८ वैशाख २०८१ शनिबार
खेल

तेस्रो हुने प्रतिस्पर्धा रोचक

मड्रिड(एपी)– सेभियाले बिहीबार सेल्टा भिगोमाथि जित हासिल गरेसँगै स्पेनिस ला लिगाको तेस्रो स्थानमा रहेर सिजन अन्त्य गर्दै आगामी सिजनको च्याम्पियन्स लिगलाई सोझै छानिने प्रतिस्पर्धा थप रोचक बनेको छ।

सेभियाले सेल्टामाथि २–१ को जित हासिल गरेपछि तेस्रो स्थानमा एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ। दुवैको समान ६८ अंक भए पनि एट्लेटिको हेड टु हेडमा माथि छ । तर च्याम्पियन्स लिगको सेमिफाइनललाई पनि छानिएका कारण एट्लेटिकोको प्राथमिकता दुई मुख्य प्रतियोगितामा बाँढिएको छ ।

समान ७८ अंकका साथ शीर्ष दुई स्थानमा रहेका बार्सिलोना र रियाल मड्रिडमध्ये एकले ला लिगाको उपाधि जित्ने पक्काजस्तै छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेकाले रियाल अझै सहज अवस्थामा छ । ला लिगाबाट शीर्ष तीन टोली सोझै आगामी सिजनको च्याम्पियन्स लिगलाई छानिन्छन् भने चौथो हुने टोलीले प्लेअफ खेल्नुपर्नेछ ।

केही समयअघिसम्म पनि सेभिया एट्लेटिकोलाई ९ अंकले पछि पार्दै तेस्रो स्थानमा थियो । तर पछिल्ला पाँच खेलमा लगातार विजयविमुख भएपछि टोली कठिन अवस्थामा पुगेको हो । पछिल्ला पाँचमध्येको एक खेलमा सेभियाले मुख्य प्रतिद्वन्द्वी एट्लेटिकोलाई ३–१ को नतिजा सुम्पिएको थियो । सेभिया लगातार असफल भइरहँदा एट्लेटिकोले भने पछिल्ला आठमध्ये सात खेल जितेको थियो । मंगलबार घरेलु मैदानमा भिलारिएलसँग १–० ले पराजित हुनुअघिसम्म एट्लेटिकोले सेभियामाथि ३ अंकको अग्रतासहित तेस्रो स्थानमा कव्जा जमाएको थियो ।

सेभियाले फर्ममा पुनरागमन जनाउँदै तेस्रो स्थानमाथिको दाबेदारी बलियो बनाउने क्रममा बिहीबार जोआक्विन कोरिया र विसाम बेन याडरको गोलमा तीन अंक पक्का ग¥यो । इयागो आस्पासको पेनाल्टी गोलमा एकसमय खेल १–१ को बराबरीमा ल्याउँदै पुनरागमनको प्रयास गरेको सेल्टाका पाब्लो हर्नान्डेजले रातो कार्ड सामना गरेपछि टोली पछिल्लो ३२ मिनेट १० जनामा सिमित भएको थियो ।

‘तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा यो हाम्रा लागि महत्वपूर्ण खेल थियो,’ सेभियाका प्रशिक्षक जर्ज साम्पाओलीले भने, ‘हामीले एट्लेटिकोलाई भेट्टाएका छौं । अव सोमबारका लागि हामी केन्द्रित भइसक्यौं।’

सोमबार सेभियाले मालागामा खेल्नेछ भने एट्लेटिकोले शनिबार लस पाल्मसको भ्रमण गर्नेछ।

स्पेनिस ला लिगामा बिहीबारै सम्पन्न अर्को खेलमा एथलेटिक बिल्बाओले रियाल बेटिसमाथि २–१ को जित हासिल गर्दै आगामी सिजन युरोपा लिग खेल्ने आशा जीवित राखेको छ । जितपछि रियाल सोसिडाडलाई १ अंकले पछि पार्दै बिल्बाओ छैटौं स्थानमा उक्लिएको छ । ला लिगाबाट पाँचौं र छैटौं हुने टोलीले आगामी सिजनको युरोपा लिग खेल्न पाउँछन् ।

घरेलु मैदानमा एरिट्ज एडुरिज र इकर मुनियानको गोलमा ६० मिनेटमित्र २–० को अग्रता लिइसकेको बिल्बाओविरुद्ध बेटिसका रुबेन क्यास्ट्रोले ६३औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए।

प्रकाशित: १६ वैशाख २०७४ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App