७ वैशाख २०८१ शुक्रबार
अर्थ

विदेशी पाहुना आगमनमा उतारचढाव

पोखरा- लेकसाइडस्थित टेम्पल ट्री रिसोर्टको अप्रिल महिनाको ‘अकुपेन्सी’ (पाहुनाको बुकिङ) अनुपात ७५ प्रतिशत मात्र पुग्यो। पोहोर यो रिसोर्टको अप्रिलको अकुपेन्सी शतप्रतिशत पुग्यो। रिसोर्टको २०१५ अप्रिलको अकुपेन्सी अनुपात करिब ८५ प्रतिशत थियो।

६८ कोठा क्षमताको रिसोर्टले भूकम्पपछि पोहोर अप्रिलमा मात्र सतप्रतिशत पाहुना पायो । नियमित पाहुना आउँदा पोहोर अप्रिलमा होटल भरिभराउ भएका थिए । त्यसबाहेक मुख्य सिजनमा पनि रिसोर्टले महिनाभर सतप्रतिशत पाहुना पाउन सकेको छैन । कुनै दिन सतप्रतिशत खचाखच हुने रिसोर्टले अर्काे दिन आधामा मात्र पाहुना पाउने गरेको छ ।

रिसोर्टका म्यानेजर कृष्ण आचार्य भूकम्पपछि सिजनमा पनि पाहुना आगमनमा निकै नै उतारचढाव रहेको बताउँछन् । ‘लेकसाइडका सबै होटलको अवस्था उस्तै हो । कुनै दिन एउटै कोठा खाली हुँदैनन्, कहिले आधामा मात्र पाहुना राखेर चित्त बुझाउनुपर्छ,’ आचार्यले भने, ‘भूकम्पअघिको जस्तो एकनासको आगमन अहिले सिजनको बेलामा पनि छैन । त्यसले गर्दा होटलको अकुपेन्सी तलमाथि भइरहन्छ ।’ उनका अनुसार यो अप्रिलमा जम्मा १२ दिनमात्र रिसोर्टले पूर्ण क्षमतामा पाहुना पाएको थियो ।

आचार्यका अनुुसार २०१५ को फेबु्रअरी र मार्चको अकुपेन्सी क्रमशः ९० र ८० प्रतिशत थियो । पोहोर फेब्रुअरी र मार्चको अकुपेन्सी क्रमशः ५५ र ८० प्रतिशत रह्यो । यो पटक फ्रेब्रुअरीमा ६५ र मार्चमा ६० प्रतिशतमात्र अकुपेन्सी रहेको उनले बताए । पाहुना आगमनमा निश्चिन्तता नहुँदा ढुक्क हुन नसकेको आचार्यले बताए ।

‘भूकम्पअघिको समयमा बुकिङ गरेपछि पाहुना आउँछन् भन्ने निश्चित हुन्थ्यो । अहिले बुकिङ गरे पनि तत्कालका तत्काल रद्द हुन सक्छ,’ उनले भने, ‘पाहुना आउछन् नै भन्ने निश्चित हुन छाडेको छ । सिजनमा बेलामा पनि महिनाभर सतप्रतशित पाहुना पाएका छैनौं । यो अवस्था पोखराका सबै होटललाई लागु हुन्छ ।’ उनका अनुुसार आन्तरिक पाहुना आउँदा मात्र अहिले सबैजसो होटललाई राहत मिलेको छ । नत्र विदेशी पाहुनाको भरमा मात्र सञ्चालन गर्न निकै नै धौधौ छ ।

लेकसाइडकै अर्काे माउन्ट कैलाश रिसोर्टको अकुपेन्सी अनुपातमा पनि निकै नै उतारचढाव छ । माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईका अनुसार २०१५ को मुख्य तीन महिना (फेब्रुअरी, मार्च र अप्रिल) को अकुपेन्सी अनुपात ७० देखि ८० प्रतिशत रहेकोमा पोहोर यी तीन महिनाको अकुपेन्सी अनुपात ६० प्रतिशत  हाराहारी थियो । यो वर्षको यिनै तीन महिनाका अकुपेन्सी ५० देखि ६५ प्रतिशत छ ।

