७ वैशाख २०८१ शुक्रबार
अन्य

पहेंला दाँत

यशु श्रेष्ठ

आमाले खै के कुरा गर्नु भएको थियो मनोजसँग। मनोज खित्का छोडेर हाँस्यो। उसको अगाडिका सबैजसो दाँत देखिए। उसको दाँत हेर्दै आमाले भनिहाल्नुभयो ‘ओहोहो हेर यिनका दाँत। कति पहेंला भएका त। जति भने पनि दाँत माझ्ने होइन । पछि सबै दाँत किराले खाएर थोते बन्नु पर्दा थाहा होला। अझ किराले खाएका दाँत दुखेर ग्वाँ ग्वाँ रुनु पर्दा बल्ल ठिक हुन्छ।’ आमाले यसो भन्दा उसको हाँसो हरायो । ऊ चुप लाग्यो । चुप लाग्दा उसको ओठले दाँत छोपिए । उसलाई ओठले दाँत छोपिएकै मन पर्दथ्यो ।

‘यसको दाँत त कति पहेंलो । दाँत माझ्दैनस् ?’ साथीहरुले पनि यसो भन्थे ।

‘मान्छेहरुले पनि घृणा गर्ने । रोग पनि लाग्ने । दाँत माझेपछि भने सबै ठिक हुने । यो त मैले बुझे तर ... ।’ उसको मन दुःखी भयो ‘तर मेरो पीडा कसले बुझिदिने ? दाँत माझ्दा आफ्नो त...।’ यस भन्दापछिको कुरा उसलाई सम्झन पनि मन लागेन ।

धेरै जनाले दाँत माझेको हेर्दथ्यो ऊ । दाँत माझेर पिचिचिचि मन्जनको सेतो फिँज फालेको पनि देख्थ्यो । तर उसको त दाँतबाट रातो रगत पो आउथ्यो । उसलाई दाँत माझ्दा धेरै डर लाग्थ्यो । त्यसकारण ऊ दाँतै माझ्दैन थियो ।

‘मैले दाँत माझ्दा, मेरो दाँतबाट चाहिँ किन रगत आएको होला त ?’ हिजोआज झनै चिन्ताले सताउन थालेको थियो उसलाई । ऊ पहिलेदेखिकै कुरा सम्झन्थ्यो ‘आमाले मलाई पहिला पहिला पनि दाँत माझ्न भनिरहनुहुन्थ्यो । मलाई साह्रै अल्छि लाग्दथ्यो दाँत माझ्न । सायद दाँतबाट रगत आउने भएर, दाँतले नै नमाझ भनेकोले होला कि ?’ उसले अझै सम्झियो ‘एकदिन आमाले साह्रै कर गर्नु भएकोले दाँत माझेँ । बाफ रे ! दाँत माझेर फिँज फाल्दा त रगतै रगत पो आयो । त्यसदिनदेखि दाँत माझ्नै छोडिदिएँ । दाँत नमाझे पछि रगत आएन । ढुक्क भएँ । तर अब अरुको अगाडि हाँस्दा पनि फोहोरी दाँत भनेर घिन मान्ने भैसके । म के गरौं ?’ उसलाई साह्रै पीर पर्न थाल्यो ।

‘अरुलाई सोधौं, पहेंलो दाँत भन्दा पनि फोहोरी कुरा होला दाँतबाट रगत आउनु । अरुले झन् घिन मान्लान् ।’ यो कुराको झन् ठूलो डर थियो उसलाई ।

‘मनोज दाँत माझ है दाँत माझ ।’ हिजोआज झनै कर गर्न थाल्नुभयो आमाले । उहाँले बुरुसमा मन्जन राखेरै दिनथाल्नुभयो । ‘खै दाँत माझेयौ कि माझेनौ ?’ दाँत ङिच्च गर्न लगाएर हेर्नुहुन्थ्यो । उसले दाँत नमाझेको देखेपछि आफ्नै अगाडि राखेर दाँत माझ्न भन्नुहुन्थ्यो । ऊ ‘नाईँ नाईँ । तपाईँको अगाडि दाँत माझ्दिनँ । आफैँ माझ्छु ।’ भन्दै खुरुरुरु भाग्दथ्यो ।

दिनका दिन आमाले कर गर्न थाल्नु भएपछि लुकेर दाँत माझ्न थाल्यो मनोजले । मन्जनको फिँज फाल्दा रगत आएपछि भने उसलाई धेरै डर लाग्दथ्यो । रुनै मन लाग्दथ्यो । आमाले दाँत माझ्न कर गरेको देखेर आमासँग पनि रिस उठ्दथ्यो । तर दाँत नमाझी उसलाई सुखै थिएन । करबल ऊ दाँत माझ्थ्यो ।

एक दिन । दुई दिन । तीन दिन । उसले लुकी लुकी दाँत माझ्यो । मन्जनको फिँज रातो भएको देखेर साह्रै रुन मन लाग्यो । तर चौथो दिन, अलि कम रगत आएको जस्तो लाग्यो उसलाई । उसले फेरि बुरुसमा मन्जन राखेर दाँत माझ्यो । अहिले त झनै कम रगत आएको जस्तो लाग्यो । उसको अनुहार खुसीले उज्ज्यालो भयो ।

भोलिपल्ट आमाले भन्नुभन्दा अगाडि नै दाँत माझ्यो उसले । आज त रगत थोरै, सेतो फिँज धेरै देख्यो । ‘आहो दाँत माझिरहे पछि त रातो फिँज हराउँदै गयो त !’ ऊ आफै छक्क प¥यो । उसलाई फेरि फेरि दाँत माझ्न मन लाग्यो ।

 दाँत माझिसकेपछि ङिच्च गर्दै आमालाई देखायो उसले । ‘हेर यस्ता राम्रा दाँतलाई नमाझेर पहेंलो बनाएर राख्थ्यौं । कति राम्रा भए अहिले त ।’ आमाले प्रशङ्सा गर्नुभयो ।

‘म त फेरि दाँत माझ्छु ।’ ऊ फेरि दाँत माझ्न ठिक प¥यो ।

‘दाँत माझेको माझेकै गरेर राम्रा हुने हो र ? ठिक समयमा पो माझ्न पर्छ । बिहान, बेलुकाको खाना खाए पछि । गुलियो, दाँतमा अड्किने किसिमका खानेकुराहरु खाए पछि दाँत माझ्ने गर त । त्यसै राम्रा हुन्छन् तिम्रा दाँत ।’ आमाले भन्नुभयो ।

‘ओहो कहिले दाँत माझ्ने बेला होला ?’ उसलाई दाँत माझ्ने बेला छिटो आइदिए पनि हुने नि भनेको जस्तो लाग्यो ।

उसले साथीहरुलाई पनि आफ्नो दाँत देखायो । ‘तेरो पहेंला दाँत त सेता पो भएछन् ।’ साथीहरुले पनि उसको दाँतको प्रशङ्सा नै गरे । उसलाई झन् खुसी लाग्यो ।

अब ऊ लुकेर दाँत माझ्दैनथ्यो । अझ दाँत माझ्दा निस्केको सेतो फिँज अरुले पनि देखून् भनेर पिचिचिचि गरेर फाल्दथ्यो । अनि, आफ्ना सेता दाँत देखाउनलाई नै ऊ कुरा गर्दा पनि हाँसी हाँसी कुरा गर्दथ्यो ।

प्रकाशित: १६ वैशाख २०७४ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App