coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दलीय विवादले संसदमा अन्योल

काठमाडौं- व्यवस्थापिका संसद्को कार्यसूचीमा रहेको बजेटसम्बन्धी विधेयक पारित गर्ने/नगर्ने दलको विवाद समाधन नभएपछि सभामुख ओन्सरी घर्ती मगरले एकैपटक अविश्वास प्रस्तावमा छलफल हुने गरी बैठक बोलाउने निर्णय गरेकी छन्।

अविश्वास प्रस्तावमा छलफल हुने गरी आगामी साउन ६ गतेलाई बैठक बोलाएपछि बजेटसम्बन्धी विधेयक केही समय पछाडि धकेलिएका छन्। केही दिनदेखि संसद्को कार्यसूचीमा ऋण उठाउने र कर संकलन गर्ने विधेयक पारित हुने तयारीमा थिए। संसद्मा समर्थन फिर्ता लिएको प्रस्ताव दर्ता गरेको अवस्थामा बजेटमा पारित गर्न सहयोग गर्दा सरकारले बहुमत कायम रहेको  दाबी गर्ने देखेपछि विपक्षमा रहेका दलले संसद् चल्न नदिने तर्क गरेपछि सभामुखले यस्तो निर्णय गरेकी हुन्।

शुक्रबार संसद् सचिवालयले प्रकाशित गरेको सूचनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध विश्वास छैन भनी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले दर्ता गराएको संविधानको धारा २९८ र संसद् नियमावलीको नियम १६० अनुसार प्रस्तावमा छलफलपछि मात्र बजेटका अन्य विधेयकमाथि छलफल हुने भएको छ।

संसद् सचिवालयले व्यवस्थापिका संसद्को नियमावली नियम १६० को ३ अनुसार छलफलका लागि बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको सूचना प्रकाशित गरेको थियो। संसद् सचिवालयको यो सूचनापछि सरकार कायम रहेको वा नरहेको निर्णयपछि मात्र बजेट पारित हुने देखिएको छ।

व्यवस्थापिका संसद् भवनमा बुधबार सरकारले जनअपेक्षा अनुसार काम नगरेको भन्दै उनीहरुले सरकारविरुद्ध विश्वास नरहेको भन्दै प्रस्ताव दर्ता गराएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्मा प्रस्ताव दर्ता गराएका थिए। उनीहरुको प्रस्तावमा मोर्चा र संयुक्तलगायत दलको सहमति छ। बुधबार पेस भएको अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, माओवादी र अन्य दलका २ सय ८१ सभासद्ले हस्ताक्षर गरेका छन्।

प्रस्तावका पक्षमा कुल ३ सय ३० सभासद् हुने भए पनि उनीहरु विदेश र जिल्लाबाहिर रहेकाले हाल उपलब्ध भएकाहरुले मात्र हस्ताक्षर गरेका हुन्। कुल  ५ सय ८८ मध्ये एकचौथाइ सभासद्ले अविश्वासको मत जाहेर गरे संसद्बाट त्यसको निर्णय गर्नुपर्ने हुन्छ। त्यही व्यवस्थाअनुसार आगामी संसद् बैठक बोलाइएको हो।

तर सत्तारुढ गठबन्धनले भने सभामुखको कदमलाई दलहरुका बीच द्वन्द्व निम्त्याउने काम भएको टिप्पणी गरेको छ। 'अर्को बैकठका निम्ति नयाँ एजेन्डाका साथ ल्याउने जुन षड्यन्त्र संसद्भित्र गरियो, त्यसले  सहजता नभई द्वन्द्व निम्त्याउने काम भएको छ,' नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने, 'यो अनावश्यक ढंगले निम्त्याइएको छ, अहिले सत्तारुढको नाताले द्वन्द्व गर्न कसैलाई रहर लागेको भए हामी तयार अवस्थामै छौं।'

संसद्मा अविश्वास प्रस्ताव दर्ता नै नभएको अवस्थामा गलत हल्ला फैलाएर संसद् स्थगन गरी सभामुखले भेदभाव गरेको पनि उनले बताए। 'अहिलेसम्म व्यवस्थापिका संसद्को सचिवालयमा अविश्वास प्रस्तावको सूचनामात्र दर्ता भएको छ,' ढकालले भने, 'त्यसले अविश्वास प्रस्ताव ग्रहण गर्न वा परिपक्व हुन सात दिन समय लिने गर्दछ। यो मुलुकमा सरकार छ।'

१६ वटा दलको गठबन्धनबाट सरकार अहिले कायम रहेको पनि उनले बताए। एउटाले केही पहिले छोडेको थियो। अर्कालाई अहिले मन लाग्यो, छोडेको मात्र भएकाले सरकारलाई कुनै फरक नपर्ने उनले बताए।

बहुमत छ कि छैन भन्ने कुरा अविश्वास प्रस्ताव राख्नेले संविधानसम्मत विधि तथा प्रक्रियाबाट त्यसलाई प्रमाणित गरेपछि हुने उनले बताए।

'कुनै पनि ज्योतिषीले बिहान पानी पर्छ भन्दैमा पर्छ भन्ने ग्यारेन्टी हँुदैन, सरकार पनि त्यस्तै भएको हो,' ढकालले भने, 'सरकारले अघि सारेको अर्थसँग आश्रित २५ गते र २९ गतेका लागि भनेर सहमतिमा तोकिएकाले अहिले त्यसबाट भाग्न मिल्दैन।' सूचना टाँसेर शुक्रबार पनि स्थगन भएको आफूले सुनेको उनले बताए।

