७ वैशाख २०८१ शुक्रबार
कला

सुरु भयो ‘छक्का पञ्जा २’

मुहुर्तमा फिल्मका स्वरुप पुरुष ढकाल(बाँया), दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्का ।

काठमाडौं – अघिल्लो साल कीर्तिमानी कमाइ गर्न सफल फिल्म ‘छक्का पञ्जा’को दोस्रो भाग ‘छक्का पन्जा २’को छायांकन सुरु भएको छ । बिहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले क्ल्याप ठोक्दै फिल्मको औपचारिक मुहुर्त गरेका थिए । मुहुर्तपछि फिल्मका कलाकार स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको दृश्य खिचिएको थियो ।

आमा सरस्वती गितादेवी फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् । उनले अघिल्लो फिल्म ‘छक्का पञ्जा’को पनि निर्देशन गरेकी थिइन् । पहिलो भागका अधिकांश कलाकार दोहोरिएको फिल्ममा पर्दा पछाडि देखिँदै आएका केही नाम भने छुटेका छन् । यो ब्यानरले बनाएका अघिल्ला हिट फिल्म ‘छ एकान छ’, ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’मा कार्यकारी निर्माता रहेका निर्मल शर्मा यो फिल्ममा छैनन्  । उनको स्थानमा यस पटक विकास आचार्य आएका छन् । ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’का संगीतकार राजनराज शिवाकोटी पनि फिल्ममा संगीतकारको भूमिकामा अटाएका छैनन् । फिल्ममा यस पटक किरण कँडेलले संगीत दिएका छन् । त्यसैगरी ‘६ एकान ६’ र ‘छक्का पञ्जा’ को छायांकन गरेका पुरुषोत्तम प्रधानको साटो फिल्म दीर्घ गुरुङले खिच्दैछन् । अभिनयसँगै निर्माणमा पनि साथ दिँदै आएका धुर्मुस–सुन्तली पनि यो फिल्ममा अटाएका छैनन् ।

निर्देशक दीपाले काठमाडौं, चित्लाङलगायतका स्थानमा एक महिनामा फिल्मको छायांकन सक्ने बताइन् । ‘फिल्मको नाम अघिल्लो फिल्मको सिक्वेलजस्तो देखिए पनि कथा फरक किसिमको छ,’ उनले भनिन्, ‘भिन्न कथामा बनाउन लागेकाले पनि दर्शकले फिल्म हेर्दा नयाँ स्वाद पाउनु हुनेछ, ’ प्रस्तुतकर्ता तथा कलाकार दीपकराज गिरीले अघिल्लो फिल्ममा भन्दा नयाँ कुरा फिल्ममा दर्शकले देख्ने बताए । 

फिल्ममा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, किरण केसी, प्रियंका कार्की, वर्षा राउतसँगै स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय रहनेछ । जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई , सुमन गिरी ‘भान्जा’को लगानी रहेको फिल्ममा विकास आचार्य र सामीप्यराज तिमल्सेनाको कथा, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको पटकथा तथा संवाद, रोशन श्रेष्ठको द्वन्द्व र दीर्घ गुरुङको छायांकन हुनेछ । 

गत वर्ष रिलिज भएको फिल्म ‘छक्का पन्जा’ले १५ करोड ग्रस कलेक्सन गरेको थियो । फिल्म ‘छक्का पञ्जा २’ दशैंको छेको पार्दै आगामी असोज ११ गतेबाट अल नेपाल रिलिज हुनेछ ।

 

प्रकाशित: १७ वैशाख २०७४ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App