६ वैशाख २०८१ बिहीबार
खेल

दबाब चिर्न कोन्टे तयार

लन्डन- चेल्सीका नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेले आफू इङ्लिस प्रिमियर लिगको दबाबमूलक कामका लागि तयार रहेको बताएका छन्। चेल्सी प्रशिक्षकमा पहिलोपटक पत्रकार सम्मेलन गर्दा उनले टोलीलाई सही बाटोमा फर्काउन प्रयास गर्ने बताए। 'अरुभन्दा बढी दौडिनेसँग जित्ने सम्भावना बढी हुन्छ,' कोन्टेले पत्रकार सम्मेलनमा भने, 'हामीले पनि जित्नका लागि राम्रो र आकर्षक फुटबल खेल्नुपर्छ। त्यसका लागि फिटनेसमा अत्यन्तै ध्यान दिनुपर्छ। फिटनेस कमजोर भयो भने राम्रो फुटबल सम्भव हुँदैन।'

जोजे माउरिन्हो र गुस हिडिंकको नेतृत्वमा अघिल्लो सिजन निराशाजनक रूपमा बिताउँदा चेल्सीका थुप्रै स्टार खेलाडी आफ्नै क्षमताअनुसारको प्रदर्शनबाट पनि चुकेका थिए। इडेन हाजार्ड र सेस फाब्रिगास जस्ता खेलाडीले पनि आफ्नै विगतको प्रदर्शन निरन्तरता नदिएर प्रशिक्षकलाई निराश पारेका थिए। माउरिन्होको कालमा नचलेका स्टारहरू कोन्टेको नेतृत्वमा पनि रातारात नदौड्ने उनले राम्ररी बुझेका छन्। त्यसैले कोन्टेले पहिलो सार्वजनिक समारोहमा खेलाडी, क्लब पदाधिकारी र समर्थक सबैलाई प्रभावित पार्ने प्रयास गरे।

'म एउटा कामदार हुँ। काम गरिरहन्छु। मेरो काम फुटबल खेलाउने हो। आफ्नो क्षमताले भ्याएसम्म टोली र खेलाडीलाई हकलाग्दो नतिजा दिलाउने गरी खेलाउनु मेरो जिम्मेवारी हो,' हाल म्यानचेस्टर युनाइटेडको जिम्मेवारी सम्हालेका चेल्सीका पूर्व प्रशिक्षक जोजे माउरिन्होसँग दाँज्दै गरिएको प्रश्नमा कोन्टेले कसैको नाम नलिइकन भने, 'कोही प्रशिक्षक जित्ने मानसिकताका हुन्छन्। उनीहरू जित निकाल्न माहिर हुन्छन्, त्यसका लागि हरेक हतकन्डा अपनाउँछन्। त्यो विशेष गुण हो।'

इङ्लिस प्रिमियर लिगलाई विश्वकै सबैभन्दा कठिन लिग मानिन्छ। तर, कोन्टेले आफू प्रिमियर लिगको चुनौतीबाट नडराएको बताए। 'म दबाबसाथ जन्मिएको मानिस हुँ। त्यसैले दबाब मेरा लागि महत्वपूर्ण कुरा होइन। चेल्सी जस्तो एउटा महान फुटबल क्लबको खेलाडी वा प्रशिक्षक भएपछि दबाब हुनु स्वाभाविक कुरा हो। यसका बीचमा जितका लागि खेल्नु महत्वपूर्ण कुरा हो,' कोन्टेले भने, 'यहाँ ६/७ वटा टिम उपाधि जित्न सक्षम छन्। त्यसैले प्रिमियर लिग कठिन लिग हो भन्ने मलाई थाहा छ। यसकै कारण म अहिले चेल्सीको नेतृत्व गर्न पाएकोमा उत्साही छु।'

