८ वैशाख २०८१ शनिबार
अर्थ

पोखरा भित्रियो केएफसी

पोखरा- बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राइड चिकेन)ले पोखरामा रेस्टुरेन्ट विस्तार गरेको छ। यसअघि राजधानीमा मात्रै सीमित रहेको केएफसीले पोखराको लेकसाइडमा शाखा विस्तार गरेको हो। केएफसीको राजधानी बाहिर यो नै पहिलो शाखा हो।

पोखरा शाखाकी प्रबन्धक दिप्शा भट्टले घुम्न आउने स्वदेशी र विदेशी पाहुनालाई लक्षित गर्दै सञ्जाल विस्तार गरिएको बताइन्। 'पोखरा घुम्न सबै स्वदेशी पाहुना लालायित छन्। उनीहरुलाई केएफसीको स्वाद पस्किन चाहेका हौं,' भट्टले भनिन्, 'पोखरा घुम्न आउने विदेशी पनि ग्राहक त हुन्। तर हाम्रो पहिलो प्राथमिकतामा स्वदेशी पाहुना पर्छन्। अधिक स्वदेशीले केएफसीको स्वाद चाखेका छैनन्। तर, विदेशीले केएफसीको स्वाद लिइसकेका हुन्छन्।'

लेकसाइडमा एक सय ५५ जना ग्राहक क्षमताको केएफसीको शाखा खुलेको छ। केही दिनदेखि सञ्चालनमा आएको लेकसाइड शाखामा अहिले स्वदेशी पाहुनाको निकै नै भीड लागेको उनले बताइन्। 'धेरैतिरबाट हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं। यसले हामीलाई निकै हौस्याएको छ,' उनले भनिन्, 'पोखराले अन्तर्राष्ट्रियस्तरको फास्टफुडको स्वाद पर्खेको यही भीडले पुष्टि गरेको छ।'

अन्तर्राष्ट्रियस्तरको चेन फुड कम्पनी केएफसीलाई देवयानी इन्टरनेसनलले सन् २००९ मा नेपाल भिœयाएको हो। पोखरामा पनि देवयानीले सञ्जाल विस्तार गरेको हो। आरजे क्रप अन्तर्गतको कम्पनीले पोखरामा विदेशी स्वाद पस्कन चाहेको उनले बताइन्। 'मुलुककै अग्रणी पर्यटकीय सहर भएकोले पनि यहाँ फरक ठाउँका भिन्न स्वाद चाख्न रुचाउने पाहुना आउँछन्। उनीहरुलाई केएफसीले अन्तर्राष्ट्रियस्तरको स्वाद दिलाउनेछ,' भट्टले भनिन्, 'पोखरामा ठूला आकारका होटल र रेस्टुरेन्ट सञ्चानमा रहे पनि अन्तर्राष्ट्रियस्तरको फास्टफुुडको स्वाद चाख्ने ठाउँ थिएन। त्यो अभावलाई हामीले पुरा गर्नेर्छौं।'

केएफसीले अहिले राजधानीको दरवारमार्ग र त्रिपुरेश्वरमा शाखा सञ्चालन गरेको छ। छिटै नै बौद्ध र त्यसपछि चितवन र धरानमा पनि शाखा खोल्ने तयारी गरेको छ। पोखराको रेस्टुरेन्टका लागि चाहिने कुखुराको मासु केएफसीले राजधानीबाटै ल्याउने गरेको छ। तापक्रम समायोजन गरेर काठमाडौंबाटै पोखरामा मासु ल्याउने गरेको भट्टले बताइन्। 'केएफसीको कुनै पनि शाखामा एउटै स्वाद हुन्छ। त्यसको हुनुको कारण एकै प्रकारको मासु र आवश्यक सामग्री उपलब्ध गराइन्छ,' उनले भनिन्।

