coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बिजुलीका ८० प्रतिशत खम्बा जीर्ण

इलाम- नेपाल विद्युत् प्राधिकरणले ‘बेवास्ता गर्दा’ जिल्लाका दर्जनौं गाउँका बासिन्दा बिजुलीबाट हुने क्षतिको जोखिममा छन्। सयौं बिजुलीका खम्बा (पोल) मकाइसकेका र भाँचिएका छन् भने तार लत्रिएर मानिसले छुने ठाउँसम्म आइपुग्दा पनि मर्मत हुन सकेको छैन।

                जिल्ला सदरमुकामकै कुलधारमा रहेको ११ केभिए प्रसारण लाइनको ठूलो फलामे खम्बा ठूलो हावा चल्नेबित्तिकै भाँचिएर भुइँमा ढल्ने जोखिम छ। ठूलो विद्युत् क्षमताको तार टाँगिएको खम्बाको बीच भाग कुच्चिएपछि वरिपरिको भाग टाँसिएर पातोजस्तो भइसकेको छ । मेची राजमार्गबाट डिभिजन सडक कार्यालय छिर्ने गेटको यो खम्बा महिनौंसम्म मर्मत नहुँदा वरपरिका घरसमेत जोखिममा छन्। हुरी आएका बेला खम्बा भाँचिए नजिकका घरलाई तारले छुने सम्भावना रहेको स्थानीय बताउँछन्।

                मेची राजमार्गसँगै रहेको यो खम्बा रातिको समयमा गाडीले ठोक्काएर कुच्चिएको प्राधिकरणको इलाम शाखाले जनाएको छ । ‘राति कुन गाडीले खम्बा बिगारेको हो भन्ने अहिलेसम्म पत्तो लाग्न सकेको छैन,’ प्राधिकरण इलाम वितरण केन्द्र प्रमुख सीताराम सिग्देलले भने, ‘ठक्कर दिने गाडी पत्ता लगाउन खोजी गरिरहेका छौं ।’

                सदरमुकामसहित गाउँ–गाउँमा वषौंअघि गाडिएका बिजुलीका खम्बाको अवस्था अहिले जीर्ण बनिसकेको छ । खम्बामा टाँगिएको तार खनजोत गर्ने बारीमा आइपुगेकाले काम गर्नै गाह्रो हुन थालेको किसान बताउँछन् । बिग्रिनेबित्तिकै प्राधिकरणलाई जानकारी गराएपनि मर्मतमा कोही नआउने गरेको उपभोक्ताको गुनासो छ । भाँचिएका र भाँचिन लागेका काठे खम्बालाई वरिपरिबाट बाँस लगाएर अड्याइएको देखिन्छ । ‘काठका पोलजति सबै मकाइसकेका छन्, कुहिने अवस्था पुग्दा पनि अर्को परिवर्तन गर्न कोही आएन,’ बरबोटे गाउँका एक उपभोक्ताले सुनाए, ‘बिजुलीका पोलछेउमा जानै खतरा भइसकेको छ।’

                प्राधिकरणकै अनुसार जिल्लामा बिजुली प्रसारण गरिएका ८० प्रतिशत काठे खम्बा जीर्ण भइसकेका छन् । तर, आवश्यकताअनुसार विद्युत् पोल नै नआएकाले बिग्रेका ठाउँमा परिवर्तन गर्न नसकेको प्राधिकरण प्रमुख सिग्देलले बताए । उनले आवश्यकताको आधाभन्दा कम खम्बा आउने गरेको र कर्मचारी पनि अपुग रहेकाले चाहेका बेला काम गर्न नसकेको गुनासो गरे । ‘हामीलाई अहिले ६ हजार विद्युत् खम्बा आवश्यक छ,’ उनले भने, ‘तर, बर्सेनि ३ हजार माग गरिएकामा १ हजार मात्र आउँछ ।’ उनले खम्बा खरिद र वितरणको जिम्मा प्राधिकरण केन्द्रीय कार्यालयकै भएकाले पनि स्थानीय आवश्कता पूरा हुन नसकेको बताए।  

                प्राधिकरणको इलाम शाखामा ९४ कर्मचारीको दरबन्दी छ । तर, अहिले ५२ जनाको मात्रै पदपूर्ति भएकाले पनि सबैतिर ठीक समयमा मर्मत गर्न कठिनाइ भएको उनले जनाए । ‘सामग्री र जनशक्ति अभावले हामीले सोचेअनुसार काम गर्न सकेका छैनौं,’ उनले भने, ‘तर, यो वर्ष पहिलेका वर्षहरूभन्दा निकै काम गर्ने योजनामा छौं ।’ 

 

प्रकाशित: १७ वैशाख २०७४ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App