७ वैशाख २०८१ शुक्रबार
समाज

‘दोस्रो जीवन’ को पहिलो जन्मदिन

काठमाडौं- आफू जन्मेको दिन कसलाई विशेष नलाग्ला र ? अझ कुनै घटनाबाट बचेर नयाँ जीवन पाउनेका लागि त्यसपछिको जन्मदिन मनाउन पाउनु ठूलो गौरवको विषय नै हुन्छ। काठमाडौंस्थित ग्रान्डी अस्पतालमा शुक्रबार एक विदेशीको यस्तै विषेश जन्मदिन मनाइयो, जसलाई मर्‍यो भनेर सबैले आस मारिसकेका थिए।

४७ दिनअघि धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवी भ्याली घुम्न हिँडेका ताइवानी २१ वर्षीय लियाङ सेङ यु र उनकी पे्रमिका १९ वर्षीया लिउ चेन चुन फागुन २६ गते रसुवा जाने पदमार्ग पाङसाङबाट बेपत्ता भएका थिए । बेपत्ता हुनुअघि तीन दिन उनीहरू तिप्लिङको लवदुङस्थित होमस्टेमा बास बसेका थिए । उनीहरू बेपत्ता भएयता सो पदमार्गको उच्च भेगमा हिमपात भइरह्यो । २२ सय मिटर उचाइमा पर्ने तिप्लिङलगायत उत्तरी बस्ती र क्षेत्र हिउँले ढाकिए । हिमपातबाट जोगिन पाङसाङ पास नारचेतखर्क हुँदै करिब १२ किमि पर होटल भएको सानो सोमदाङ बस्ती झर्न खोज्दा उनीहरू हिउँमा चिप्लेर करिब २ सय मिटर तल खोचमा खसेका थिए । वरिपरि अन्कन्टार छागा र हिउँबाहेक अरु केही थिएन त्यहाँ ।

हराएको ४७ दिनपछि बुधबार भेटिएका उनै लियाङको शुक्रबार अस्पतालमा जन्मदिन मनाइयो । ४७ दिनसम्म हिउँमा फस्दा उनले आफ्नो २२औं जन्मदिन मनाउन पाउँछु भनेर सोचेका थिएनन् । तर बुधबार घटनास्थलबाट उद्धार गरी राजधानी ल्याएर ग्रान्डी अस्पताल भर्ना गरिएका लियाङलाई जन्मदिन मनाइरहँदा दोस्रो जीवन पाएको महुस भइरहेको थियो ।  उनको स्वास्थ्य अवस्था पनि अहिले सुध्रिँदै गएको छ । उनी बोल्न र खान सक्ने भइसकेका छन् । २२औं जन्मदिनमा केक काट्दै लियाङले भने, ‘मेरा लागि यो जन्म दिनमात्रै होइन, नयाँ जीवन नै हो, हिउँमा पुरिँदा मैले सोचेको थिइन बाँचिन्छ भनेर तर बाँचे । दुःखको कुरा हिउँमा फसेको ४४औं दिनमा सँगै रहेकी पे्रमिका गुमाएँ ।’

लियाङले जन्मदिन मनाउने रहर देखाएपछि अस्पताल प्रशासनले उनको जन्मदिन मनाउने तारतम्य मिलाएको हो । लियाङका आफन्त र पर्यटनमन्त्रीलाई बोलाएर जन्मदिन मनाइएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताए । लियाङको जन्मदिन मनाउन उनका बाबुआमा ताइवानबाट आए । एक महिनासम्म छोरालाई खोज्दा कतै नपाएर घर फर्किएका ती बाबुआमाका लागि यो भन्दा रमाइलो क्षण अरू के हुन सक्ला र ?  ‘महिना दिनसम्म छोराका खोजी गर्दा केही पत्ता नलागेपछि आस मारेर घर फर्किएका लियाङका बाबुआमाले छोरालाई अस्पतालमा देख्दा भर्खरै जन्म दिएजस्तो महसुस गर्नुभयो,’ मेडिकल डाइरेक्टर पाण्डेले भने ।

लियाङ र उनकी प्रेमिका लिउ रुवी भ्याली घुमेर लाङटाङ पुग्ने योजनासहित तिप्लिङ गाउँबाट हिँडेको स्थानीय दावा तामाङले बताए । ‘उहाँहरूले बस्ती छोड्दाकै दिन भारी हिमपात भएको थियो, हिँड्दै जाँदा बाटो पनि बिराउनुभएछ,’ तामाङले भने, ‘त्यो बेला टेलिफोनले काम पनि गरेको थिएन, हिउँमा चिप्लिएर खोचमा झरेपछि निस्कने ठाउँ नै नभएर यस्तो हालत भएको हो ।’

उनका अनुसार तामाङले ताइवानी जोडी हराएयता विदेशी पर्यटक, गाइड र स्थानीय मिलेर खोजी भइरहेको थियो । खोज्दै जाँदा त्यांग्रोभिरको खोचमा रहेको सानो ओढारमा आफूले दुईजनालाई देखेको उनले सुनाए। ‘हामीलाई देखेपछि लियाङले नमस्कार गरे,’ तामाङले नागरिकसँग भने, ‘तर उनकी पे्रमिका भने मरिसकेकी रहिछन् ।’ उनले लियाङ भोकले छट्पटाएकाले त्यहीं चाउचाउ पकाएर खुवाएको बताए ।

लियाङ भेटिएपछि पर्यटन मन्त्रालयसहितको टोलीले उनलाई उद्धार गरेको थियो । उनकी प्रेमिकाको शव पनि ओढारबाट निकालेर राजधानी ल्याइएको थियो । लियाङले हिउँमा नुन मिसाएर खाएर बाँचेको सुनाएको दावाले बताए । ‘लियाङले प्रेमिका लिउले धेरै दिनसम्म छट्पटाएर प्राण त्यागेको हामीलाई सुनाए, हामी चाँडै त्यहाँ पुग्न सकेको भए उनलाई पनि बचाउन सक्थ्यौं होला’, दावाले भने । दावाका अनुसार ताइवानी जोडी चिप्लेको स्थान निकै भिरालो थियो । स्थानीयले गाईवस्तु हराए सोही भीरको खोचमा गएर फेला पार्ने गरेका छन् ।

बुधबार बिहान ११ बजे फेला परेका लियाङलाई उद्धार गरी अपराह्न साढे चार बजे हेलिकोप्टरबाट राजधानी ल्याइएको जानकारी उनको जन्मदिन मनाउन अस्पताल पुगेका पर्यटन राज्यमन्त्री पर्शुराम तामाङले दिए । ‘लियाङ जोडीको खोजीका लागि हामीले कुनै कसर बाँकी राखेका थिएनौं,’ राज्यमन्त्री तामाङले भने, ‘अस्पताल ल्याएपछि लियाङले डाक्टरसँग आई एम फाइन भनेपछि सबै खुशी भयौं ।’

अहिले उनको अवस्था सामान्य बन्दै गएको छ । ‘अस्पतालमा ल्याएर सुरुमा जाँच गर्दा मुटुको चाल, रक्तचाप र मिर्गौलाले सामान्य तवरले काम गरेको पाइयो,’ अस्पतालका सूचना अधिकारी विनोद अधिकारीले भने, ‘अहिले लियाङको मानसिक र शारीरिक अवस्था सामान्य छ ।’ हेमोग्लोबिन बढेको भए पनि सामान्य भइसकेको जानकारी पनि उनले दिए । केक काटेर जन्मदिन मनाएका लियाङले केकपछि ठोस खानेकुरा खाएका थिए ।

प्रकाशित: १६ वैशाख २०७४ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App