८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेदवारी दर्ता गर्न अन्योल

बाग्लुङ- जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलले उम्मेदवारी दर्ता गर्ने दिनको अघिल्लो साँझसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न सकेका छैनन्। पार्टी नेतृत्वले उम्मेदवारको छिनोफानो गर्न नसक्दा कार्यकर्ता अलमलमा छन्। सोमबार साँझसम्म यहाँका प्रमुख तीन दलले उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्। नेपाली कांग्रेसले यहाँका दुई वटा नगरपालिका र केही गाउँपालिकामा प्रमुख उम्मेदवारको नाम टुंग्याएको छ।

 कांग्रेसबाट जैमिनी नगरपालिकामा इन्द्रराज पौडेल, ढोरपाटन नगरपालिकामा अर्जुन शेरचन, तमानखोला गाउँपालिकामा जोकलाल बुढा, निसिखोला गाउँपालिकामा तारानाथ पौडेल, बडिगाड गाउँपालिकामा गण्डकी थापा अधिकारी प्रमुख पदको उम्मेदवार बन्ने भएका छन्। बाग्लुङ नगरपालिका, गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा कांग्रेसले उम्मेदवार छान्न बाँकी छ। कांग्रेस बाग्लुङका सभापति दीपेन्द्र थापाका अनुसार उम्मेदवार टुंगो लगाउन बाँकी गाउँ/नगरपालिकामा मंगलबार बिहानसम्म टुंग्याएर उम्मेदवारी दर्ता गर्ने कांग्रेसको तयारी छ।

‘हामी निरन्तर यही काममा लागिरहेका छौं,’ सभापति थापाले सोमबार साँझ भने, ‘अझै केही गाउँपालिका र नगरपालिकामा सहमति जुट्न सकेको छैन। भोलि बिहानसम्म लाग्न सक्छ।’ स्थानीय निवार्चनमा तालमेल गरेर जाने अधिकार स्थानीयलाई दिइएको थापाले बताए। ‘जिल्लाले निर्णय गरेर जाने अवस्था देखिएन,’ उनले भने, ‘स्थानीय स्तरमै त्यहाँको आवश्यकताअनुसार तालमेल गरेर जाने कुरामा निर्णय गर्ने अधिकार दिएका छौं।’ पार्टीभित्रै टिकटका लागि हानथाप भइरहेका बेला अन्य दलसँग मिलेर निर्वाचन जाने सम्भावना कम भएको कांग्रेस कार्यकर्ता बताउँछन्।

एकता गरेर स्थानीय निवार्चनमा जान  प्रयास गरेका एमाले र एमाओवादी केन्द्रले पनि उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्। एमालेले आफ्नो पार्टीले सबै पदमा उम्मेदवार टुंगो लगाएको बताए पनि घोषणा गरेको छैन। ‘हामीले सबै स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाइसकेका छौं,’ एमाले बाग्लुङ सचिव लालबहादुर थापाले भने, ‘परिस्थितिअनुसार फेरबदल पनि हुन सक्ने भएकाले सार्वजनिक गरेका छैनौं।’

 थापाले वाम तालमेलको सम्भावना न्यून भएको बताए। ‘हामीले जिल्लाका वामपन्थी दलहरु एक भएर चुनावमा जाने प्रयास गर्‍यौं,’ उनले भने, ‘हामी अझै पनि छलफल त गरिरहेका छौं, तर अब माओवादी केन्द्रसँग मिलेर जाने सम्भावना निकै कम गएको छ।’ राष्ट्रिय जनमोर्चासँग मिलेर जाने सवालमा भने स्थानीय आवश्यकताअनुसार स्थानीय कमिटीले निर्णय गर्ने उनले बताए। वाम एकता भाँडिएपछि  माओवादी केन्द्र बाग्लुङले पार्टीको उम्मेदवार छान्न प्रयास गरिरहेको छ।  माओवादी जनाधार केही बढी भएको ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकामा प्रमुख—उपप्रमुख निर्क्योल गर्न उसलाई कठिन परेको छ। ‘हामी सबै ठाउँको निर्णय भएपछि एकमुष्ट सार्वजनिक गर्छौं,’ माओवादी केन्द्र बाग्लुङका प्रचार विभाग प्रमुख कृष्ण केसीले भने, ‘अहिले सबै निर्णय भइसकेको छैन।’

यसअघि आइतबार बिहान यहाँका तीन वाम दल एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरेर चुनावमा जाने सहमति भएको बताइए पनि दिउँसो नहुँदै भाँडिएको थियो। माओवादी केन्द्र बाग्लुङको ढोरपाटन नगर कमिटीले वाम तालमेल गरेर जाँदा ढोरपाटन नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चालाई दिने कुरामा विमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेपछि वाम एकता तुहिएको थियो। माओवादी केन्द्रको ढोरपाटन नगर कमिटीले बुर्तिबाङमा पत्रकार सम्मेलन गरेर जिल्लाले गर्ने निर्णय नमान्ने घोषणा गरेको थियो।

प्रकाशित: १९ वैशाख २०७४ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App