coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चुनावले यार्सा–यात्रा अलमल

दार्चुलाको लेकमा यार्सा संकलन गर्दै स्थानीय

कलेन्द्र सेजुवाल/नेपालगन्ज
प्रेम चुनारा/दार्चुला

डोल्पा, ठूलोभेरीकी सुनीता बुढा विगत वर्षमा यतिबेला यार्सा–यात्रामा जाने तयारीमा हुन्थिन् । जेठ पहिलो साता पाटन पुगेर पाल टाँगिसक्थिन् । यो वर्ष भने उनी चुनावी चटारोमा छिन् । ‘चुनावले गर्दा यार्सा टिप्न जानेबारे सोच्न भ्याएकै छैन,’ अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिवसमेत रहेकी उनले भनिन्, ‘समयमै चुनाव भयो भने त जानुपर्ला, नत्र यो साल त्यत्तिकै रहनेभयो ।’

सुनीताजस्तै थुप्रै यार्सा संकलक अहिले चुनावी चटारोले अलमलमा छन् । सबैभन्दा बढी यार्सा पाइने डोल्पाका लेकमा बर्सेनि सरदर ७०–८० हजार संकलक पुग्छन् । जेठ पहिलो साताबाट पाटन खुला हुने भएकाले उनीहरू वैशाख अन्तिमतिर त्यतातिर लाग्छन् । अहिले भने यो तालिका फेरबदल हुने स्थानीयको भनाइ छ । डोल्पा, दुनैका यार्सा व्यापारी गणेश गुरुङ यो वर्ष चुनावले गर्दा धेरै मान्छे पाटन जानबाट रोकिने बताउँछन् । ‘म पनि के गर्ने भन्ने दोधारमा छु,’ उनले भने, ‘समय एकदमै कम छ, गइहाले पनि भोट हालेर सिधै जानुपर्ने हुनसक्छ ।’

मान्छे पैसा (यार्सा) टिप्न छोडेर भोट हाल्न फर्केलान्जस्तो मलाई लाग्दैन, परिवारको पेट मारेर घरमै बस पनि कसरी भन्ने ?
–गोवद्र्धन काली, सचिव, नेपाली कांग्रेस, दार्चुला  

डोल्पाका पाटनमा ६ नम्बर प्रदेशका साथै छिमेकी ५ र ७ नम्बर प्रदेशका मानिस यार्सा संकलनका लागि जान्छन् । ५ र ७ नम्बर प्रदेशको चुनाव जेठ ३१ गते हुने भएकाले अन्योल  झन् थपिएको छ । सात वर्षदेखि यार्सा टिप्न डोल्पा जाने गरेका रोल्पा, सुलीचौरका जैवान मगर यो साल चुनाव परेकाले नजाने सोचमा छन् । ‘यार्सा टिप्न गए चुनाव छुट्छ,’ उनले भने, ‘यत्रो वर्षपछि हुनलागेको चुनाव छोड्नुभन्दा यार्साको कमाइ नै छोड्नुपर्ला ।’

७ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमा जेठ ३१  गते हुनेगरी सारिएपछि स्थानीय राजनीतिक दलका नेता मतदाता घट्नेमा चिन्तित छन् । ७ नम्बर प्रदेशको दार्चुला र बझाङका लेकमा यार्सा संकलन गर्न जान स्थानीयमा चटारोसँगै अलमल देखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दार्चुलाका पाटनमा जेठ दोस्रो साताबाट यार्सा संकलनका लागि परिपत्र गरेको छ । संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी भुवनेश्वर चौधरीका अनुसार वैशाख २० गतेदेखि यार्सा संकलनका लागि अनुमतिपत्र दिने तयारी भएको छ । जेठ दोस्रो साता पाटन गएका संकलक असार मसान्तसम्म त्यहीं बस्छन् ।

दार्चुलाका ९ मध्ये पाँच स्थानीय तह अपी–हिमाल, व्यास, मार्मा, दुँहु र नौगाड गाउँपालिकाका जनताको प्रमुख आयस्रोत भनेकै यार्सा हो । यार्सा नटिपे परिवारको गर्जो टार्न मुस्किल हुन्छ । एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खड्क बडाल यार्सा टिप्ने सिजनमा चुनाव पर्दा करिब ४० प्रतिशत मतदाता घट्ने बताउँछन् । ‘सरकारले यहाँका जनतामाथि खेलवाड गरेको छ,’ उनले भने, ‘जनता जीविकोपार्जनका लागि यार्सा टिप्न जाने कि आप्mना प्रतिनिधि छान्न भोट खसाल्न बस्ने भन्ने दोधारमा छन् ।’

नेपाली कांग्रेस दार्चुलाका सचिव गोवद्र्धन काली यार्सा टिप्न गएका मतदातालाई भोट हाल्न फर्काउनु निकै चुनौती हुने बताउँछन् । ‘मान्छे पैसा (यार्सा) टिप्न छोडेर भोट हाल्न फर्केलान्जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘हामीले त आग्रह गरिरहेका छौं, तर परिवारको पेट मारेर घरमै बस पनि कसरी भन्ने ?’

यस्तो अवस्थामा लेकमै गएर प्रचारप्रसार गर्न र मतदातालाई फर्काउन उम्मेदवारलाई पनि समस्या हुन्छ । अपी हिमाल गाउँपालिकामा  अध्यक्षका उम्मेदवार लोकेन्द्र लोथ्याल लेकबाट मतदाता बोलाउन उम्मेदवारलाई नैतिक संकट पर्ने बताउँछन् । 

विद्यालय बन्द नगर्न निर्देशन
जिल्ला शिक्षा कार्यालय दार्चुलाले यस वर्ष यार्सा संकलनका लागि  विद्यालय बन्द नगर्न निर्देशन दिएको छ । जिल्ला शिक्षा अधिकारी खगेन्द्रबहादुर सिंहले नियमविपरीत विद्यालय बन्द गरेको पाइए कडा कारबाही गरिने बताए ।

विद्यार्थी र शिक्षक यार्सा टिप्न पाटन जाँदा विद्यालय घोषित तथा अघोषित रुपमा बन्द हुन्छन् । विशेषगरी दार्चुलाका सुनसेरा, हिकिला, खार, सिप्टी, लटिनाथ, खण्डेश्वरी स्रोतकेन्द्रअन्तर्गतका विद्यालय बन्द हुने गरेका छन् ।

 

प्रकाशित: १७ वैशाख २०७४ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App