coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बन्ने भयो बाहिरी चक्रपथ

बाहिरी चक्रपथको स्केच । स्रोत : बाहिरी चक्रपथ आयोजना

काठमाडौं – डेढ दशकदेखि कागजमा सीमित बाहिरी चक्रपथ निर्माण कार्य अघि बढ्ने भएको छ । सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथअन्तर्गत ६.६ किलोमिटर सतुंगल–गाम्चा–चोभार खण्डको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बुधबार स्वीकृत गरेसँगै निर्माण कार्य अघि बढ्न लागेको हो ।

लामो समयदेखि डिपिआर स्वीकृत नहुँदा बाहिरी चक्रपथ बन्ने कि नबन्ने विषय अन्योलमा थियो । सहरी विकास मन्त्रालयका सहसचिव डा.रमेशप्रसाद सिंहले बाहिरी चक्रपथको डिपिआर स्वीकृत भएसँगै निर्माण कार्यले गति लिने बताए । ‘डिपिआरको स्वीकृतिसँगै निर्माणको बाटो खुलेको छ,’ उनले भने, ‘अब छिट्टै राजपत्रमा सूचना निकालेर कामलाई अघि बढाइनेछ ।’ 

'बाहिरी चक्रपथले उपत्यकाभित्र गाउँ र सहर जोड्न पुलको काम गर्नेछ । यसले तराई जोड्ने फास्ट ट्र्याकलाई छुने हुँदा यातायात पनि सहज बन्नेछ ।'

काठमाडौं उपत्यका विकास प्राधिकरणले चैत २९ गते सतुंगल–चोभार सडक खण्डको संशोधित डिपिआर मन्त्रालयमा बुझाएको थियो । बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुवप्रसाद सापकोटाले बाहिरी चक्रपथको जग्गा रोक्का गरेर कामलाई अगाडि बढाउने बताए । उनले भने, ‘यो खण्डको निर्माण कार्य सम्भवतः दुई वर्षभित्रै सम्पन्न गर्नेछौं ।’ उक्त सडक खण्ड निर्माणका लागि ६ अर्ब रुपैयाँ छुट्याएको छ । एक किलोमिटर सडकका लागि १ अर्ब रुपैयाँ आवश्यक पर्ने बताइएको छ । 

जग्गा एकीकरणमार्फत बहिरी चक्रपथको यो खण्ड निर्माण गर्न लागिएको हो । बाहिरी चक्रपथ क्षेत्रका जग्गाधनीले केही समयका लागि सरकारलाई जग्गा हस्तान्तरण गर्नुपर्छ ।  ‘सबै जग्गाको एकीकरण गरेर बस्ती बसाल्नेछौं । जसले स्थानीयलाई विस्थापित हुनुपर्ने समस्या आउँदैन,’ अधिकृत सापकोटाले भने ‘आयोजनाले घर, बाटो, ढल, खानेपानी, बिजुली र खुला क्षेत्रको डिजाइन गरेर जग्गा स्थानीयलाई नै हस्तान्तरण गर्नेछ ।’ जग्गा एकीकरण गर्दा जग्गाधनी विस्थापित पनि हुन नपर्ने र सरकारले पनि मुआब्जा दिनु नपर्ने भएकाले  चक्रपथ विस्तारमा समस्या नआउने उनको भनाइ छ । जसमा सर्वसाधारणको ३५ प्रतिशत जग्गा चक्रपथ क्षेत्रमा सडक तथा अन्य पूर्वाधारमा लाग्ने छ । ६५ प्रतिशत जग्गा व्यवस्थित सहरीकरण गरेर जनतालाई फिर्ता गरिने छ । पहिलो चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनी रहेका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त डा.भाइकाजी तिवारीले बाहिरी चक्रपथको  विस्तारले सडक मात्रै बन्ने नभएर व्यवस्थित सहरीकरणको आधार तयार हुने बताउँछन् ।  ‘बाहिरी चक्रपथले उपत्यकाभित्र गाउँ र सहर जोड्न पुलको काम गर्नेछ,’ उनले भने, ‘तराई जोड्ने फास्ट ट्र्याकलाई छुने हुँदा यातायात सहज बन्नेछ ।’

काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली २०६८ को नियम १३ मा उल्लेख भएअनुसार न्यूनतम क्षेत्रफल भएको दुई आना दुई पैसाभन्दा कम क्षेत्रफलमा घर बनाउन नपाइने भएकाले त्यस्ता जग्गा हुने घरधनीले बिक्री प्लटबाट सस्तो मूल्यमा जग्गा खरिद गर्न वा चलनचल्तीको मूल्यअनुसार नै बिक्री गर्न पाउने प्रावधान राखिएको छ । ७१.९३ किलोमिटरको बाहिरी चक्रपथ काठमाडौंमा ३५.०८, ललितपुरमा १५.८०  र भक्तपुरमा २१.०५ किमी क्षेत्रलाई समेटेर बनाइनेछ । बाहिरी चक्रपथले काठमाडौं जिल्लामा संतुगल–चोभार, गाम्चा सतुंगल, नैकाप, पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुनडाँडा, नेपालटार, गोंगबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल र थलीडाँछी जोड्नेछ । भक्तपुरमा भने गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमीबाट दधिकोट हुँदै अघि जानेछ ।  त्यस्तै, ललितपुरको लुभु, सिद्धिपुर, ठैँब, धापाखेल, ठेचो, छम्पी, खोकना र बुङमती हुँदै चोभार जोड्नेछ । सडकको चौडाइ ५० मिटरको हुनेछ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा गत ०६० मा बाहिरी चक्रपथको कल्पना गरिएको थियो तर डिपिआर बन्नुबाहेक अरु काम भएन ।

 बाहिरी चक्रपथको ५० मिटर अधिकार क्षेत्रसहितको मूल सडकको सम्पूर्ण निर्माण खर्च नेपाल सरकारबाट हुने जनाएको छ ।  ५०० मिटर (दायां–बायां २५०–२५० मिटर सडकको किनारबाट) चौडा क्षेत्रमा जग्गा एकीकरण प्रक्रियाद्वारा व्यवस्थित सहरीकरण गरिने छ । ८ लेन सडकसहित साइकल लेन, हरियाली बेल्ट, फुटपाथ तथा आपांगमैत्री पेटीको समेत व्यवस्था गरिनेछ ।
 

प्रकाशित: १७ वैशाख २०७४ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App