coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुलुकभरि सिअाइबीको छापा, १४ नक्कली डाक्टर पक्राउ

काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आशंकामा छानबिनका लागि वीरगन्जबाट नौ, भरतपुरबाट तीन र जनकपुरबाट दुई जनालई शुक्रबार नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पक्राउ गरिएका नौ डाक्टरलाई काठमाडौंतर्फ लगिएको छ।

सादा पोसाकमा रहेका सिआइबीका प्रहरीले बिहान ९ देखि १० बजेको बीचमा वीरगन्जका बेग्लाबेग्लै स्थानबाट नौ डाक्टरलाई नियन्त्रणमा लिएको हो ।

सिआइबीको टोलीले काम गरिरहेका डाक्टरहरूलाई छापामार शैलीमा नियन्त्रणमा लिएको मेडिकल एसोसिएसन नारायणी अञ्चलका उपाध्यक्ष डा. प्रमोदकुमार सर्राफले बताए । कुशराज गिरी, सरोज सिंह, पन्नालाल पटेल, अरुणकुमार गुप्ता, दिनेश साह, रहुल्लाह, इरसादुल अहमद, निमेषरमण पाल र रामकुमार प्रधानलाई सिआइबी टोलीले पक्राउ गरेको हो । ती चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंकामा छानबिन गर्न सीआईबीको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ।

डा. सरोजकी श्रीमति डा. मोनिका सिंहले विनापुर्जी चिकित्सकहरूलाई पक्राउ गरिएको र पक्राउको कारण नखुलाइएको भन्दै विरोध गरेकी छन् । ‘सर्टिफिकेटबारे छानबिन गर्नु छ भने हामी आफैं उपलब्ध गराइदिन्थ्यौं, तर अपहरण शैलीमा समातेर लगियो, एउटै क्लिनिकभित्र बसेकी मैले पनि उहाँ (पति) लाई समातरेर लगेको थाहै पाइनँ,’ उनले भनिन्, ‘कस्तो शैली हो प्रहरीको ? यो गम्भीर दुव्र्यवहार हो।’

चिकित्सक पक्राउ विरोधमा नारायणी उपक्षेत्रीय अस्पताल, नेसनल मेडिकल कलेजलगायत वीरगन्ज क्षेत्रमा सञ्चालित सबै अस्पतालले ओपीडी (बहिरंग विभाग) सेवा बन्द गरे । चित्तबुझ्दो जबाफ नआए सम्पूर्ण अस्पतालको आकस्मिक सेवासमेत बन्द गर्ने चेतावनी वीरगन्जका डाक्टरहरूले दिएका छन्। पक्राउको विरोध जनाउन जिल्ला प्रहरी कार्यालय पुगेका डाक्टरहरूले त्यहाँ चर्को नाराबाजी गरे । प्रहरी नायब उपरीक्षक फिरोज बस्नेत नेतृत्वमा यहाँ आएको टोलीले पक्राउ चिकित्सकलाई पौने ४ बजे ना५ख १७५८ नम्बरको बसमा राखेर काठमाडौंतर्फ लगेको छ । नेपाल चिकित्सक संघले पक्राउ शैलीप्रति विरोध जनाएको छ ।

संघ नारायणी अञ्चलका पूर्वअध्यक्ष डा. रवीन्द्र सिंहले चिकित्सा क्षेत्रमा प्रहरीबाट अभद्र व्यवहार सह्य नहुने प्रतिक्रिया दिए । उनले भने, ‘छानबिनप्रति विमति होइन, पक्राउ शैलीप्रति गम्भीर आपत्ति छ ।’ जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले केन्द्रबाटै आएको सीआईबी टोलीले चिकित्सकहरूलाई पक्राउ गरेकाले आफूलाई यस विषयमा जानकारी नभएको बताए । ‘सीआइबी टोलीले ९ जना टाक्टरलाई यहाँबाट लगेको हो,’ उनले भने, ‘मैले बताउन सक्ने यत्ति नै हो ।’ पक्राउकोे कारण पनि उनले बताएनन् । ओपिडी सेवा बन्द गरेर विरोधमा उत्रिएका विभिन्न अस्पताल सञ्चालक, चिकित्सक, कर्मचारी, औषधि व्यवसायीले पक्राउ विरोधमा नाराबाजी गरेका थिए ।

सीआइबी टोलीले नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा चितवनको भरतपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार चिकित्सक सुनील आचार्य, रजनी अग्रवाल र राजन पुरीलाई सिआइबी टोलीले समातेको हो । उपरीक्षक कुँवरका अनुसार तीनै जनालाई भरतपुरको प्रगति पोलिक्लिनिकबाट सीआइबी टोलीले छानबिनका लागि भन्दै नियन्त्रणमा लिएको हो । उनीहरू भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा पनि कार्यरत रहेको प्रहरी भनाइ छ । ‘काठमाडौंबाट आएको सिआईबी टोलीले समाएको हो । उनीहरूलाई  काठमाडौं लगिने छ,’ कुँवरले भने ।

सिआइबी टोलीले जनकपुरबाट दाँत रोग विशेषज्ञ रवि पाण्डे र गाइनोकोलोजिस्ट रामजी यादवलाई पक्राउ गरेको छ । सिआईबीले निजी क्लिनिकबाट दुवै चिकित्सकलाई  पक्राउ गरेको धनुषा प्रहरी प्रमुख एसपी रामदत्त जोशीले जनाए । उनीहरू जनकपुर अञ्चल अस्पतालमा पनि काम गर्थे।

(रितेश त्रिपाठी वीरगन्ज, रमेशकुमार पौडेल चितवन र सुरेश यादव जनकपुरको रिपोर्ट)

प्रकाशित: ४ असार २०७३ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App