८ वैशाख २०८१ शनिबार
समाज

आइओएम पदाधिकारी कायर : डा. केसी

काठमाडौं- छ दिनदेखि आमरण अनशनमा बसेका शिक्षण अस्पतालका डा. गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) पदाधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ज्यादतिविरुद्ध बोल्न डराएर कायरता प्रदर्शन गरेको बताएका छन्।

अनशनको छैठांै दिन अनशनस्थल पुगेका पदाधिकारी एवं वरिष्ठ चिकित्सकलाई डा. केसीले  पदाधिकारीले अख्तियारसँग डराएर आफू अछुतो नभएको समेत सन्देश दिएको उल्लेख गरे।  स्वास्थ्य अवस्था खस्किँदै गइसक्दा उपचार सुरु गर्न डराएको अस्पताल प्रशासनलाई जिल्ला प्रशासनले सहमति दिएपछि शुक्रबार उपचार टोली बनाएर त्यसको जानकारी गराउन पुगेका वरिष्ठ चिकित्सकहरुलाई डा. केसीले भने, 'तपाईंहरु कायर हुनुहुन्छ, तपाईंहरु जस्तैका कारण देशमा भ्रष्टाचार र अनियमितता मौलाएको हो।'

आइओएमका निमित्त डिन डा. विमलकुमार सिन्हा, सहायक डिन डा. शरद वन्त, महाराजगन्ज क्याम्पसका प्रमुख डा. जीवनकुमार श्रेष्ठ, अस्पताल निर्देशक डा. दीपक महरासहित वरिष्ठ चिकित्सकहरु डा.जगदिशप्रसाद अग्रवाल, डा. दिव्यासिंह शाह, र डा. मोदनाथ मरहट्ठा लगायतका चिकित्सक अनशनस्थल पुगेका थिए। डा. केसीले उनीहरुलाई भेट्नासाथ पहिलाको जस्तो अनशन रोक्ने आग्रह गर्न वा हटाउन आएको होला भन्दै डा. केसीले थपे, 'त्यसो हो भने कुरै नगर्नस्।'

डा. केसीले पदाधिकारीले डराएर अख्तियारले जे–जे भन्यो, त्यही गरेर आफूहरु पनि चोखो नभएको सन्देश दिएको जिकीर गरे। 'गल्ती नगरेको भए तपाईंहरु डराउनै पर्दैन थियो,' उनले भने। उनले आफूलाई अनशनस्थल, उपचार सामग्रीसमेत नदिएर पदाधिकारीले त्रासको प्रदर्शन गरेको दोहोर्‍याए। 'मलाई आइभी स्ट्यान्ड (स्लाइन झुन्ड्याउने) पनि दिन सक्नुभएन,' उनले आफू सुतेको बेड देखाउँदै भने, 'म सुतेको बेड विद्यार्थीहरुले कबाडी उठाएर ल्याएका हुन्।'

उनले आफूलाई अनशन बस्न नदिने गरी पदाधिकारीबाट भएका हस्तक्षर र व्यवहारप्रति आक्रोशित हुँदै अझै पनि अनशन बस्न नदिने भए 'फालिदिन' चुनौती दिए। 'अनशन बस्न नदिएर फाल्दिनुहुन्छ भने पनि जहाँ लैदिनुहुन्छ, त्यहीँ बसेर आन्दोलन गर्छु,' उनले भने।

डा. केसीले आफूले संस्थाको हित र थिति बसाल्नकै लागि पटकपटक अनशन गरेको स्मरण गर्दै यसपटक पदाधिकारीले सहयोग नगरेकोमा धन्यवाद दिए। 'यसपटक सहयोग नगरेकोमा धन्यवाद, मसँग मेरा विद्यार्थी थिए, तर तिनमा पनि तपाईंहरुले सन्त्रास फैलाइदिनुभयो,' डा. केसीले पदाधिकारीलाई लक्ष्य गर्दै भने।

