coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अनुदानको इन्धन ढुवानी भाडामा विवाद

चीनबाट अनुदानको इन्धन आयात गर्दाको ढुवानी विषयमा आयल निगमसँग समझदारी कायम नहुँदा ट्यांकर व्यवसायीले रकम भुक्तानी पाएका छैनन् ।

निगमले दिने गरेको र ट्यांकर व्यवासायीले माग गरेको रकममा निकै फरक परेपछि करिब साढे ५ महिना बित्नै लाग्दा पनि ढुवानी भाडा भुक्तानी नभएको हो । ट्यांकर व्यवसायीका अनुसार केरुङबाट ढुवानी गर्दा पूर्वाधारको हिसाबले धेरै कठिनाइका कारण भाडा (एउटा ट्यांकरलाई करिब ४० हजार रुपैयाँ) दिने सहमति भएको थियो ।

तर, निगमले सहमति विपरित १८ हजार ६ सय रुपैयाँ मात्रै भुक्तानी गर्न खोजेपछि विवाद बढेको हो ।

‘बाटो धेरै जोखिम भएकाले कम्तीमा ४० हजार दिने सहमति भएको थियो तर निगमले एकलौटी रूपमा निर्णय गर्दै १८ हजार ६ सय रुपैयाँको खाता थानकोट डिपोमा पठाएको छ,’ ट्यांकर ढुवानी व्यवसायी संघ वाग्मतीका अध्यक्ष वासु दाहालले भने, ‘निगमका गतल निर्णयका कारण ट्यांकर व्यवसायीहरूले ढुवानी भाडा लिएका छैनन् ।’

नाकाबन्दीका कारण भारतले निगमलाई उपलब्ध गराउँदै आएको इन्धनमा कटौती गरेपछि चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराएको थियो । उक्त पेट्रोल लिनका लागि कात्तिक १३ गते पहिलो पटक १२ ट्यांकर केरुङ हिँडेका थिए । अनुदानमा दिएको पेट्रोल १ सय ३७ वटा ट्यांकरबाट ढुवानी भएको थियो ।

अध्यक्ष दाहालका अनुसार ती सबै ट्यांकरले ढुवानी रकम पाएका छैनन् । संघका अनुसार रक्सौलबाट पेट्रोल ढुवानी गर्दा एउटा ट्यांकरलाई २५ हजार रुपैयाँ दिनुपर्छ । तर, कठिन बाटोबाट ढुवानी गरेको पेट्रोलको ढुवानी खर्च किलोमिटरको आधारमा दिने बताएपछि विवाद देखिएको हो ।

‘ट्यांकर पठाउने बेलामा करिब ३० देखि ४० हजार रुपैयाँ दिने भनेको थियो, अहिले १८ हजार ६ सय मात्रै दिने निर्णय गरेको छ,’ ट्यांकर व्यवसायी उमेश बानियाँले भने, ‘ती रकम ढुवानी भाडा, तेलको खर्च उठ्दैन, ट्यांकर चालकलाई कहाँबाट दिने ।’ निगमले ट्यांकर व्यवसायीमाथि अन्याय गरेको उनले बताए ।

 ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले पनि सबै ट्यांकर व्यवसायीले ढुवानी खर्च नलिएको बताए ।

 ‘निगमले न्यूनतम मूल्य तोकेको छ, ढुवानी गर्दा जति खर्च भयो त्यो रकम पनि उठेन,’ उनले भने, ‘जसले गर्दा व्यवसायीले रकम लिन मानेका छैनन् ।’ उनका अनुसार केरुङबाट ढुवानी गर्दा एउटा ट्यांकरबाट २६ हजार रुपैयाँ खर्च भएको थियो । तर, निगमले भुक्तानी गर्न खाजेको रकमले खर्च उठेन ।

यता निगमले भने वैज्ञानिक फर्मुलाअनुसार ट्यांकरलाई भाडा दिएको र सबै व्यवसायीले रकम भुक्तानी लिइसकेको जनाएको छ ।

प्रकाशित: ४ चैत्र २०७२ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App