८ वैशाख २०८१ शनिबार
खेल

युभेन्ट्स र एटलान्टाबीच बराबरी

मिलान – अन्तिम दुई मिनेट सम्हालिन नसक्दा इटालियन सिरी ‘ए’ शीर्ष टोली युभेन्ट्सले शुक्रबार एटलान्टासँग २–२ को बराबरी खेलेको छ ।

युभेन्ट्सका रक्षक ड्यानी आल्भेसले ८३औं मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई जिततर्फ डो¥याएका थिए । तर, त्यसको ६ मिनेटपछि रक्षापंक्तिले गरेको गल्तीको फाइदा उठाउँदै रेमो फ्रेउलरले गोल गर्दै एटलान्टालाई १ अंक दिलाएका थिए ।

युभेट्न्स अंकतालिकामा दोस्रो स्थानको एएस रोमाभन्दा ९ अंकले अघि छ । साबिक विजेता युभेन्ट्सको रक्षापंक्ति युरोपकै उत्कृष्टमा गनिन्छ र सिजनका ३४ खेलमा २२ गोल मात्र खाएको छ । 

‘आफ्नै गल्तीका कारण हामीले दुई गोल खायौं । हामीले यस्तो गल्ती गर्नु हुँदैनथ्यो तर मानिसबाट यस्तो हुन्छ,’ युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने ।

पाँचौं स्थानमा रहेको एटलान्टाले सिरी ‘ए’ मा आश्चर्यजनक प्रदर्शन गरिरहेको छ । घरेलु मैदानमा तीन खेलमा मात्र पराजित भएको एटलान्टाले युभेन्ट्सलाई अपेक्षाकृत  चुनौती पेस गरेको थियो ।

रक्षक जर्जियो चिलिनीले गरेको दुई गल्तीबाट बचेको युभेन्ट्सले पहिलो हाफको अन्तिम मिनेटमा आन्द्रेय कोन्टीको प्रयासलाई भने विफल बनाउन सकेन । कोन्टीले एलसान्द्रो गोमेसको क्रसलाई पोस्टको दिशा दिएका थिए ।

मध्यान्तरपछिको छैटौं मिनेटमा लियोनार्दो स्पिनाजोलाको आत्मघाती गोलमा युभेन्ट्सले बराबरी गोल फर्कायो । मिरालम पिजानिकको फ्रिकिकलाई क्लियर गर्ने क्रममा स्पिनाजोलाले आफ्नै पोस्टमा गोल गरेका थिए ।

युभेन्ट्सका मिडफिल्डर सामी खेदिराले गोलका लागि गरेका दुईवटा प्रयासलाई एटलान्टाका गोलकिपर इट्रिट बेरिसाले विफल बनाइदिएका थिए । ८३औं मिनेटमा पिजानिकको लामो क्रसमा आल्भेसले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिएका थिए । युभेन्ट्सका पिजानिक र रक्षक जेफान लाइचट्सटेनरबीच बल क्लियर गर्ने बेलामा नमिलेको तालमेलको फाइदा लिँदै फ्रेउलरले बराबरी गोल फर्काएका थिए ।

फ्रेउलरको पहिलो प्रहार युभेन्ट्सका गोलकिपर जियानलुइगी बुफोनले बचाएका थिए । तर, रिबाउन्डमा आएको बललाई युभेन्ट्सको रक्षापंक्तिले राम्रा क्लियर गर्न नसकेपछि पाएको बलमा फ्रेउलरले कुनै गल्ती गरेनन् ।

बराबरीसँगै एटलान्टाले युरोपा लिगका लागि छनोट हुने सम्भावनालाई कायम राखेको छ । ३४ खेलबाट ६४ अंक जोडेको एटलान्टाले चौथो स्थानको लाजियोसँग अंक बराबरी गरेको छ । 

पाँच दिनपछि च्याम्पियन्स लिग सेमिफाइनलमा मोनाकोविरुद्ध प्रतिस्पर्धा गर्ने युभेन्ट्सका प्रशिक्षक एलेग्रीले शुक्रबार नियमित टोलीमा कुनै परिवर्तन गरेका थिएनन् । 

‘आजको खेलले मोनाकोविरुद्ध तयारी गर्न सहयोग गरेको छ,’ एलेग्रीले भने, ‘यस खेलबाट पाठ सिक्नु महत्वपूर्ण छ । विचलित नभई च्याम्पियन्स लिगका लागि राम्रो तयारी गर्नुपर्छ ।’

पाँचौं स्थानमा रहेको एटलान्टाले सिरी ‘ए’ मा आश्चर्यजनक प्रदर्शन गरिरहेको छ । घरेलु मैदानमा तीन खेलमा मात्र पराजित भएको एटलान्टाले युभेन्ट्सलाई अपेक्षाकृत  चुनौती पेस गरेको थियो ।

प्रकाशित: १७ वैशाख २०७४ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App