६ वैशाख २०८१ बिहीबार
अन्य

ट्र्याडिसनल पहिरनमा मोडर्न पुस्ता

–रचना
आधुनिक पहिरनसँगै पारम्परिक पहिरनतिर पनि युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । विभिन्न चाडपर्व, उत्सव–महोत्सवमा आफ्नै जातीय पारम्परिक पहिरनमा सजिएर युवाहरूले सहभागिता जनाउने गरेका छन् । यति मात्र नभई विभिन्न सौन्दर्य प्रतियोगितामा पनि युवतीहरू पारम्परिक पहिरनमा चिटिक्क परेका हुन्छन् ।
टँुडिखेलमा बर्सेनि आयोजना हुने सोनाम, ग्याल्पो, तमुलगायत ल्होसारमा शेर्पा, गुरुङ र तामाङ जातिका युवती पारम्परिक पहिरन बक्खु, गुन्यूचोलोमा सजिएका हुन्छन् । राई, लिम्बूले मनाउने पर्व उधौली–उभौली होस् वा थारुले मनाउने माघी पर्वमा धेरै युवती आफ्ना पारम्परिक पहिरनमा चिट्ट परेका हुन्छन् । नेवारी समुदायमा हुने भोज, पूजामा नेवारी महिला हाकुपटासी लगाउँछन् । विभिन्न चाडपर्व र जात्रामा हाकुपटासी लगाइ ललितपुर, भक्तपुर र असन–इन्द्रचोकमा लस्करै नेवारी महिलाहरूका समूह हिँडिरहेको देख्न सकिन्छ ।  
स्टार वान इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस टिन एलएलसी २०१६’ की विजेता १७ वर्षीया सुरुचि बुढाथोकी पारम्परिक पहिरन भनेपछि हुरुक्कै हुन्छिन् । ‘मलाई क्षत्रीहरूको पहिरन धोतीचोलो, शिरमा मखमलको टोपी र गहनाले सजिन खूब मन पर्छ,’ उनी भन्छिन्, ‘गुरुङ, तामाङले लगाउने फूलबुट्टे लुंगी, मखमली चोली अत्ति मन पर्छ ।’ स्कुलमा सांस्कृतिक कार्यक्रम हुँदा मगर समुदायको मारुनी नाचमा मगर ड्रेस लगाएर आफू नाचेको उनी बताउँछिन् । यस्ता पहिरनमा आफूलाई फरक र सुन्दर देखिने उनको भनाइ छ ।
बानियाँटारकी लुना कुसुम पनि पारम्परिक पहिरनमा रमाउँछिन् । ‘पारिवारिक जमघट, चाडपर्व, पूजाआजामा कुर्तासुरुवाल लगाउँछु ।  लेहंगाचोली पनि लगाउँछु । कलेजमा हुने सांस्कृतिक कार्यक्रममा चाहिँ नेवारी, तामाङ, थारुको ड्रेस लगाउने मौका पाएकी छु,’ उनी भन्छिन् ।
एउटा सौन्दर्य प्रतियोगितामा भाग लिँदा पहिलो पटक नेवारी ड्रेसमा सजिएर ¥याम्प वाक गरेको अनुभव टेकु, लगनटोलकी हसिना स्थापित सुनाउँछिन् । ‘मैले नेवारी, गुरुङ, मगर, शेर्पा सबै खाले पहिरन पहिरिहएकी छु,’ उनी भन्छिन्, ‘अस्ति भर्खरै तमु ल्होसारमा तामाङ ड्रेस लगाएकी थिएँ ।’
आफूलाई फरक देखाउन पनि आजभोलि युवतीहरूले पारम्परिक पहिरन लगाउने गरेका छन् । ललितपुर, बुङमती बस्ने सम्पूर्ण खड्का नेवारी ड्रेस सजिन रुचाउँछिन् । ‘आफू क्षत्री भए पनि नेवारी बस्तीमा बसेकाले गाई जात्रा, जनैपूर्णिमाजस्ता विशेष अवसरमा हाकुपटासी लगाउन रुचाउँछु,’ उनी भन्छिन्, ‘धीमे बाजा बजाउँदा लगाइने सेट पनि लगाएकी छु ।’ शिरमा न्यापुसिख, पाखुरामा कल्या, चाँदीको औँठी, खुट्टामा कल्लीजस्ता गहनामा आफू निकै राम्री देखिने उनी बताउँछिन् ।

 

प्रकाशित: १८ वैशाख २०७४ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App