coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मेयरका उम्मेदवारका घोषणापत्रः खुला शहरदेखि केवलकारसम्म

सुर्खेत– वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र उम्मेदवारर आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। माओवादी केन्द्र वीरेन्द्रनगर नगर समिति र नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका गेहेन्द्रप्रसाद दहालले घोषणापत्र सार्वजनिक गरेका हुन् । अरु दलहरु घोषणापत्र निर्माणको चरणमा छन् ।

माओवादी केन्द्र वीरेन्द्रनगर नगरसमितिले सार्वजनिक गरेको घोषणापत्रमा वीरेन्द्रनगरलाई २४ सैं घण्टा खुला शहर बनाउने महत्वाकांक्षी योजना छ । यस्तै स्वतन्त्र उम्मेदवार दहालको घोषणापत्रमा काँक्रेविहार–रानीमत्ता केबलकारसम्मका योजना छन् ।

माओवादीको घोषणापत्रमा १५ हजार युवाहरुलाई पाँच वर्षभित्र स्वरोजगार बनाउनेदेखि दुव्र्यशनमुक्त नगर बनाउनेसम्म उल्लेख छ । १४ वटा शिर्षकमा समावेश घोषणापत्र र २० बुँदे अपिलमा निःशुल्क शिक्षा, युवाहरुलाई निःशुल्क ऋण, आइटी पार्क र निःशुल्क वाइफाई उपलब्ध गराउने उल्लेख छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयरका उम्मेदवार रत्नबहादुर गाहामगरले आफूहरुले गरेका प्रतिवद्धता पाँच वर्षभित्र पूरा गर्ने दावी गरे । ‘हामीले सक्ने कामहरुलाई मात्रै प्रतिवद्धतापत्रमा उल्लेख गरेका छौं’ उनले भने, ‘वीरेन्द्रनगरलाई नेपालकै पहिलो खुल्ला शहर घोषणादेखि निःशुल्क वाइफाइसम्मका प्रतिवद्धतालाई व्यवहारमा उतारेर देखाउँछौं ।’ घोषणापत्रमा किसानलाई पेन्सनदेखि बृद्धबृद्धाका लागि आवास र पार्क बनाइने उल्लेख छ ।

अन्नवाली, फलफूल, व्यवसायीक तरकारी खेतीका लागि पकेट क्षेत्रको घोषणा, बाख्रा, बंगुर, माछा, कुखुरा र अन्य चौपायापालनलाई प्रोत्साहन कार्यक्रम, युवालाई कृषिमा प्रोत्साहन गर्नका लागि तालिम र विना धितो ऋण, कोल्ड स्टोस र जडिबुटी प्रशोन उद्योग निर्माण, निःशुल्क शिक्षा, सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि पोषण कार्यक्रम, अपाङ्गता भएकाहरुका लागि आवासीय विद्यालयको स्थापना, सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाइने उल्लेख छ ।

यस्तै घोषणापत्रमा उपत्यकाको खानेपानीको दीर्घकालिन समाधानका लागि भेरीको पानी लिफ्टमार्फत ल्याइने, नगरभित्रका मूख्य स्थानमा सार्वजनिक शौचालयको निर्माण, आधुनिक बसपार्क निर्माण, मुख्य चोकहरुमा आकासे पुल, हरेक वडामा पार्किङ स्थल, आइटीपार्क र निःशुल्क वाइफाई, थारु, जनजाति र कर्णालीको देउडाको संरक्षण र विकास, सांस्कृतिक संग्रहालय, अन्तराष्ट्रिय रंगशाला, प्रत्येक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने उल्लेख छ ।

स्वतन्त्र उम्मेदवार दहालले सार्वजनिक गरेको घोषणापत्रमा पर्यटन, रोजगार, सुशासन, कृषि, भौतिक पूर्वाधार, प्रविधि, सहर व्यवस्थापन, शिक्षा, कला, संस्कृति र खेलकुद, स्वास्थ्य, युवा र रोजगार, सञ्चार र वन वातावरणका क्षेत्रका विकासका लागि बुँदागत योजनाहरू समावेश छन् । सार्वजनिक–निजी अवधारणा अनुसार बुलबुले तालको संरक्षण र विकास, भेरी नदीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइने, काँक्रेविहारदेखि रानीमत्तासम्म केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने, पर्यटकहरूका लागि राज्यकै लगानीमा होमस्टे सञ्चालन गरिने, अनियमितता र भष्ट्राचारविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने, युवाहरूलाई स्थानीय तहबाटै रोजगारीका अवसर सिर्जना गर्ने, कृषिमा युवालाई प्रोत्साहन गर्नका लागि विना धितो ऋणको व्यवस्था गर्ने लगायतका योजना उनको घोषणापत्रमा छन् ।

जडिबुटी प्रशोधन उद्योग सञ्चालनमा ल्याइने, प्रत्येक वडा कार्यालयमा पुग्ने सडकलाई पाँच वर्ष भित्रै कालोपत्रे गरिने, एक वडा एक पार्कको अवधारणालाई व्यवहारमा कार्यान्वयन गरिने, आईटी भिलेज स्थापना, जथाभावी रूपमा वीरेन्द्रनगरमा जग्गा बिक्री तथा वितरणमा कडाइ गरिने, बजारलाई व्यवस्थापन गर्न सडकलाई वान वेको रूपमा प्रयोग गरिने, ‘टोल टोलमा मेयर’ कार्यक्रम अन्तर्गत हरेक साता एक टोल, एक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने उनका कार्यक्रमभित्र छन् ।

साथै प्रदेशस्तरको चिडिया घर सञ्चालन गर्ने, भेरीमा अत्याधुनिक शवदाह गृह निर्माण गर्ने, नगरपालिकाको दीर्घकालीन गुरुयोजना निर्माण गरेर दुई वर्षमा कार्यान्वयनमा ल्याइने, फोहोर व्यवस्थापनको लागि डम्पिङ साइट निर्माण गरिने, कक्षा १२ सम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाइने, प्राविधिक शिक्षालाई विशेष जोड दिने, एउटा टोल, एक सांस्कृतिक केन्द्र स्थापना गरिने, संगीत विद्यालयको स्थापना गरिने, फुटबल रंगशालालाई अन्तराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्नसक्ने बनाउने, अन्तराष्ट्रिय प्रतियोगिता गर्न मिल्ने क्रिकेट मैदान निर्माण गर्ने, हरेक वडामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने उल्लेख छ । यस्तै एक घर एक रोजगार नीति कार्यान्वयन गर्ने, नगरपालिकाको एफएम रेडियो स्थापना गरिने, क्रियाशील पत्रकारको निःशुल्क बीमाको व्यवस्था गरिनेलगायतका कुरालाई घोषण–पत्रमा समावेश गरिएको छ ।

प्रकाशित: १५ वैशाख २०७४ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App