उनले आइओएमकै लागि लड्दा पनि डा. केसीका माग संस्थानसँग सम्बन्धित छैन भनेर डिन कार्यालयले निकालेको विज्ञप्तिको पनि खण्डन गरे। 'तपार्इंहरुले मेरा माग संस्थासँग सम्बन्धित छैनन् भन्नुभयो, एकपटक राम्ररी पढ्नुस्,' उनले भने। सो क्रममा निमित्त डिन सिन्हाले वार्तामा बोलाए कसलाई पठाउने भन्ने प्रश्न गरेका थिए। जवाफमा डा. केसीले 'मैले विश्वास गरेका मेरा विद्यार्थी छन्, उनीहरुले मेरा मुद्दा बुझेका छन्' भन्ने जवाफ दिए। डा. पदाधिकारीलाई आफ्नो उपचार गर्न पनि लेखेर निवेदन देऊ भन्न आउनुभएको हो भने लेखेर नदिने अडान लिए। उनले आफ्नो उपचार स्वविवेकको विषय भएको पनि बताए।

जिप्रकाको पत्रपछि उपचार टोली

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपचारका लागि 'फुकुवा दिएपछि' त्रिवि शिक्षण अस्पतालले डा. केसीको उपचारका लागि बल्ल स्वास्थ्य टोली बनाएको छ। रेजिडेन्ट र विद्यार्थीले डा. केसीको उपचार थालेर जीवनरक्षाका लागि आग्रह गरेको चौथो दिन बल्ल अस्पताल प्रशासनले ६ सदस्यीय चिकित्सक टोली उपचारका लागि खटाएको हो।

अस्पतालका निर्देशक डा. दीपक महराले बुधबार गरेको पत्राचार अनुसार जिल्ला प्रशासन कार्यालयले फ्याक्समार्फत् बन्दहडताल नगर्न तर मानवीय सेवाजन्य कुनै पनि उपचार सेवाबाट वञ्चित नगर्न भन्ने पत्र पठाएको जानकारी दिए। महराका अनुसार जिल्ला प्रशासनले सेवा बन्दहडताल नगरी मानवीय सेवाका आधारमा गर्नुपर्ने कुनै पनि काम अगाडि बढाउनू भन्ने उल्लेख छ।

सोलगत्तै उपचारका लागि अस्पताल प्रशासनले सामान्य चिकित्सा विभागका प्रमुख डा. प्रदीपकृष्ण श्रेष्ठ संयोजकत्वमा समिति बनाएको हो। समितिमा डा. दिव्यासिंह शाह, आइसियु विभाग प्रमुख डा. सुवास आचार्य, डा. दिप्तेष अर्याल, डा. रविन नेपाली र शोभना भुजु सदस्य छन्। पत्रमा डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै गएकाले उपचार व्यवस्था मिलाउन डिन डा. विमलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको उल्लेख छ।

पत्रको बोधार्थ राष्ट्रिय मानवअधिकार आयोग, जिल्ला प्रशासन कार्यालय, त्रिवि उपकुलपति, डिन कार्यालय लगायतलाई समेत दिइएको छ। नयाँ टोली गठनसँगै तत्काल उपचार प्रारम्भ गरेर टोलीले प्रारम्भिक स्वास्थ्य बुलेटिनसमेत निकालेको छ। टोली सदस्य डा. दिव्यासिंह शाहद्वारा जारी विज्ञप्तिमा उनको कडाखाले मांसपेशी, छाती र टाउकोको दुखाइ जारी रहेको उल्लेख छ। त्यसैगरी, पिसाबमा एसिटोन पोजेटिभ, रगतमा चिनी, सोडियमको मात्रा कम भएको उल्लेख छ। विज्ञप्तिमा उहाँको बोल्दा मुटुको गति बढ्ने भइरहेको समेत उल्लेख छ।

ऐक्यबद्धता बढ्यो

अनशनको छैठौं दिन डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउन नेकपा माओवादीका नेता मोहन वैद्य शिक्षण अस्पताल पुगेका छन्। वैद्यले आफ्नो पार्टी सुरुदेखि नै डा. केसीले उठाएका मागको समर्थनमा रहेको भन्दै आफूले सक्ने सबै गर्न तयार भएको बताएका थिए। सो क्रममा डा. केसीले अवस्थाको गम्भीरता बुझेर के गर्नुपर्छ, तपार्इंहरुलाई थाहा होला भनेका थिए।

