मुम्बई- गत अप्रिल २८ मा रिलिज भएको फिल्म 'बाहुबली २ : द कन्क्लूजन'ले भारतमा तीन दिनमा ३ सय ३५ करोड रुपैयाँ कलेक्सन गरेको छ। व्यापार विश्लेषक गिरीश जौहरको भनाइ उदधृत गर्दै भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले तीन दिनमा विश्वभरबाट ५ सय २० करोड रुपैयाँ कलेक्सन गरेको छ।
फिल्मले रिलिजको दिन १ सय २१ करोड कलेक्सन गरेको थियो। २ सय ७० करोड रुपैयाँमा बनेको यो फिल्म रिलिज हुनुभन्दा अघि नै नाफामा थियो। फिल्मले थिएटि्रकल राइट्स बेचेर रिलिज अघि नै ५ सय करोड बढी रकम जम्मा गरिसकेको थियो।
व्यापार विश्लेषक रमेश वालाले एसएस राजामौलीद्वारा निर्देशित फिल्मको हिन्दी भर्सनले बक्स अफिसमा सातामा ८० करोड रुपैयाँ कलेक्सन गरेको ट्विट गरेका छन्। यो फिल्म भारतको ६५ सय स्त्रि्कनमा रिलिज भएको थियो। यो फिल्म विश्वभरका ९ हजार पर्दामा रिलिज भइरहेको छ।
समाचारअनुसार फिल्मले हिन्दी भर्सन राइट्स १ सय २० करोड रुपैयाँ र तेलुगु भर्सनको राइट्स १ सय ३० करोड रुपैयाँमा बेचेको थियो। तमिलनाडुमा फिल्मको राइट्स ४७ करोड रुपैयाँमा बेचेको थियो। यो मूल्य रजनीकान्त नभएको फिल्ममा सर्वाधिक महंगो हो। केरलामा यो फिल्मले वितरण अधिकार १० करोड रुपैयाँ र कर्नाटकमा ४५ करोड रुपैयाँमा बेचेको थियो।
प्रकाशित: १९ वैशाख २०७४ ०५:४६ मंगलबार