उनका अनुसार केएफसीको लेकसाइडस्थित रेस्टुरेन्टमा हाल करिब २५ स्वादका खाना उपलब्ध छन्। ती मध्ये सबैभन्दा सस्तो एक सय ६० रुपैयाँमा पाइने भेज बर्गरदेखि २८ सय ५८ रुपैयाँ पर्ने 'बेस्ट अफ केएफसी' पाइन्छ। 'केएफसी महंगो रेस्टुरेन्ट होइन। करिब ६ सय रुपैयाँ तिरेपछि भरपेट खान पाइन्छ। पोखराका अरु रेस्टुरेन्टको तुलनामा केएफसीको खाना सस्तो हो,' भट्टले भनिन्, 'सामान्य खानाको पनि अहिले पाँच सय रुपैयाँ पर्छ। त्यो मूल्यमा हामी पनि खुवाउँछौं।'

पोखराका युवायुवती, विद्यार्थी, कर्मचारी, व्यावसायी र परिवार लिएर घुम्न आउने स्वदेशी पाहुना केएफसीको लक्षित पाहुना रहेको उनले बताइन्। 'विदेशी पर्यटकका लागि पोखरा आगमन सिजनल हुन्छ। त्यही भएर हामीले स्वदेशीलाई बढी लक्षित गरेका छौं,' उनले भनिन्, 'हाम्रोमा ९० प्रतिशत स्वदेशी र १० प्रतिशत मात्र विदेशी पाहुना हुनेछन्।'

पोखरामा बेलाबेला हुने मेला महोत्सव, शुक्रबार राती अबेरसम्मको रमझम, युवायुवतीको भीडभाड र आकर्षणले केएफसीको व्यापारलाई सहज हुने भट्टको अनुमान छ। 'काठमाडौंबाट एक रातका लागि आएका पनि पाहुना पोखरा आउँछन्। उनीहरुलाई हामीले केएफसीमा आउने वातावरण बनाउने हो,' उनले भनिन्, 'त्यसका लागि हामीले पहल गर्नेछौं।'

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका उपाध्यक्ष लक्ष्मण बरालले अन्तर्राष्ट्रियस्तरको चेन फुड कम्पनीप्रति विदेशी पाहुनाको विश्वास रहेको र त्यही कम्पनी पोखरामा आउनु सबैका लागि सकारात्मक रहेको बताउँछन्। पर्यटन क्षेत्रमा गुणस्तरीय खाना पस्कने केएफसी जस्ता रेस्टुरेन्ट भित्रिनु सबैका लागि राम्रो रहेको उनले बताए।

'केएफसीलाई स्वस्थकर खाना पस्कन्छ भन्नेमा सबैको विश्वास छ,' बरालले भने, 'त्यसले अरुलाई पनि गुणस्तर कायम गर्नमा दवाव पर्छ।' केएफसी भित्रिनु पोखराको पर्यटन क्षेत्रका लागि निकै नै सकारात्मक रहेको उनले बताए। 'अरु रेस्टुरेन्टले पनि अब खानाको गुणस्तर र सरसफाइमा विशेष ध्यान दिनुपर्छ भन्ने केएफसीको आगमनले सिकाउँछ,' उनले भने।

केएफसीमा कार्यरत सबै महिला

केएफसीले लेकसाइडमा सञ्चालन गरेको रेस्टुरेन्टमा कार्यरत कर्मचारी सबै महिला छन्। हाउसकिपिङदेखि वेयर, सेेफ र व्यवस्थापनमा समेत सबै जना महिला कर्मचारी खटिएका छन्। ४० जना महिला कर्मचारीले अहिले केएफसीको सबै सञ्चालन जिम्मा लिएको म्यानेजर भट्टले बताइन्। 'यसले महिलालाई आत्मनिर्भर र सक्षम बनाउँछ। अन्तर्राष्ट्रियस्तरको चेन फास्टफुड रेस्टुरेन्ट महिलाले चलाएका छन् भन्ने सन्देश पनि फैलनेछ,' उनले भनिन्, 'कार्यरत सबै महिला कर्मचारीलाई विशेष प्रशिक्षण दिएर काममा लगाएका छौं। उनीहरुबाट रेस्टुरेन्टले चाहेको स्वाद र गुणस्तर कायम हुनेमा विश्वस्त छौं।'

प्रकाशित: १९ वैशाख २०७४ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App