्‍यो मानवीय विश्वासले। त्यो के भने, आकाशीय पिण्डहरू सूर्यको एउटै आकर्षण बलबाट बाँधिएर आफ्ना कक्षमा अडिएका हुन्छन्। पृथ्वीभित्र र पृथ्वीबाहिरको अन्तरीक्ष जगत् एउटै नियमद्वारा नियन्त्रित छ भनेर केप्लरले भने। अर्थात्, आकाशीय पिण्डहरू ईश्वरीय इच्छाले आफ्ना ठाउँमा अडिएका होइनन् र ईश्वरीय इच्छाले यिनलाई सञ्चालन गरेको होइन। ग्रह, उपग्रहहरू केन्द्राभिमुखी बल र गुरुत्व बलको सन्तुलनबाट आआफ्ना कक्षमा अडिएर चक्कर लगाइराखेका हुन्छन् भनेर न्युटनले स्पष्ट पारिदिए। पृथ्वीलगायत आकाशीय पिण्डको सञ्चालनमा ईश्वरको भूमिका समाप्त भयो। ईश्वरीय इच्छाबिना टुहुरो बनेर ब्रह्माण्डमा चक्कर लगाइरहेको पहिलो पटक सोच्दा र त्यसलाई पत्याउनु पर्दा मानिसलाई कम्ती कष्ट भएन होला।

अर्को झट्का चार्ल्स डार्बिनको सिद्धान्तले दियो। पृथ्वी, ग्रहजस्ता जड वस्तुमा ईश्वरीय इच्छा नभए पनि चेतनशीलता त ईश्वरकै देन हो भन्ने विश्वासको धरातल डार्बिनको क्रमविकासको सिद्धान्तले चकनाचुर पारिदियो। आजको मानिस करोडौँ वर्षको प्रकृतिसँगको पौँठेजोरी र सामञ्जस्यताको सञ्चित परिणाम हो, भौतिक तŒवमा उत्पन्न भएको चेतना क्रमशः जटिल हुँदै मानिससम्म आइपुगेको हो भन्ने सिद्धान्तको प्रतिपादन थियो त्यो। ईश्वरले यहीरूपमा मानिसको रचना गरेर पृथ्वीमा छाडिदिएको भन्ने विश्वासको अवसान भयो। मान्छेले आफूलाई ईश्वरको उत्कृष्ट रचना भनेर घमण्ड गर्ने दिन सकियो। अन्ततः मानिसले आफूलाई कीरा, फट्यांग्रा र जंगली जन्तु–जनावरको भीडको एउटा छेउमा फेला पार्‍यो– मात्र भौतिक स्वरूपमा केही भिन्नता र मस्तिष्कको बढ्ता विकास।

मानिससँग अझै अर्को पहिचान बाँकी थियो। मस्तिष्क अर्थात् सोच्ने शक्ति। भौतिकरूपमा अन्य जनावरसँगको सादृश्यता सही, तर चैतन्यताको दृष्टिले त कमसेकम फरक र उत्कृष्ट छ नि! तर, सिग्मन्ड फ्रायडले त्यसलाई पनि समाप्त पारिदिए। मानिसको चिन्तनको मूलमा रहेको शक्ति, जसलाई फ्रायडले 'लिबिडो' भने, अन्य जनावरमा पाइनेभन्दा भिन्न छैन। मान्छे र जंगली जन्तुको अधिचेतना (इन्स्टिंक्ट) को प्रकृति उही हो। जसरी अन्य जनावरमा भोक, प्यास र यौनेच्छा हुन्छ, मान्छेका पनि तिनै कुरा आधारभूत आवश्यकता हुन्। उसको क्रियाकलापको मूल जडमा तिनै कुरा छिपेर रहेको हुन्छ। फलस्वरूप मानिसको चेतनशक्ति पनि चराचर जगत्मा सर्वोच्च रहन सकेन।