वैद्यले डा. केसीसँग भएका पुराना सम्झौता र भ्रष्टाचारसम्बन्धी नयाँ माग पनि पूरा गर्नुपर्ने र स्वास्थ्य रक्षाका लागि समेत ध्यान दिनुपर्ने बताए। त्यसैगरी, डा. केसीलाई शुक्रबारै त्रिवि पूर्व उपकुलपति केदारभक्त माथेमा, आइओएमका पूर्व डिन डा. रमेशकान्त अधिकारीले समेत भेट गरेका छन्।

जीवन रक्षा गर :  मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले डा. गोविन्द केसीको जीवन रक्षा गरी स्वास्थ्य उपचारप्रति संवेदनशील हुन नेपाल सरकारसँग आग्रह गरेको छ। आयोगले डा. केसी र नेपाल सरकारबीच भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा समेत आग्रह गरेको छ।

आयोगले समग्र स्वास्थ्य क्षेत्र सुधारका माग राखी असार २६ देखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा आयोग टोलीले अनुगमन गर्दा शिक्षण अस्पताल व्यवस्थापनबाट डा. केसीको स्वास्थ्य अधिकार संरक्षण तथा जीवनरक्षाका लागि भए–गरेका प्रयासको जानकारी लिएको उल्लेख छ।

आयोगले अनुगमनसँगै अस्पताल, जिल्ला प्रशासन कार्यालय र मन्त्रिपरिषद्लाई समेत पत्राचार गरेको उल्लेख गरेको छ। आयोगले विरोधस्वरुप जस्तोसुकै भए पनि व्यक्तिको स्वास्थ्य उपचार जीवन रक्षासँग जोडिएको अधिकारप्रति संवेदशील भई प्रभावकारी स्वास्थ्य उपचार गराउन ध्यानाकर्षण गराएको छ।

आयोगले डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन खस्किँदै गएको पाइएको उल्लेख गर्दै स्वास्थ्य उपचार र जीवनरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन र समस्या समाधानका लागि गम्भीर हुन आयोग ध्यानाकर्षण गराउँछ' भनेको छ।

चिकित्सक संघको चेतावनी

चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले अख्तियार प्रमुखलाई महाभियोग लगाउने विषयमा मौन बसेर डा. केसीको स्वास्थ्यसम्बन्धी माग पूरा गर्न भनेको छ। संघले डा. केसी, संघ र सरकारबीच भएका सम्झौता कार्यान्वयन हुन नसक्दा स्वास्थ्य क्षेत्रमा भएका विकृति हट्न नसकेको भन्दै माग पूरा गर्न दबाब दिएको छ।

केही समयअघि संसद्मा सांसद राजेन्द्र पाण्डेले पनि डा. केसीलाई पागलको संज्ञा दिँदा हतारिएर विज्ञप्ति निकालेको संघले अख्यितारको आरोप लगाउँदा भने मौनता साँधेको छ। अनशनको छैठांै दिन निकालिएको विज्ञप्तिमा समेत संघले डराएजसरी सो माग पन्छाएको छ।

संघका महासचिव डा. मुक्तिराम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघका आजीवन सदस्य प्रा. डा. गोविन्द केसीले पुनः आठौं पटकको आमरण अनशन बस्दै उठाएका स्वास्थ्य क्षेत्र सम्बद्ध मागमा नेपाल चिकित्सक संघ ऐक्यबद्धता जाहेर गर्ने उल्लेख छ।

संघले डा. केसीको जीवनरक्षाका लागि अपिल गर्दै महाभियोगको माग संसद् र राजनीतिक दलको विषय भन्दै पन्छिएको छ। 'अख्तियार पदाधिकारीमाथिको महाभियोगसम्बन्धी माग चिकित्सकको दायरामा नपर्ने अपितु यो विषय संसद् र राजनीतिक दलको जिम्मेवारीभित्र पर्ने भएको हुँदा त्यसमा पुनर्विचार गर्न र आरोप–प्रत्यारोपमा नपर्न संघ हार्दिक आग्रह गर्दछ,' विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति जारी गर्नुअघि संघका अध्यक्ष डा. अन्जनीकुमार झा लगायतको टोलीले डा. केसीले भेटेर महाभियोगको मागमा पुनर्विचार गर्न आग्रह गरेका थिए। तर केसीले आफ्नो बटमलाइन नै महाभियोग भएको भन्दै कुनै पनि हातलमा पछाडि नहट्ने प्रतिक्रिया दिएका थिए।

प्रकाशित: १ श्रावण २०७३ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App