coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साउदीमा दुई युवालाई ‘ब्लड मनी’ बुझाउन आदेश

काठमाडौं-रोजगारीका लागि साउदी अरेबिया पुगेका दुई युवालाई ‘ब्लड मनी’ बुझाउन त्यहाँको अदालतले फैसला गरेको छ।

साउदीको अदालतले ब्लड मनी बुझाउने फैसला गरेको खबर सुनेपछि स्वदेशमा रहेका परिवारलाई अदालतले तोकेको ब्लड मनी कसरी जुटाउने भन्ने समस्या सिर्जना भएको छ । निश्चित समयभित्र अदालतले तोकेको ब्लड मनी को व्यवस्था हुन नसके दुई युवाको ज्यानसमेत जान सक्ने भन्दै परिवारका सदस्यले विभिन्न निकायमा हारगुहार गरिरहेका छन्।

साउदीको आरआर भन्ने स्थानमा रहेको खलिफ अल फला कम्पनीमा कार्यरत सार्खु–८, मकवानपुरका २७ वर्षीय दिनेश गोले र मध्यबिन्दु–४ नवलपरासी घर भई साउदीको दमामस्थित हसिन अल हार्बी कम्पनीमा कार्यरत ३६ वर्षीय थानेश्वर भुसालको मुद्दामा फैसला सुनाउँदै साउदीका छुट्टाछुट्टै अदालतले ब्लड मनी बुझाउन भनेका हुन् ।

साउदीका अदालतले गोले र भुसाललाई ब्लड मनी बुझाउने फैसला दिइसकेको त्यहाँस्थित नेपाली दूतावासमार्फत परिवारलाई जानकारी गराएको छ । ‘केही दिनअघि दमामको अदालतले एक लाख ५० हजार रियाल (करिब ४५ लाख रुपैयाँ) ब्लड मनी दिनुपर्ने फैसला सुनाएको जेद्दास्थित नेपाली नियोगका कर्मचारी रेवतीरमण पौडेलले जानकारी गराएका छन्,’ भुसालकी आमा विष्णुमायाले भनिन्, ‘छोराको उद्धार गर्ने हो भने ब्लड मनी जुटाउन सक्ने जानकारी पाएका छौं ।’

त्यस्तै दिनेशका पिता ठूलाकान्छाले त्यहाँको अदालतले तीन लाख रियाल (करिब ९० लाख रुपैयाँ ) ब्लड मनी मागेको बताए । ‘साउदीको अदालतले ९० लाख रुपैयाँ जुटाउन नसके छोरालाई जे पनि हुने खबर पाइरहेका छौं,’ ठूलाकान्छाले भने, ‘यस्तो बेला सरकारले सहयोग गरोस् भन्ने आग्रह छ ।’

साउदीका रोजगारदाता कम्पनीका सवारी साधन चलाउँदै आएका गोले र भुसालले चलाएको गाडीको ठक्करबाट क्रमशः चार र दुईजनाको ज्यान गएको थियो । पीडितका आफन्तका अनुसार गोलेले चलाउँदै आएको पानी ट्यांकरमा कार ठोक्किँदा चारजनाको र भुसालले चलाएको ट्यांकरसँग कार ठोक्किँदा दुईजनाको निधन भएको थियो।

ती दुइटै घटना भएको मिति दुई वर्षभन्दा बढी भइसके पनि लामो खोजीपछि केही दिनअघि मात्र परिवारले जानकारी पाएको पीडितको भनाइ छ । भुसालले चलाएको गाडी सन् २०१२ जुन ५ मा दुर्घटनामा परेको थियो । त्यस्तैले गोलेले चलाएको ट्यांकर २०७२ कात्तिक ७ गते दुर्घटनामा परेको थियो। दुर्घटनापछि प्रहरीले पक्राउ गरेका दुवैजना सम्पर्कविहीन भएपछि परिवारले खोजी गर्दै जाँदा केही दिनपछि  मात्र वास्तविकता खुलेको हो ।

साउदीको दमामस्थित जेलमा रहेका भुसालकी आमा विष्णुमायाका अनुसार छोरा सम्पर्कविहीन भएपछि पटकपटक साउदी दूतावासमा खोजीको लागि आग्रह गर्दा दूतावासका कर्मचारी सधैं बेवास्ता गर्थे । ‘केही दिनअघि जेद्दामा कार्यरत रेवतीरमण पौडेलले छोरा (थानेश्वर) जेलमा रहेको र करिब ४५ लाख रुपैयाँ ब्लड मनी बुझाउनुपर्ने जानकारी दिएका हुन्,’ उनले भनिन् ।

उता गोलेका पिता ठूलाकान्छाले गत चैत २७ गते मात्र छोराको अवस्थाबारे जानकारी पाएको बताए। ‘छोरालाई तोकिएको ब्लड मनीबारे जानकारी पाएपछि काठमाडौंमा आएर सहयोगका लागि हारगुहार गरिरहेको छु,’ उनले भने, ‘अहिलेसम्म अदालतले तोकेको ब्लड मनी कसरी जुटाउने भन्नेबारे कुनै उपाय भेटिएको छैन ।’ उनले छोरा रोजगारीका लागि साउदी जाँदा बैंकमा राखेको ऋण अझै निखन्न नसकेको गुनासो गरे भने विष्णुमायाले आफ्नो सबै जग्गाजमिन बिक्री गर्दा पनि १२–१४ लाख रुपैयाँभन्दा बढी नआउने दुःखेसो पोखिन् ।

दुवैजनालाई ब्लड मनीको फैसला सुनाइए पनि कहिलेसम्म फैसला अनुसारको रकम बुझाउने भन्नेबारे जानकारी नपाएको उनीहरूको भनाइ छ । सामान्तयाः तोकिएको अवधिभित्र ब्लड मनी बुझाउन नसकेको खण्डमा त्यस्ता व्यक्तिलाई झुन्डाएर प्राणदण्ड दिने साउदीको कानुन रहेको बताइन्छ ।

अदालतले ब्लड मनी तिर्नुपर्ने फैसला गरेको सुनेपछि सहयोगको याचना गर्दै दुवै परिवारले प्रधानमन्त्री कार्यालयमा समेत आग्रह गरेका छन् । दुई दिनअघि सहयोगको याचना गर्दै प्रधानमन्त्री कार्यालयमा पुगेका दुवै परिवारलाई त्यहाँका कर्मचारीले सहयोग गर्ने बताए पनि कुनै निर्णय नभएको विष्णुमायाले बताइन् । ‘विदेशमा आफ्नो नागरिक समस्यामा परेको बेला सरकारले सहयोग गर्नुपर्ने हो,’ उनले भनिन्, ‘सरकार या अन्य कुनै दाताले सहयोग नगर्ने हो भने समस्या समाधान गर्ने कुनै उपाय छैन ।’

यता प्रधानमन्त्री पुष्पकमल दाहालका वैदेशिक रोजगार विज्ञ सुशील ढुंगानाले वैदेशिक रोजगारीमा रहेका व्यक्तिमाथि जस्तोसुकै अभियोग लगाइएको भए पनि उद्धार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए। पीडित परिवार भने अब भाषणमा नभई समस्यामा परेकालाई सहयोग गर्न तुरुन्तै निर्णय गर्नुपर्ने माग गर्छन् । ढुंगानाले रोजगारीका लागि विदेश गएका सबैको विवरण विभिन्न दूतावाससँग माग गरिएको र १–२ दिनमा उक्त विवरण प्राप्त हुनेबित्तिकै केही निर्णय हुन सक्ने बताउँछन् ।

 

 

 

प्रकाशित: १८ वैशाख २०७४ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App