त्यसो भए मानिस मानिसको सम्बन्धचाहिँ के त? यो ईश्वरीय विधानबमोजिम छैन? कार्ल मार्क्सले भने– छैन। यो आर्थिक सम्बन्धहरूको उपउत्पादन हो। उत्पादनका साधनहरू कसको नियन्त्रणमा छ, त्यसको आधारमा सम्बन्धको निरुपण हुने ठहरियो। आर्थिक हैसियतको आधारमा मानिसको वर्ग विभाजन हुन्छ र त्यो नै उसको पहिचान हो, त्यो नै उसको सम्बन्ध हो अन्य मानिससँगको। उत्पादन साधनमाथिको नियन्त्रणको फैसला द्वन्द्वबाट हुन्छ। एउटाको अस्त हुन्छ, अर्कोको उदय हुन्छ चक्रियरूपमा। खानेकुरा र यौनको लागि भिडन्त गर्ने जनावरको प्रकृतिभन्दा मानिसको प्रकृति पनि आधारभूतरूपमा भिन्न भन्नुपर्ने देखिएन। युद्ध, लडाइँ र भिडन्तबाट गुजि्रएरै मानव आजको स्थितिमा आइपुगेको हो र यो भिडन्त मानव जीवन रहेसम्म जारी रहन्छ भन्ने अवधारणाले मानिस आफ्नो हैसियत आफै निर्धारण गर्ने प्राणी रहेछ भन्ने स्थापित भयो। औद्योगीकरण र लडन्त, भिडन्तबाट अगाडि बढ्दै गरेको युरोपमा मार्क्सको भनाइ शब्दचित्रजस्तै देखियो। ईश्वरको भूमिका यहाँ पनि बाँकी रहेन।

यो पृष्ठभूमिमा उभिएर फ्रेडरिख नित्सेले भने– ईश्वरको मृत्यु भइसक्यो। निश्चितैरूपमा परम्परागत चिन्तनमा जुनजुन भूमिका ईश्वरलाई दिइएको थियो, ती सबै भूमिकाबाट उसलाई बञ्चित गरिसकिएको थियो। ईश्वर कतै अझै बाँकी भए पनि बीसौँ शताब्दीमा आइपुग्दासम्म मान्छेको ईश्वर अर्कै भैसकेको थियो। परम्परागत ईश्वरको मृत्यु भैसकेको थियो। भगवान् भन्ने कुरा निरपेक्ष हुन्छ भने उसको भूमिकामा किन यसरी निरन्तर परिवर्तित देखिइराखेको छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। यी विषयमा उसको भूमिका थिएन भने किन उसलाई आरोपित गरियो? ऊ थियो भने हुँदै नभएको भूमिकामा आरोपित हुँदा किन मौन रह्यो? ईश्वरको अस्तित्व स्वीकार्दा पनि कुनरूपमा स्वीकार्ने भन्ने बीसौँ शताब्दीको मान्छेले कल्पनै नगरेको संकट सामुन्नेमा आएको थियो।

कुरा यतिमा मात्र सीमित रहेन। रेने डेकार्ट र न्युटनले स्थापित गरेको मान्यतामा पनि बीसौँ शताब्दीको विज्ञानले परिवर्तन ल्याइदियो। डेकार्टले भौतिक शरीर र विचार गर्न सक्ने मस्तिष्कको सत्तालाई अलग्याएर चेतनशक्तिलाई ईश्वरीय उपलब्धि बताउन खोजेका थिए। ईश्वरीय इच्छाको परिणाम भएकोले मान्छेको मस्तिष्कले हरेक भौतिक ज्ञान हासिल गर्न सक्छ र आफूलाई पनि जान्न सक्छ भन्ने मान्यता डेकार्टले स्थापित गरे। वास्तवमा यो ठूलै क्रान्ति हो। मानिस ईश्वरीय सहयोगबाट मुक्त हुने क्रमको महŒवपूर्ण खुड्किलो थियो यो। मानवीय ज्ञान र क्षमताको स्वायत्तता स्थापित गर्‍यो यो चिन्तनले। ईश्वरीय सहायताबिनै मानिस कुनै पनि ज्ञान हासिल गर्न र कुनै पनि उपलब्धि पाउन सक्षम छ भन्ने विश्वास आफैमा महान् फड्को हो। तर, मान्छेको चित्त आधारभूतरूपमा अन्य प्राणीको चित्तभन्दा बेग्लै छैन भनेर फ्रायडले मानवीय चेतनाको विशिष्टतालाई अस्वीकार गरिसकेकै थिए। क्वान्टम भौतिकीले पदार्थको यथार्थताको अर्कै चित्र पस्किदियो। पदार्थको सूक्ष्म संसारमा निश्चितता भन्ने कुनै कुरा रहेन। सूक्ष्म संसारमा वास्तविकताको चर्चा सम्भाव्यताको आधारमा गणना गरिन्छ। मानिसको मस्तिष्कले सबै कुराको ज्ञान हासिल गर्न नसक्ने कुरा जर्मन वैज्ञानिक विर्नर हिजनबर्गले प्रमाणित गरिदिए। सूक्ष्म संसारमा कणिकाहरू (कणिका शब्द पनि विचार गरेर प्रयोग गर्नुपर्ने हुन्छ) स्थिर हुँदैनन्। तर, कुन गतिमा छ भन्ने थाहा पाउँदा यो ठ्याक्कै कुन ठाउँमा छ भन्ने थाहा हुँदैन, ठ्याक्कै यही ठाउँमा छ भनेर किटान गर्दा यो कुन गतिमा छ भन्ने थाहा हुँदैन। थाहा पाइसक्दा अर्कै ठाउँमा पुगिसकेको हुन्छ! थाहा पाउन गरिएको प्रयासले नै यसको स्थितिमा परिवर्तन गरिदिन्छ। गहिरिएर विचार गर्दा संसारको ज्ञान एकैचोटी कहिल्यै पूर्णरूपमा प्राप्त गर्न नसक्ने निरीह प्राणी रहेछ मानिस!

