coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले घोषणापत्र : '२५ वर्षमा समृद्ध नेपाल'

काठमाडौं- नेकपा एमालेले २५ वर्षमा समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिबद्धतासहित स्थानीय तहको निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ।पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमा नेपाललाई समृद्ध तथा समाजवादी देश बनाउने उल्लेख छ। सो अवसरमा ओलीलेसंविधानमा उल्लिखितराजनीतिक अधिकार प्राप्तिको विषय कार्यान्वयन गर्दै तीव्र आर्थिक समृद्धिको बाटोमा अघि बढाउनेगरी कार्यक्रम ल्याएको दाबी गरे। उनले भने, 'एमाले जे भन्छ, त्यही गर्छ। हामीले राष्ट्रिय एकतासहितको देशलाई समृद्धितर्फ लैजान खोजेका हौं।' मुलुकलाई समृद्ध बनाउन कति खर्च लाग्ने, स्रोत कसरी जुटाउने, अहिलेकै संयन्त्रबाट काम गर्ने वा नयाँ स्थापना गर्ने, यसबारेमा भने घोषणापत्र मौन छ।

एमालेले नेपाललाई आगामी पाँच वर्षभित्र अल्पविकसित अवस्थाबाट माथि उठाउने योजना बनाएको छ। 'नेपाललाई २५ वर्षभित्र समृद्ध राष्ट्रको हाराहारीमा पुर्‍याउने, १० वर्षभित्र मध्यम आय भएको मुलुकको स्तरमा उठाउने र पाँच वर्षभित्र अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि उठाउने पूर्वघोषित संकल्प पूरा गर्ने' घोषणापत्रमा उल्लेख छ। घोषणापत्रमा स्थानीय तहले भन्दा पनि केन्द्रीय योजनअनुसार सञ्चालन गरिने कार्यक्रम बढी छन् । ५२ पृष्ठ लामो र ५३ बुँदामा रहेको घोषणापत्रमा नारामा कार्यक्रम तोकिएका छन्।

कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले नेपालीको प्रतिव्यक्ति वार्षिक आम्दानी १० वर्षमा ५ हजार र २५ वर्षमा १५ हजार अमेरिकी डलर पुर्‍याउने बताए। १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन, उत्तर–दक्षिण जोड्ने र काठमाडौं– निजगढ फास्ट ट्र्याक निर्माण, हुलाकी राजमार्ग निर्माण, मध्यपहाडी राजमार्ग १ हजार ७सय किमिबाट १ हजार ३ सय किमिमा झार्दै पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना एमालेले बनाएको छ। एमालेले १० वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ।

'पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गरिनेछ',एमालेले भनेको छ, 'रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग सम्पन्न गरिनेछ। काठमाडौं–वीरगन्ज रेलमार्ग निर्माण गरिनेछ । अन्य सीमानाकाबाट रेलमार्गको सम्भाव्यता अध्ययन गरी निर्माण योजना अगाडि बढाइनेछ।'प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा पनि एमालेलेगरेको छ। काठमाडौंमा भित्री चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल्वे निर्माण गरिने र रेल सेवा विस्तारको सम्भाव्यता अध्ययन गर्ने योजना एमालेले अघि सारेको छ। श्रमका लागि वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था १० वर्षभित्र अन्त्य गर्ने दाबी एमालेको छ।

विभिन्न नगर तथा उपमहानगरपालिकालाई जोडेर थप नौ महानगरपालिका घोषणा गरिने एमालेले बताएको छ। काठमाडौं उपत्यकाका तीन वटा चक्रपथ निर्माणगरिने एमालेले जनाएको छ। 'सबै चक्रपथ र अन्य सडकको समानान्तर मेट्रो रेल सञ्चालन गरिनेछ', एमालेले भनेको छ।

इतिहासको धनी, संस्कृतिको खानीःस्वच्छ, सुन्दर र आधुनिक राजधानी' नाराका साथ काठमाडौं उपत्यकाको विकासका लागि एमालेले छुट्टै शीर्षकमा योजना अघि सारेको छ। 'सरकार बनेको दोस्रो वर्षभित्र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला मिलाएर मेगा नगर घोषणा गरिनेछ', एमालेले भनेको छ, 'उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमुनानगरका रूपमा विकसित गर्ने गुरुयोजना निर्माण गरिनेछ।'

राजधानीवरिपरिका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा र काभ्रे जिल्लामा विभिन्न क्षेत्रलाई बृहत्तर राजधानी क्षेत्रको रुपमा विकास गरिने एमालेले जनाएको छ।'गुरुयोजनाबमोजिम दोस्रो वर्षदेखि सम्पूर्ण संरचना निर्माण सुरु गरिनेछ। विस्तार गरी विकसित गरिएको राजधानीमा एउटा मेगा सहरसहित १० वटा अत्याधुनिक स्याटलाइट सहर विकास गरिनेछ', एमालेले भनेको छ। एमालेले सामाजिक सुरक्षा भत्ता प्रतिमहिना ५ हजार रुपैयाँ, सुत्केरी बिदा १४ साता पुर्‍याउने जनाएको छ। एमालेले चुरे संरक्षणमा विशेष कार्यक्रम घोषणा गरेको छ।  'नेेपालको हरित पेटिकाको रूपमा रहेको चुरे क्षेत्र संरक्षण गर्न त्यहाँ रहेका जोखिमपूर्ण बस्ती र अव्यवस्थित कृषिलार्ई वैकल्पिक स्थानमा व्यवस्थापन गरिनेछ', एमालेले भनेको छ, 'त्यस क्षेत्रमा वातावरणीय विनाश हुने खालका उद्योग खोल्न पूर्ण रोक लगाउने, चुरेकेन्द्रित सामुदायिक वन व्यवस्थापन अगाडि बढाउने र त्यस क्षेत्रका जनतालाई आधुनिक ऊर्जाको सुविधा उपलब्ध गराउने काम गरिनेछ।'

एमालेले गाउँपालिकामा २५ र नगरपालिकामा ५० शऒ्ढयाको अस्पताल निर्माण गरिने जनाएको छ। १२ कक्षासम्म निःशुल्क शिक्षा दिने र त्यसका लागि बजेटको २० प्रतिशत छुट्याउने घोषणा एमालेकोे छ। त्यसैगरी प्रत्येक तहको केन्द्र वा वडा न्यूनतम एक बैंक शाखा खोल्ने घोषणा गरेको एमालेले भनेको छ, 'प्रत्येक परिवारलाई शून्य मौज्दातमा निःशुल्क बैंक खाता खोल्ने व्यवस्था मिलाइनेछ। ५ वर्षपछि सम्पूर्ण आर्थिक कारोबार नगदविहीन बैंकिङ प्रणालीमा लैजाने गरी योजना सुरु गरिनेछ।'

प्रकाशित: १९ वैशाख २०७४ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App