coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कागजात परीक्षण अनलाइनबाट

काठमाडौं – विभिन्न प्रयोजनका लागि विदेशस्थित नेपाली नियोग र काठमाडौंस्थित विदेशी नियोगमा पेस हुने नेपाली कागजात नक्कली वा सक्कली भएको परीक्षण अब अनलाइनबाटै गर्न सकिने छ । सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले वैशाख १ गतेबाट यो सेवा सुरु गरेको हो ।
 

'वैशाख १ गतेयता प्रमाणीकरण गरिएका काजजात सक्कली वा नक्कली के हुन् भन्ने परीक्षण अनलाइनमार्फत गर्न सकिने छ '   –गेहेन्द्र राजभण्डारी, महानिर्देशक, कन्सुलर सेवा विभाग


‘यही वैशाख १ गतेबाट हामीले प्रमाणीकरण गरेका कागजातको विवरण अनलाइनमा राख्न थालेका छौं । सम्बन्धित निकायले हाम्रो वेबसाइट (डब्लुडब्लुडब्लु डट नेपालकन्सुलर डट जिओभी डट एनपी) मा गइ कागजात सक्कली वा नक्कली के हो प्रमाणीकरण गर्न सक्नेछन्,’ कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले भने, ‘वैशाख १ गतेयता प्रमाणीकरण गरिएका काजजातको मात्र अनलाइनमार्फत सक्कली वा नक्कली के हो भन्ने परीक्षण गर्न सकिने छ।’ 

विभिन्न नियोगमा पेस गर्नुअघि नेपाल सरकारले जारी गरेका कागजात कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नु अनिवार्य हुन्छ । यस्ता कागजात पेस भइसकेपछि सम्बन्धित नियोगलाई शंका लागे विभागलाई सोधिन्थ्यो । दैनिक हजारौं कागजात प्रमाणीकरण गर्ने विभागलाई यस्ता कागजात खोज्न निकै कठिन हुन्थ्यो । तर अनलाइन सेवा सुरु भएपछि भने यस्तो जानकारी कम्प्युटरमा माउसको एक क्लिकमा पत्ता लाग्ने भएको छ । 

‘अब नियोगहरूलाई शंका लागे पेस भएका कागजात विभागले प्रमाणीकरण गरेको हो वा होइन भन्ने पहिचान गर्न हामीलाई पत्र पठाइरहनु पर्दैन । उनीहरू आफैंले शंका लागेका कागजातको वैधानिकता थाहा पाउन सक्नेछन्,’ राजभण्डारीले भने । 

विभागमा दैनिक ७ सय हाराहारीमा सेवाग्राही आउँछन् भने कम्तीमा दुई हजारभन्दा बढी कागजात प्रमाणीकरण गरिन्छ । विभागले सरकारले जारी गर्नेमध्ये १६ थरीका कागजात प्रमाणीकरण गर्छ ।  एक व्यक्तिले २ देखि १२ वटासम्म कागजात विभागबाट एक पटकमा प्रमाणीकरण गर्छन् । 

नेपाली नागरिकताको प्रमाणपत्र, जन्म दर्ता प्रमाणपत्र,  बसाइँसराइ प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नेपाली राहदानी प्रतिलिपि, सवारीचालक अनुमतिपत्र, दस्तखत प्रमाणित/औंठा छाप, नाबालक परिचयपत्र, विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र, सम्बन्ध विच्छेद प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, विविध विषयका प्रहरी प्रतिवेदन, निरोगिता प्रमाणपत्र, व्यवसाय सञ्चालन गर्ने इजाजतपत्रलगायत कागजात विभागले प्रमाणीकरण गर्छ । खासगरी विदेश जाँदा यस्ता कागजात प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।  

‘खासगरी केही व्यक्तिले हाम्रो जस्तै छाप र हस्ताक्षर प्रयोग गरी नक्कली कागजात बनाएको भेटिएपछि हामीले सेवाग्राहीलाई सेवा लिन सहज होस् र नक्कली काम गर्ने पक्राउ परुन् भन्ने ध्येयका साथ अनलाइनबाट परीक्षण गर्न सक्ने सेवा सुरु गरेका हौं,’ उनले भने । 

प्रकाशित: १७ वैशाख २०७४ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App