७ वैशाख २०८१ शुक्रबार
अर्थ

दुग्ध संस्थानद्वारा पशुदाना उत्पादन

काठमाडौं- दूध र दुग्धजन्य वस्तु प्रशोधन तथा बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) ले किसान लक्षित नयाँ उद्योग सञ्चालन गरेको छ। किसानलाई सस्तोमा दाना उपलब्ध गराएर दूध उत्पादन बढाउन उसले दाना उत्पादन सुरु गरेको हो।

हेटौंडाको सिसौधारीमा वस्तुभाउका लागि दाना उत्पादन सुरु गरिएको संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनाले बताए। 'देशभरका किसानलाई एउटै मूल्यमा दाना उपलब्ध गराउने लक्ष्यसहित उद्योग चलाएका हौं,' उनले भने, 'गुणस्तरीय दानाले दूध उत्पादन बढ्ने छ।' संस्थानले सरकारी स्वामित्वको हेटौंडाको एक रुग्ण उद्योग २५ वर्षसम्म लिजमा लिएर दाना उत्पादन थालेको  हो। उद्योगको दाना उत्पादन क्षमता दैनिक ४० टन छ।

 किसान आबद्ध सहकारीमार्फत उधारो दाना दिने व्यवस्था मिलाइएको छ। 'डिडिसीलाई दूध बेच्ने किसानलाई दाना उधारोमा दिन्छौं,' तिमिल्सिनाले भने, 'दाना पशुलाई खुवाएर दूध बिक्रीपछि रकम तिरे हुन्छ।'  यो प्याकेजबाट १२ सय सहकारी संस्थामा आबद्ध १५ हजार बढी किसान प्रत्यक्ष लाभान्वित हुने उनले बताए। 'डिडिसीलाई दूध बेच्दै आएका १५ हजार किसान प्रत्यक्ष लाभान्वित हुनेछन्,' उनले भने, 'पशुपालनमार्फत किसानको आर्थिक अवस्थामा सुधार ल्याउने योजनाको उद्देश्य हो।'

 किसानलाई अग्रिम दाना उपलब्ध गराउन  त्यसको मध्यस्थता दूध संकलन गरेर डिडिसीलाई बेच्दै आएका सहकारी संस्थाले गर्नेछन्। ३४ रुपैयाँ किलोमा दाना उपलब्ध गराउने उनले बताए। 'हामी नाफा कमाउनभन्दा दूध उत्पादन बढाउन केन्द्रित छौं,' उनले भने, 'किसानलाई सहयोग पुगोस् भन्ने हाम्रो ध्येय हो।'

किसानले उत्पादन गरेको दूध बिक्री नभएर मिल्क होलिडे हुने गरेकाले उक्त समस्या अन्त्य गर्न संस्थानले विराटनगरको धुलो दूध उत्पादन गर्ने उद्योगको क्षमता विस्तार गर्न लागेको छ। दैनिक ३० हजार लिटर दूधबाट धुलो बनाउँदै आएकोमा अब ६० हजार लिटरबाट धुलो दूध तयार गर्ने संस्थानले जनाएको छ। 'पूर्वका किसानले उत्पादन गरेको दूध अब  सजिलै खपत हुनेछ,' उनले भने, 'यसले किसानमा रोजगारी वृद्धिमा टेवा पुग्नेछ।' विदेशबाट धुलो दूध आइरहेको अवस्थामा आयात प्रतिस्थापनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

दुग्धजन्य पदार्थ उत्पादन र बिक्री गर्दै आएको डिडिसीले चालू आर्थिक वर्षमा ६ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ। संस्थानले अघिल्लो वर्ष ५ करोड रुपैयाँ नाफा कमाएको थियो। संस्थानले अहिले वार्षिक ८ करोड लिटर दूधको कारोबार गर्छ।

'डिडिसी स्पेसल टि मिल्क'

संस्थानले चियाका लागि नयाँ दूध बजारमा ल्याउने भएको छ। उसले 'डिडिसी स्पेसल टि मिल्क' ब्रान्डमा दूध ल्याउन लागेको हो। बजार सर्वेक्षण गरेर चिया पसलको माग अनुसार कम चिल्लो भएको दूध ल्याउन लागिएको महाप्रबन्धक तिमिल्सिनाले बताए। 'अन्य दूधमा भन्दा १.५ प्रतिशत चिल्लो पदार्थ कम भएको दूध चियाका लागि ल्याउन लागेका हौं,' उनले भने, 'यो दूधले चिया स्वादिलो हुनेछ।' स्टार्न्डट दूधमा चिल्लो पदार्थको मात्रा ३ प्रतिशत हुन्छ। अब त्योभन्दा कम चिल्लो भएको दूध बजारमा ल्याइने छ। स्पेसल टि मिल्क दैनिक १० हजार लिटर उत्पादन गर्ने लक्ष्य छ। यो अरु दुधभन्दा बाक्लो हुने संस्थानका उपमहाप्रबन्धक इश्वरीप्रसाद अधिकारीले बताए। 'यसमा प्रोटिन, कार्बोहाइड्रेड, मिनिरलका साथै अरु विभिन्न किसिमका पैष्टिक तत्व रहने छन्,' उनले भने, 'अरु दूधभन्दा यो दूध सस्तो पनि हुनेछ।'

संस्थानले पोखरामा दुग्ध पदार्थ उत्पादन उद्योग, खुमलटारमा दही उत्पादन उद्योग स्थापना गर्ने योजना बनाएको छ। उसले दूध चिस्यान केन्› तथा प्रशोधन उद्योगमा नयाँ प्रविधि जडान गर्ने तयारी पनि गरेको छ। संस्थानले बुटवलमा युएचटी प्लान्ट स्थापना, नेपालगन्ज र अत्तरियामा दूध प्रशोधन कारखाना क्षमता विस्तार योजना अघि सारेको छ।

प्रकाशित: १ श्रावण २०७३ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App