coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा एमालेले टुंग्यायो उम्मेदवार

सिन्धुपाल्चोक – स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिन्धुपाल्चोकमा आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । 

एमाले तीन नम्वर प्रदेश समितिले जिल्लाको सिफारिसलाई आधार मान्दै सिन्धुपाल्चोकका सबै १२ तहमा ५ सय ३९ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो । प्रदेश समितिका सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङका अनुसार बाह्रबिसे नगरपालिका प्रमुखमा निमफुन्जो शेर्पा र उपप्रमुखमा सुशिला पाख्रिनलाई उम्मेदवार बनाइएको छ । 

त्यस्तै चौतारा नगरपालिका प्रमुखमा सोम सापकोटा, उपप्रमुखमा सीता थापा तथा मेलम्ची नगरपालिका प्रमुखमा डम्बर अर्याल र उपप्रमुखमा भगवती नेपाललाई उम्मेदवार बनाइएको छ । त्रिपुरा सुन्दरी गाउँपालिकामा भूपेन्द्र श्रेष्ठ र दुर्गा नेपाल, लिसंखु पाखरमा कमल नेपाल र हेमगंगा मोक्तान, सुनकोसीमा शिव न्यौपाने र देबी अधिकारी तथा बलेफी गाउँपालिकामा केदार क्षेत्री र कमला कायस्थलाई अध्यक्ष र उपाध्यक्षको टिकट दिइएको छ । 

जुगल गाउँपालिकामा होमनारायण श्रेष्ठ र सिर्जना तामाङ, इन्द्रावतीमा झम्क नेपाल र सरस्वती अधिकारी, पाँचपोखरी थाङपालमा टासी लामा र सुनिता अधिकारी तथा हेलम्बु गाउँपालिकामा हस्त पण्डित र निमाज्याङ्मु लामालाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाइएको इन्चार्ज तामाङले बताए । 

निर्णय लिइसके पनि एमालेले भोटेकोसी गाउँपालिका अध्यक्ष, उपाध्यक्षको नाम सार्वजनिक गरेको छैन । उता उम्मेदवार छनौटमा असन्तुष्ट एमाले कार्यकर्ताले मेलम्चीस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । मेलम्चीबाट प्रमुखमा बालकृष्ण देउजा र धर्मकृष्ण श्रेष्ठमध्ये एकलाई प्रमुख बनाइनु पर्ने माग गर्दै क्षेत्रीय कार्यालयमा केही दिनअघि लगाइएको ताला खुलेको छैन । 

जिल्लाले उम्मेदवार बनाइएका अर्यालसहित तीनै जनाको नाम सिफारिस गरे पनि देउजा र श्रेष्ठले टिकट पाएनन् । एमाले जिल्ला समितिले साताअघि नै गाउँ, नगरबाट सिफारिस भइ आएका आकांक्षीको नाम जस्ताको त्यस्तै प्रदेशमा पठाए पनि मेलम्चीकै विवादका कारण निर्णयमा ढिलाई भएको थियो । एमालेले वडाका सबै उम्मेदवार भने सर्वसम्मत छनोट गरेको थियो।
    

प्रकाशित: १७ वैशाख २०७४ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App