सभामुखलाई आफूहरुले कार्यविधि अनुसार अघि बढ्न सुझाएको उनले बताए। जुन एजेन्डा सहमतिले तय भएको थियो, त्योभन्दा पृथक रुपमा अघि जाने कुरा भयो भने हाम्रो आपत्ति रहन्छ भन्ने जानकारी सभामुखलाई गराएका आफूहरुले गराएको उनले बताए। तर त्यसविपरीत दलहरुका बीच कायम समझदारीलाई झन् दुरी बढाएर द्वन्द्व गराउने काम सभामुखबाट भएको टिप्पणी उनले गरे।

तर नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले दलका बीच विवाद भए सभामुखले विशेष अधिकार प्रयोग गर्न पाउने र त्यसलाई सबैले सम्मान गर्नुपर्ने बताए। 

'संसद्को भूमिका कसरी लैजाने, दललाई कसरी मिलाउने भन्ने काम सभामुखकै हो,' पौडेलले भने, 'एकातिर अविश्वास प्रस्ताव दर्ता भएको छ भने अर्कातिर बजेटसम्बन्धी केही विधेयक छन्।'

 त्यसमा भोट हाल्दा विश्वास गरेको देखिने भन्ने विवाद दलहरु बीच कायम हुँदा सहमति नभएको हो र सभामुखले विवादभन्दा सहमतिमै सदन अघि बढाउने प्रयास गरेको उनले बताए। बजेट सबैलाई चाहिन्छ तर त्यसको पक्षमा भोट हाल्दा सरकारलाई समर्थन गरेको भनिदिने हो कि भन्ने भएकाले पहिला अविश्वास प्रस्तावलाई टुंग्याउने प्रयास सभामुखको हुनसक्ने पौडेलले बताए।

पार्टीका बीचमा कुरा नमिलेको विषयमा निर्णय गर्ने अधिकार सभामुखको भएकाले नेपाली कांग्रेसले त्यसको सम्मान गर्ने उनले बताए। सभामुखको विशेषाधिकारलाई चुनौती दिन आवश्यक नहुने पनि उनले बताए।

विवेकले निर्णय गरेको छु :  सभामुख

संसद् स्थगनको सूचना प्रकाशित गरेर सभामुख ओन्सरी घर्ती मगरले सदनमा द्वन्द्व नित्याउने काम गरेको भनी सरकार पक्ष गठबन्धनले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गरेकी छन्।

दलहरुका बीच विवाद हँुदा आफूले आफ्नो विवेक र यसअघिका पुराना अभ्यासलाई अध्ययन गरी आगामी बैठक बोलाएको बताएकी छन्। संसद् स्थगन भएको सूचना प्रकाशनपछि पत्रकारसँग कुरा गर्दै सभामुख घर्ती मगरले आफ्नो विवेकले जे उचित ठान्यो, त्यही गरेको स्पष्ट पारिन्। आफ्नो यो निर्णयलाई लिएर दलहरुले द्वन्द्व निम्त्याउने काम गरेको भनेर अर्थ लगाउन जरुरी नहुने पनि उनले बताइन्।

'नियमावलीमा स्पष्ट व्यवस्था नहुँदा यसलाई आफ्नो विवेकलाई आधार मानेर उचित हुने निर्णय मैले गरेको हुँ,' ओन्सरीले भनिन्, 'दलहरुले असन्तुष्ट हुने ठाउँ होलान् तर मैले कसैलाई भेदभाव हुने गरी निर्णय गरेको छैन।'

'दुई दिन दलहरुका बीच सहमति गराउने प्रयास गरेकी थिएँ तर त्यो सफल हुन सकेन,' उनले बताइन्। तीन दलका नेता आआफ्ना अडानमा कायम रहेका कारण हरप्रयास गर्दा पनि सहमति हुन सकेको उनले बताइन् ।

'दलहरुका बीच दुईथरि मत देखिएपछि मैले यससम्बन्धी पुराना अभ्यास अध्ययन गरेँ,' सभामुख ओन्सरीले भनिन्, 'ती अभ्यास हेर्दा धेरै थरिका नजिर बसेको देखियो। मूल त सरकारविरुद्ध अविश्वासको प्रस्ताव राखेपछि संसद् बैठकमा त्यसमा छलफल गर्ने वा नियमित कार्यसूचीमा गर्ने विषयमा भएका अभ्यास भएको पाइयो।' 

पुराना अभ्यासमध्ये अधिकांशमा सरकारविरुद्ध चुनौती पेस भएको अवस्थामा त्यसको निर्णयका लागि पेश हुने पाइएकाले पनि यो निर्णय लिइएको सभामुखले प्रष्ट पारिन्। अहिलेको नियमावली र संविधानमा यस सम्वन्धी स्पष्ट व्यवस्था गरिएको भए विवाद नआउने तर नहुदाँ विवाद भएको उनले स्पष्ट पारिन्।  दलहरुका विचमा असमझदारी र विवाद आइराख्ने र त्यसले आफ्नो भूमिकालाई विवादमा ल्याउन नसक्ने पनि उनले बताइन्। 'मैले सदनमा सवैलाई समान व्यवहार गरेकी छु' उनले भनिन् 'आगामी दिन गर्ने कामहरुले पनि त्यसलाई पुष्टि गर्ने र विरोध गर्नेहरुले विश्वास गर्नेछन् भन्ने आस गरेको छु।'

प्रकाशित: १ श्रावण २०७३ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App