७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘अधिनायकवाद’ को पूर्वाभ्यास: एमाले

काठमाडौं-प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव लाई ‘अधिनायकवाद’ को पूर्वाभ्यास भएको टीप्पणी गरेको छ।

सत्तासीन दल नेपाली कांग्रेस र माओवादी केन्दले चुनाव छल्न महाभियोग लगाएको भन्दै एमालेले त्यसविरुद्ध उचित जबाफ दिने बताएको छ ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोग प्रस्ताव स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप भएको बताए । ‘यो स्वतन्त्र न्यायापालिकामाथिको हस्तक्षेप हो, अधिनायकवादको संकेत पनि हो, एमालेले महाभियोग सफल हुने दिनेछैन,’ भट्टराईले भने ।   

कार्की निडर र सक्षम प्रधानन्यायाधीश भएको भन्दै भट्टराईले महाभियोग असफल बनाउन आफ्नो पार्टीले सबै शक्ति लगाउने बताए । ‘यो महाभियोगबाट सत्तारूढ दलले इतिहासमा राम्रै मूल्य चुकाउनुपर्ने छ,’ उनले भने, ‘यो संसद्बाट पारित पनि हुँदैन । हामी यसलाई रोक्न सबै शक्ति लगाउनेछौं ।’

महाभियोग प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ८९ र अर्को सत्तासीन दल माओवादी केन्द्रका ६० सभासदको हस्ताक्षर छ छ । 

एमालेले कर्मचारी, प्रहरी र निर्वाचन आयोगपछि सरकारले अदालतमाथि हस्तक्षेप भएको निष्कर्ष निकालेको छ ।

एमालेका नेताले सत्तारूढ दलबाट चुनाव सार्ने प्रधानन्यायाधीश कार्कीलाई ‘वलिको बोको’ बनाउन खोजिएको बताए । ‘प्रधानन्यायाधीश कार्कीलाई चुनाव सार्नका लागि वलिको बोको बनाइयो,’ एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले भने ।

पछिल्लो समय खासगरी प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा सरकार र न्यायापालिकाबीच तनाव बढेको थियो । प्रधानन्यायाधीश कार्कीले सरकारले गरेको नियुक्ति बदर गरिदिएकी थिइन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रधानन्यायाधीश कार्कीले साहसिक फैसला गरेपछि आत्तिएकाले महाभियोग प्रस्ताव ल्याएको बताए । उनले चुनाव सुनिश्चित गर्न सबै नेपाली लाग्नुपर्ने बताए।

यसैबीच एमाले भ्रातृ संगठन युवा संघ नेपालले महाभियोगको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा मसाल जुलुस प्रर्दशन गरेको छ ।

प्रकाशित: १८ वैशाख २०७४ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App