७ वैशाख २०८१ शुक्रबार
समाज

कोटेश्वर सडक बेहाल

कोटेश्वर चोकमा खानेपानीको भल्ब बिग्रिएर हिलाम्मे सडक ।

काठमाडौं – कोटेश्वरको मुख्य चोकमा खानेपानीको पाइप फुटेर सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । पाइप फुटेको महिनौं भइसक्यौ, जसले गर्दा ठूलो सँख्यामा सवारीसाधन तथा बटुवाको आवातजावात हुने सडकमा दिनहुँ सवारी फस्ने समस्या देखिएको छ । कोटेश्वर चोक यति बेला हिलाम्मे पानीले जलमग्न भएको छ । 

कोटेश्वर चोकका प्रल्हाद श्रेष्ठले महिनौंंदेखि खानेपानीको पाइप फुटेर सडक बेहाल बन्दा समेत कसैले वास्ता नगरेको गुनासो गरे । ‘पाइप फुटेर सडक आहालजस्तै भइसक्यो । दिनहुँ गाडी फसिरहेका हुन्छन्,’ उनले भने, ‘बटुवालाई दुःसाध्य छ । तर, सरोकारवालाले भने बेवास्ता गरिरहेको छ ।’ 

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले पाइप फुटेर पानीको निकास नहुँदा चोक हिलाम्मे भएको बताए । ‘चोक जलमग्न हुँदा सर्वसाधारण तथा सवारी आवागमनलाई समेत प्रभावित गरिरहेको छ,’ उनले भने, ‘कहिलेकाहीँ प्रहरी नै पुगेर हिलोमा फसेका सवारी निकाल्ने गर्छन् ।’ महानगरीय प्रहरी प्रभाग कोटेश्वर अगाडि नै सडकमा पानी जमेको छ । जसले प्रहरी कार्यालयमा पुग्ने सेवाग्राहीलाई हैरान पारेको छ । प्रहरी निरीक्षक पाण्डेले पाइपलाइन मर्मतका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयलाई बारम्बार खबर गरिरहेको बताए । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता सतिशकुमार दत्तले कोटेश्वर चोकमा खानेपानीको भल्ब बिग्रिएर पानी निस्किएको स्वीकार गरे । ‘च्याम्बरभित्रको भल्ब बिग्रिएर सडकमा पानी जम्मा भएको हो । च्याम्बर खोलेरै मर्मत गर्नुपर्ने भएकाले केही समय लागेको हो,’ उनले भने, ‘रातभर काम गरेर भए पनि १० दिनभित्रै मर्मत गर्नेछौं ।’ 

तीनकुनेमा ढल बिच्छ्याएको सडक कालोपत्रे भएन
तीनकुने सडक खण्डमा ढल बिछ्याउनका लागि खनिएका सडक महिनौंदेखि अलपत्र छ । मेलम्चीको पाइप बिच्छ्याउन खनिएको सडकको समेत मर्मतसम्भार भएको छैन । तीनकुनेका असिम शर्माले ढल बिछ्याउन तीनकुनेको सडक खनिएको महिनौ बितिसक्दा पनि कालोपत्रे नभएको बताए । उनले भने, ‘ तीनकुने क्षेत्र घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे भइरहेको छ । तर, कसैको ध्यान पुगेको छैन ।’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले तीनकुने सडक खण्डमा पाइप बिच्छ्याएर कालोपत्रे गर्ने काम थालिसकिएको बताए । 

प्रकाशित: १७ वैशाख २०७४ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App