न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरेर आकाशीय पिण्डहरू आफ्नै बलका कारण आआफ्नो स्थानमा स्थापित भएको स्पष्ट पारिदिएकै थिए। न्युटनको विज्ञान ब्रह्माण्डमा निरपेक्ष सत्ताको अस्तित्वसँग जोडिएको थियो। ब्रह्माण्डको केन्द्र र त्यसको निरपेक्षताको अवधारणाले ईश्वरको भूमिका विशिष्टीकृत मात्र भएको थियो। तर, आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तले कुनै पनि प्रकारको निरपेक्ष अस्तित्वको सत्तालाई समाप्त पारिदियो। आकाशीय पिण्डहरूको परिचय दिनुपर्दा अब समयको आधारमा दिनुपर्ने भयो– कुन समयमा, कुन गतिमा, केको सापेक्षमा। प्रकाशको गति स्थिर मानियो। प्रकाशचाहिँ निरपेक्ष रहन सक्ने भयो। तर, यति शक्तिशाली प्रकाश पनि गुरुत्वबलको प्रभावबाट मुक्त रहेनछ। कडा गुरुत्वबलले यसलाई बंग्याइदिँदो रहेछ। बांगिएको प्रकाशले देखाउने अस्तित्व स्वतः वक्रित हुने भयो। ब्रह्माण्डको ठाउँठाउँमा रहेका भीमकाय पिण्डहरूले स्थान र देश (स्पेस) लाई वक्रित तुल्याएका हुन्छन्। वक्रित देशको कारण समय (काल) को अवधारणा पनि परिवर्तन भयो। गुरुत्वबलले गर्दा वक्रित देश र कालको संयुक्त देशकालको आयाम स्थापित भयो। ब्रह्माण्डको कुरा गर्दा समयलाई छुट्याएर बुझ्न नसकिने भयो। सोझो र सरल रेखाको अस्तित्व ज्यामितिका किताबमा र काल्पनिक दुनियाँमा मात्र सीमित रहे। ठूलो परिदृश्यमा प्रकाशको जुन चरित्र देखियो, पदार्थका सूक्ष्म कणिकाको चरित्र पनि त्यस्तै देखियो। परम्परागत विज्ञानको पदार्थ र शक्तिको द्वैधता समाप्त भयो। पदार्थ र शक्ति एउटा सिक्काको दुईटा पाटाजस्ता देखिए।

पछिल्लो समय ब्रह्माण्डको विशालता र पदार्थको सूक्ष्मतामा मात्र अनिश्चितता होइन हाम्रा चिन्तन र त्यसको ढाँचामा पनि अनिश्चितता र विविधता छ भनेर ज्याक डेरिडा र उनको विनिर्माणले भनिदियो। जसरी भौतिक जगत्मा ज्ञान निरपेक्ष छैन र जसरी सत्य एउटै छैन, विनिर्माणले अभौतिक जगतमा पनि सत्यताको बहुलता स्थापित गरिदियो, एउटै विषयमाथिको सत्यता धेरै हुन सक्ने बुझियो। एउटा कविताको एउटै अर्थ हुन्छ भन्ने छैन। तर, कतिवटा छ, त्यो किटानी छैन। साहित्यिक रचनाको 'थिम' भन्ने कुरा नै हुँदैन। उपन्यासलाई बीचबाट पढ्नुस्, तपाईंको मर्जी! त्यसैगरी सामाजिक, सांस्कृतिक, भाषिक बहुलता र त्यसले सिर्जना गरेको सत्यताको बहुलता, जस्तो कि अन्य सबै भाषाको व्याकरण ल्याटिन वा संस्कृतको मोडेलमा लेखेर ती भाषाको व्याकरण बन्दैनन्। बहुसत्यको विस्फोटन चिन्तन परम्परामा आएको असाधारण अवस्था हो। बहुलताको विस्फोटनले ईश्वरको स्थान र भूमिका झन् अस्पष्ट बनाइदियो।

प्रकाशित: १ श्रावण २०७३ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App