coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले यादव र गच्छदार गुहारे

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग सहयोगका लागि आग्रह गरेका छन्।

दाहालले सोमबार साँझ यादव र गच्छदारलाई प्रधानमन्त्रीनिवास बालुवाटार बोलाई पछिल्लो राजनीतिक स्थितिबारे छलफल गरेका थिए। प्रधानमन्त्रीले यादव र गच्छदारसँग छुट्टाछुट्टै भेट गरेका थिए। प्रधानमन्त्रीलाई भेट्न यादवसँगै फोरम नेपालका  सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि  पुगेका थिए।

सहअध्यक्ष श्रेष्ठले सरकारलाई  सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गरेको बताए। 'उहाँ (प्रधानमन्त्री) ले हामीसँग सरकारलाई सहयोग गर्नुस् भन्नुभयो। हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरिसकेकाले तत्काल यसबारेमा पुनर्विचार गर्न नसक्ने बतायौं,' उनले भने।

प्रधानमन्त्रीसँगको भेटमा यादवले सरकारलाई समर्थन नगरे पनि संसद्मा दर्ता भएको संशोधन प्रस्तावका पक्षमा आफ्नो पार्टी रहेको जानकारी दिएका थिए।

स्रोतका अनुसार राप्रपाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेबारेमा यादवले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए। 'सरकार अल्पमतमा परिसकेको छ। सरकारले अब के गर्छ', यादवले प्रधानमन्त्रीसँग गरेको प्रश्न स्रोतले उद्धृत गर्‍यो। प्रधानमन्त्रीले भने राप्रपाले समर्थन फिर्ता लिनेबित्तिकै सरकार अल्पमतमा परिनहालेको बताएका थिए।

ल्ाोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले भने प्रधानमन्त्रीलाई सकारात्मक जबाफ दिएका थिए। गच्छदारले सरकारलाई पार्टीको समर्थन कायमै रहेको जनाएका थिए।  सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय लोकतान्त्रिक फोरमले नगरेको उनले  बताएका थिए।

फोरम नेपालका सहअध्यक्ष रामजनम चौधरीले प्रधानमन्त्रीले पार्टी अध्यक्षसँग सरकारलाई सहयोग गर्न आग्रह गरेको बताए । 'प्रधानमन्त्रीले हामीसँग सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो। हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक निर्णय नगरेको  बतायौं,' उनले भने।

समर्थन फिर्ता लिने निर्णय पार्टीको कार्यसम्पादन समितिले गरेको तर त्यसलाई केन्द्रीय समितिले अनुमोदन नगरेको पनि उनले बताए। स्रोतका अनुसार प्रधानमन्त्रीले गच्छदारलाई सरकारमा आउन पनि  आग्रह गरेका थिए। गच्छदारले यसबारे पनि सकारात्मक संकेत गरेको स्रोतको भनाइ छ।

 

प्रकाशित: १९ वैशाख २०७४ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App