coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रियाल र बार्सिलोनाबीच तँछाडमछाड

मड्रिड (एएफपी)– बार्सिलोना र रियाल मड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएका खेलमा विजय हासिल गर्दै समान ८१ अंक जोडेपछि शीर्षताको प्रतिस्पर्धामा समीकरण उस्तै रहेको छ। शनिबार बार्सिलोनाले स्पानियोललाई ३–० को नतिजामा हराउँदा रियालले भ्यालेन्सियामाथि २–१ को जित हासिल गरेको थियो।

बार्सिलोनाको तुलनामा एक खेल कम खेलेको रियालले अन्तिम समयमा गोल गर्दै भ्यालेन्सियासँग तीन अंक एकतर्फी पारेको थियो । मार्सेलोले समय सकिन चार मिनेट बाँकी रहँदा रियालका लागि विजयी गोल ठोकेका थिए । उता बार्सिलोनाको जितमा भने लुइस स्वारेजले दुई गोल गरेका थिए । समान अंक भए पनि हेड टु हेडमा अगाडि रहेकाले बार्सिलोना शीर्ष स्थानमा छ ।

‘हामीले गर्न सक्ने धेरै कुरा छैन । हामीले सक्ने भनेको आफ्ना खेल लगातार जित्दै उनीहरू (रियाल)माथि दबाब कायम राख्ने हो,’ स्वारेजले भने, ‘उनीहरूको खेलतालिका कठिन र थकानपूर्ण छ । त्यसैले सिजनको अन्त्यसम्म हामीले आफ्ना खेल जितिरह्यौं भने सुखद उपलब्धि हासिल हुन सक्छ ।’

स्वारेजले ५०औं मिनेटमा खाता खोलेपछि बार्सिलोनाले अवे मैदानमा पछि फर्केर हेर्नु परेन । इभान रोकेटिचले ७६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे भने स्वारेजले समय सकिन तीन मिनेट बाँकी रहँदा अन्तर ३–० ले फराकिलो पारे ।

बार्सिलोनाको तुलनामा रियालको जित कठिन रह्यो । घरेलु सान्टियागो बेर्नाबेउमा क्रिस्टियानो रोनाल्डोले २७औं मिनेटमा अग्रता दिलाएपछि सहज अवस्थामा पुगेको टोली ५७औं मिनेटमा उनैले पेनाल्टी खेर फालेपछि दबाबमा पुगेको थियो । ड्यानिअल परेजोले लुका मोडरिचको जर्सी तानेबापत पाएको पेनाल्टीमा रोनाल्डोको प्रहार विपक्षी गोलकिपर डिएगो आल्भेसले जोगाएका थिए । परेजोले नै समय सकिन ८ मिनेट बाँकी रहँदा भ्रमणकारी भ्यालेन्सियाका लागि बराबरी गोल गरेपछि रियालको दबाब अझै बढेको थियो । जहाँ ८६औं मिनेटमा मार्सेलोले गोल गर्दै जिनेदिन जिदानको टोलीको उद्धार गरे ।

‘पक्कै पनि हामी सुरुआतमा सहज अवस्थामा थियौं । तर पछि उनीहरूले हामीलाई दबाबमा राखे । अझ भ्यालेन्सियाले गोल गरेपछि त हामीले केही समयका लागि खेल गुमाएजस्तै भएको थियो,’ रियालका प्रशिक्षक जिदानले भने, ‘सिजन नसकिएसम्म हामीले यस्तै कठिन चुनौतीहरूको सामना गरिरहनुपर्नेछ । त्यसका लागि हामी तयार छौं ।’

स्पेनिस ला लिगाअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा तेस्रो स्थानको एट्लेटिको मड्रिडले १० जनामा सीमित भएर खेलको अन्त्य गरेको लस पाल्मसमाथि ५–० को एकतर्फी विजय हासिल ग¥यो । केभिन गामेरियोले दुई गोल गरेको खेलमा एट्लेटिकोका लागि साउल निगुइज, थोमस र फर्नान्डो टोरेजले एक÷एक गोल गरेका थिए ।

शनिबार भएका खेलमा विजय हासिल गर्दै समान ८१ अंक जोडेपछि बार्सिलोना र रियाल मड्रिडबीचको शीर्षताको समीकरण उस्तै रहेको छ ।

प्रकाशित: १८ वैशाख २०७४ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App