७ वैशाख २०८१ शुक्रबार
समाज

सुरक्षामा नअल्मलिन आइजिपीको निर्देशन

काठमाडौं- प्रहरी महानिरीक्षक प्रकाश अर्यालले चुनावी सुरक्षामा नअल्मलिन नेपाल प्रहरीका उच्च अधिकृतहरूलाई निर्देशन दिएका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग दर्ता भएको र गृहमन्त्रीले राजीनामा दिएसँगै बदलिएको राजनीतिक अवस्थापछि अर्यालले सोमबार हेडक्वाटरमा विभागीय प्रमुखहरूलाई डाकेर यस्तो निर्देशन दिएका हुन्।

बैठकमा अर्यालले चुनावी सुरक्षामा नअल्मलिई जिम्मेवारीअनुसारको काम गर्न निर्देशन दिएका थिए।

'प्रहरी सरकारले दिएको जिम्मेवारी पूरा गर्ने संगठन हो। सरकार चुनावी तयारीमा सक्रिय रहेकाले सोहीअनुसारको सुरक्षा तयारी गर्नु,' अर्याललाई उद्धृत गर्दै बैठकमा सहभागी प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने, 'बैठक चुनावी सुरक्षा केन्द्रित थियो, सबै विभागीय प्रमुखसँग उहाँ (अर्याल) ले सुरक्षा तयारीबारे जानकारी लिएपछि चुनावी सुरक्षामा केन्द्रित हुन निर्देशन दिनुभयो।'

पहिलो चरणमा तीन प्रदेशमा सुरक्षा

बैठकमा विभिन्न विभागीय प्रमुखहरूले दुई चरणमा हुने स्थानीय तह निर्वाचन र प्रहरी परिचालनको अवस्थाबारे जानकारी गराएका थिए। एसएसपी खनालका अनुसार पहिलो चरणको सुरक्षामा म्यादीसहित ५० हजार सुरक्षाकर्मी खटिँदैछन्।

प्रदेश नम्बर ३, ४ र ६ का जिल्लामा २२ हजार ६ सय १५ प्रहरी कर्मचारी र २२ हजार ६ सय ९९ म्यादी प्रहरी खटाउने निर्णय भएको एसएसपी खनालले बताए।

प्रधान कार्यालयका अनुसार स्थानीय तह निर्वाचनको सुरक्षामा नियमितसँगै चार हजार आठ सय ८७ जना प्रहरी कर्मचारी थप मद्दतका लागि परिचालित भएका छन्।

गृह प्रवक्ता बालकृष्ण पन्थीले एकै चरणमा चुनाव गर्ने घोषणासँगै बनेको सुरक्षा रणनीति परिर्वतन गरिएको बताए। उनले जुन क्षेत्रमा पहिलो चरणको निर्वाचन हुने हो सोही क्षेत्रमा भर्ना भएका म्यादी परिचालन गर्ने र सेना, सशस्त्र र प्रहरी तोकिएकै संख्यामा परिचालित हुने जानकारी दिए।

सरकारले सेना, प्रहरी, सशस्त्र र म्यादीसहित साढे दुई लाख जनशक्ति परिचालन गर्ने निर्णय गर्दै बाहिर घेरामा सेना, त्यसपछि सशस्त्र र भित्री घेरामा प्रहरी र म्यादी खटिने गरी सुरक्षा योजना बनाएको छ।

प्रकाशित: १९ वैशाख २०७४ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App