८ वैशाख २०८१ शनिबार
खेल

जितमा सागरको प्रभाव

काठमाडौं- सागर पुनले अलराउन्ड प्रदर्शन गरेपछि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार राति लन्डनमा विजय यात्रालाई निरन्तरता दिएको छ। मेरिलेबोन क्रिकेट क्लबको निम्तोमा बेलायत भ्रमणमा रहेको नेपाली टोलीले बिहीबार दोस्रो खेल खेल्ने क्रममा इन्डियन जिमखानाविरुद्धको ट्वान्टी–२० खेलमा २० रनको जित पायो। अघिल्लो दिन भ्रमणको पहिलो खेलमा नेपालले स्थानीय फ्री फरेस्टर क्लबमाथि ४० ओभरको खेलमा १ सय २९ रनको जित पाएको हो।

लन्डनस्थित इन्डियन जिमखाना मैदानमा सागरको अर्धशतकप्रेरित नेपालले पहिला ब्याटिङ गर्दै ७ ओभरको क्षतिमा १ सय ६२ रन बनाएको थियो।  दिनेश महन्तबाट रनआउट हुनुअघि सागरले ४८ बल सामना गर्दै ५६ रन जोडेका थिए। ओपनर सुवास खकुरेल ६ रनमै आउट भएपछि नेपाल ३.४ ओभरमा ३३ रनको अवस्थामा हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन क्रिजमा आएका सागरले ४ चौका र १ छक्का प्रहार गरे।

ज्ञानेन्द्रले उच्च फर्मलाई निरन्तरता दिने क्रममा २० बलमा ५ चौकासहित ३८ रन बनाए। ज्ञानेन्द्र र सागरले दोस्रो विकेटमा ३६ रनको साझेदारी गरेका थिए। अघिल्लो खेलमा फ्री फरेस्टरलाई हराउँदा पनि ज्ञानेन्द्रले ७३ रन जोडेका थिए। पहिलो खेलमा अर्धशतक बनाएका अर्का ब्याट्सम्यान शरद भेषावकरलाई भने बिहीबार आराम दिइएको थियो।

राजु रिजालले आक्रामक प्रदर्शन गर्ने क्रममा ११ बलमा अविजित २४ रन बनाए भने कप्तान पारस खड्काले १५ र राजेश पुलामीले १३ रन जोडे। राजुले ३ चौका र १ छक्का प्रहार गरे भने पारसले ३ चौका प्रहार गरे। इन्डियन जिमखानाका पुनितकुमार मेहरा र आदित्य आर्चियले ३–३ विकेट लिए।

जवाफमा १ सय ६३ रनको लक्ष्य लिएर आएको इन्डियन जिमखानालाई १ सय ४२ रनमा रोक्न सागरसँगै विक्रम सोब, करण केसी र शक्ति गौचनले २–२ विकेट लिए भने पारसले एक विकेटमा नाम लेखाए।

सागरले ३ ओभरमा १८ रन खर्चिंदै आदित्य (१५) र दिनेश (८) लाई पवेलियनको बाटो देखाए। दुवैको क्याच राजेश पुलामीले लिए। करणले ओपनर राना रेहान खान (१) लाई बोल्ड गरे भने भूपिन्दर सिंह (२४) लाई पारसको हातबाट क्याच गराए। यसैगरी शक्तिले सादिक अहमदी (२५) लाई राजु रिजालबाट स्टम्पिङ गराउँदा राकेश खाडे (४) लाई विनोद भण्डारीबाट क्याच गराए। जिमखानाका लागि सर्वाधिक ४७ रन बनाएका पुनितकुमारको विकेट पारसले लिए। २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका उनी एलबिडब्लु धरापमा परेका थिए।

बेलायत भ्रमणपछि नेपालले अर्को महिना विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्ससँग दुई खेल खेल्नेछ। नेपालले नेदरल्यान्ड्सविरुद्धका दुवै खेल अगस्ट १३ र १५ मा विपक्षीको मैदान एबेरडिनमा खेल्नेछ। नेपाली टोली बेलायतबाट नेपाल फर्केर विश्व क्रिकेट लिगका लागि नेदरल्यान्ड्सतिर लाग्नेछ।

प्रकाशित: १ श्रावण २०७३ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App