‘महिनामा एक–दुई दिन सतप्रतिशत होटल पाहुनाले भरियो भन्दैमा सिजनको अकुपेन्सी सतप्रतिशत पुग्यो भन्न मिल्दैन,’ भट्टराईले भने, ‘पाहुना आगमनमा निकै नै उतारचढाव छ । कुनै दिन पाहुना नअटेर हैरान, कहिले कोठा रित्तै राख्नुपरेको छ ।’ भूकम्पपछि विदेशी पाहुना आगमनमा एकरुपता नरहेको उनले बताए । सिजनका बेला आगमनमा खासै फरक हुन–नहुने भए पनि भूकम्पपछि एकरुपता हुुन नसकेको उनले बताए ।

‘विदेशी पाहुना आगमनको पारो कहिले ह्वात्त माथि जान्छ, कहिले निकै नै तल झर्छ । भूकम्पअघिको अकुपेन्सी दर करिब एकैखालको थियो । तर, भूकम्पपछिको अकुपेन्सीमा निकै नै तलमाथि छ,’ उनले भने, ‘यसले हामीलाई नै ढुक्क बनाउन सकेको छैन । पाहुना आगमन सतप्रतिशत हुन्छ भन्नै सकिने अवस्था सिर्जना हुनै सकेन ।’

भूकम्पपछि विदेशी पाहुना नेपाल आउन डराएकाले पनि होटल सञ्चालन सहज हुन नसकेको व्यावसायी बताउँछन् । आन्तरिक पर्यटक आउँदा नेपाली र अंग्रेजी नयाँ वर्ष तथा चाँडबाँडताका पाहुना भरिभराउ देखिए पनि विदेशी आगमन अझै सोचेजति बढ्न नसकेको उनीहरु बताउँछन् । भारतीय पाहुना आगमन खस्किदा होटलले सिजनको अकुपेन्सी बढाउन नसकेको व्यावसायीको भनाइ छ ।

पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली अहिलेको उतारचढावले व्यावसायी ढुक्क हुन नसकेको बताउँछन् । उनका अनुसार फेब्रुअरी मध्यपछि पोखरामा पर्यटकीय सिजन सुरु हुन्छ । यो सिजन अप्रिलसम्म रहिरहन्छ । तर, सिजनका बेलामा पनि पाहुना आगमन भूकम्पअघिको जस्तो हुन सकेको छैन । ‘हप्तामा एक दिन सतप्रतिशत पाहुना आए भनेर हामी खुसी भए पनि सिजनभरको आगमन सन्तोषजनक छैन,’ उनले भने, ‘कुनै दिन कोठा नपाएर खोज्नुपर्ने अवस्था आउँछ । कहिले होटलका आधाजति कोठामा पनि पाहुना हुँदैनन् । यो सबै भूकम्पपछिको अवस्था हो । भूकम्पअघि सिजनमा यस्तो तलमाथि हुँदैनथ्यो । तर, अहिले तलमाथि भइरहेको छ ।’

पराजुलीका अनुसार भूकम्पअघि सिजनको अकुपेन्सीमा खासै तलमाथि हुँदैनथ्यो । तर, भूकम्पपछि निकै नै उतारचढाव छ । ‘यो पटक अप्रिलमा पोखराका सबै होटलको अकुपेन्सी करिब ५०–६० प्रतिशत मात्र पुग्यो । भूकम्पअघिको यही बेलामा अकुपेन्सी करिब ८० प्रतिशतको हाराहारीमा हुन्थ्यो,’ उनले भने, ‘भूकम्पअघि योबेला भारतीय पाहुना आँउथे र अकुपेन्सी उकासिन्थ्यो । तर, भूकम्पपछि भारतीय पाहुना पनि सोचेअनुसार आउन सकेका छैनन् ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुर्य थपलिया भूकम्पपछिको एक वर्ष पूरै पुनर्जागरणमा बितेको बताउँछन् । ‘होटल संख्या थपिँदा पनि पाहुना अन्यत्र बाँडिएका छन्,’ उनले भने, ‘त्यसले होटलको अकुपेन्सीमा उतारचढाव देखाउँछ ।’ पछिल्लो समय होटल बढेका छन् । होटल थपिएसँगै पाहुना बाडिँदा उतारचढाव देखिने उनी बताउँछन् । उनका अनुसार विश्व परिवेशका घटनाक्रमले पनि पाहुनाको आगमनमा फरक पार्छ । ‘पाहुनाको घुम्ने ट्रेन्डले पनि फरक पार्छ । त्यसको असर आगमनमा देखिन्छ,’ उनले भने, ‘तर पहिलेजस्तो एकैखालको आगमन दर हुनसकेको छैन ।’

 

 

प्रकाशित: १८ वैशाख २०७४ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App