कोन्टेले क्लबलाई जितको बाटोमा फर्काउँदै च्याम्पियन्स लिगमा पुनरागमन जनाउनु आफ्नो पहिलो लक्ष्य भएको बताए। रुसी अर्बपति तेल व्यापारी रोमन एब्रामोभिचले स्वामित्व ग्रहण गरेपछिका आठौं मुख्य प्रशिक्षक कोन्टेले टिमको संरचनामा धेरै परिवर्तन नगर्ने संकेत गरे। कप्तानमा जोन टेरीलाई निरन्तरता दिने योजना उनले सुनाए। मैदानमा रहँदा टेरीले नै टिमको नेतृत्व गर्ने कोन्टेले प्रस्ट पारे। 'उनी जब मैदानमा हुन्छन्, उनी एउटा खेलाडीको भूमिकामा मात्र सीमित हुँदैनन्। उनमा नेतृत्वको गुण छ। उनी जहिले पनि कप्तान जसरी प्रस्तुत हुन सक्छन्,' एक वर्षका लागि नयाँ सम्झौता पाएका टेरीको प्रशंसामा ४६ वर्षे प्रशिक्षकले भने।

मिची बात्सुईको आगमनले टोली थप बलियो भएको उनको भनाइ थियो। चेल्सीको टोलीमा प्रतिभाको कुनै कमी नभएको विचार राख्ने कोन्टेले टोलीलाई पुनरागमनको एउटा अवसर चाहिएको बताए। आगामी सिजनको सुरुआतसँगै चेल्सीको पुनरागमन अभियान पनि सुरु हुने उनले बताए। पुनरागमनका लागि प्रतिभासँगै टिममा एकता, लक्ष्यप्राप्तिको भावना र प्रतिबद्धता आवश्यक भएको उनको भनाइ थियो।

'लेस्टर सिटी एउटा राम्रो उदाहरण हुनसक्छ। उनीहरूले प्रतिबद्धता र जोसिलो भावनाका भरमा गत सिजनमा प्रिमियर लिग जितेका हुन्,' कोन्टेले भने, 'पक्कै पनि आउँदो सिजन हाम्रा लागि सहज छैन। तर हामी सबैखाले चुनौती र दबाब झेल्न तयार हुनुपर्छ।'

लेस्टरका एन'गोलो कान्टेका लागि २ करोड ७० लाख पाउन्डको प्रस्ताव गरेको चेल्सीले रियाल मड्रिडका अल्भारो मोराटा र एएस रोमाका राड्जा नाइनगोलानमाथि पनि आँखा गाढिरहेको छ। कोन्टेले इच्छा गरेका यी तीन खेलाडी पनि भित्याउन सके आगामी सिजन चेल्सी थप बलियो टोली बन्नेछ।

अघिल्लो सिजन साबिक विजेताका रूपमा चेल्सीले सिजन सुरु गरेको थियो भने क्लाउडियो रेनरीको लेस्टरलाई धेरैले मध्यपंक्तिका लागि पनि लायक मानेका थिएनन्। तर सिजन सकिँदा विश्व फुटबलकै जिज्ञासुहरू लेस्टर र रेनरीको चर्चामा रमाउन थाले। यसपालि चेल्सीका प्रशिक्षकलाई अघिल्लो सिजन रेनरीको जस्तो सुविधा छ। किनकि धेरैले चेल्सीलाई आगामी सिजनमा उपाधि दाबेदार मानेका छैनन्।

'क्लबले मलाई बर्खास्त गर्ला भन्ने डर मसँग हुने छैन। मेरा लागि त्यो महत्वपूर्ण कुरा होइन। मेरा लागि महत्वपूर्ण कुरा भनेको काम गर्नु हो, टिमलाई पहिचान दिनु हो, मेरो फुटबल दर्शन लागू गर्नु हो। कामप्रतिको भावना प्रस्तुत गर्दै मेरो लगाव खेलाडी र समर्थकसम्म पुर्‍याउनु हो। अझ महत्वपूर्ण कुरा जित्नु हो,' युभेन्ट्स तथा इटालीका पूर्व प्रशिक्षक कोन्टेले पत्रकार सम्मेलनमा भने, 'पूरा सिजनमा म आफ्ना फुटबल नीति मैदानमा उतार्ने छु। सिजन सकिँदा जित्न सकेको अवस्थामा म बस्नेछु। जित्न नसके म टिममा रहन्न। म युभेन्ट्स जाँदा उनीहरूले ९ वर्षदेखि उपाधि जित्न सकेका थिएनन्। तर चेल्सीले १२ महिनाअघि उपाधि जितेको थियो। त्यसैले युभेन्ट्स जाँदा र अहिलेको अवस्था फरक छ।'

प्रकाशित: १ श्रावण २०७३ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App