७ वैशाख २०८१ शुक्रबार
समाज

अथेन्टिक पन्जाबी स्वाद

ललितपुर पुल्चोकको साझा पेट्रोल पम्पनजिकै श्रीमहल र फलानो क्याफेबीच सहायक सडक छ । मूल सडकबाट करिब ५० मिटरभित्र फराकिलो भित्री सडकको बायाँपट्टि एउटा पुरानो शैलीको घर छ । जस्ताले छाएको, बाहिर प्लास्टर नगरिएको यो घरको बाहिरपट्टि पन्जाबीहरुको जस्तो मोटो जुँगासँगै  ‘मितरन दा ढाबा’ लेखिएको छ । राजमार्गमा गुड्ने ट्रकको जस्तो ढाँचा रहेको यो अथेन्टिक पन्जाबी स्वाद पाइने रेस्टुरेन्ट हो । स्वादका पारखीका लागि यो एउटा गन्तव्य हुन सक्छ ।

भारत पन्जाबको ढाबाको झझल्को दिने यो रेस्टुरेन्ट एकदमै झकिझकाउ र फ्यान्सी त छैन, तर कलात्मक, सफा र चिटिक्क परेको छ । काठको ढोकाबाट छिर्दाछिर्दै दायाँतर्फ काउन्टर छ भने बायाँतर्फ बस्नका लागि टेबुल र कुर्सी सजाइएको छ । पांग्रामाथि राखिएको ‘ठेका’ बारले पन्जाबी ढाबाको झल्को दिन्छ । त्यहाँ पुग्नासाथ मुस्कानसहित अर्डर लिन आइपुग्ने वेटरले टेबलमा पन्जाबी शैलीको जुंगा भएको कागज टेबलमा राखिदिन्छन् ।

यो रेस्टुरेन्ट खुलेको एक वर्ष पनि भएको छैन । दिलीप डंगोलले सञ्चालन गरिरहेको यो रेस्टुरेन्टको विशेषता भनेकै पन्जाबी स्वाद हो । यहाँ विशेषगरी नेपाल र भारतमा धेरै चल्ने परिकार पाइने दिलीप बताउँछन् ।

‘यहाँको स्वाद एकपल्ट चाखेका ग्राहक पुनः आउँछन् । फरक–फरक खालका खानेकुराको स्वाद चाख्न चाहनेहरु नियमित आउँछन् । हामी अथेन्टिक पन्जाबी स्वाद पस्किन्छौँ,’ उनी भन्छन् ।

यो ढाबामा परिकार बनाउने तरिका नै फरक भएकाले स्वाद पनि फरक र विशेष छ । अथेन्टिक इन्डियन स्वाद दिन परिकारका लागि आवश्यक मसला पनि भारतबाटै ल्याउने दिलीप बताउँछन् ।

एकपटकमा ५० ग्राहक अट्न सक्ने यो रेस्टुरेन्टबाहिर पर्याप्त मात्रामा पार्किङ स्पेस पनि छ । यसले गर्दा मानिसलाई गाडी वा मोटरसाइकल कहाँ पार्किङ गर्ने भन्ने तनाव हुँदैन । मूल सडकनजिकै भएकाले यहाँ आउन सार्वजनिक सवारी प्रयोग गर्न सकिन्छ ।

रेस्टुरेन्टभित्रको वातावरण शान्त छ । यहाँ खासगरी साँझमा ग्राहकको भीड हुन्छ । पारिवारिक वातावरण भएकाले धेरैजना डिनरका लागि आउने डंगोल बताउँछन् ।

अर्डर गरिएको खानेकुरा आउनुअघि सर्भ हुने पुदिनको चटनी र प्याजको टुक्राको स्वाद पनि बेजोड छ । यहाँ कबाब, बिरयानी, नान, रोटी, दाल र तरकारीजस्ता परिकार पाइन्छ । धेरैजसो अर्डर आउनेमा भने दाल, तन्दुरी चिकेन, चिकेन टिक्का मसला, आलु नजाकत, हराभरा कबाब भएको डंगोल बताउँछन् । ‘यहाँको बिरयानीको स्वाद मन पराएर पटक–पटक आइरहनेको कमी छैन,’ उनी भन्छन् ।

तुलनात्मक रुपमा मध्यम मूल्य भएको यो रेस्टुरेन्टमा मेनुको शुल्क नै अन्तिम शुल्क हो । यसमा सर्भिस चार्ज वा अतिरिक्त शुल्क तिर्नुपर्दैन । नगदका अतिरिक्त डेबिट कार्ड र क्रेडिट कार्डका माध्यमबाट पनि बिल भुक्तानी गर्न सकिन्छ । यदि तपाईं कुराकानी, खाना र इन्टरनेटको मजा सँगै लिन चाहनुहुन्छ भने तपाईंको चाहनामा अलिकति धक्का लाग्न सक्छ। यहाँ वाइफाई राखिएको छैन । ‘वाइफाई राख्नेबित्तिकै ग्राहक साथीभाइ, परिवारभन्दा धेरै फोनमा व्यस्त हुन थाल्छन्,’ डंगोलले वाइफाई नराख्नुको कारण बताए ।

प्रकाशित: १६ वैशाख २०७४ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App