६ वैशाख २०८१ बिहीबार
राजनीति

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी सहकार्य

काँग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी काँग्रेस नेता कार्यकर्ता । तस्बिर : सुमन मल्ल

मुगु – जिल्लामा स्थानीय तहको प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्दबीच चुनावी सहकार्य भएको छ ।

उम्मेद्वारी घोषणा गर्न शुक्रबार सदरमुकाम गमगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्लाका सबै तहको चुनावी तालमेल मिलाउने गरी दुबै दलबीच चुनावी सहकार्य भएको नपाली काँग्रेसले  जानकारी दिएको छ । छायाँनाथ रारा नगरपालिकाका लागि नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदमा हरिजंग शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका सुरबहादुर बुढाको नाम घोषणा भएको छ ।

त्यस्तै मुगुम कार्मारोङ्घ गाउँपालिकाका लागि नेपाली काँग्रेसबाट छिरिङ्घ क्याप्ने लामा प्रमुख र माओवादी केन्द्रबाट उपप्रमुख इटोल लामालाई चुनावी प्रतिस्पर्धामा उतार्ने काँग्रेसका उपसभापति खगेन्द्रबहादुर मल्लले पत्रकार सम्मेलनमा जानकारी दिए । सोरु गाउँपालिकामा प्रमुख पदमा काँग्रेसले लोगबहादुर शाहीको नाम घोषणा गरेको र माओवादी केन्द्रबाट उम्मेदवारको नाम आउन बाँकी रहेको जनाइएको छ । 

खत्याड गाउँपालिकामा भने दुवै दलले प्रमुखका उम्मेदवार घोषणा गरिसकेका छन् । तर उपप्रमुखमा भने दुवै दलले उम्मेद्वार कसलाई बनाउने भन्ने तय गर्न सकेका छैनन् । खत्याडमा काँग्रेसका तर्फबाट लोकेन्द्र थापा र माओवादी केन्द्रका तर्फबाट विर्खबहादुर थापाको नाम यस अघि नै टुंगो लागेकाले थप उम्मेद्वारका नाम टुंगो लगाई चुनावी सहकार्य अघि बढाउन तिन गाउँपालिका र एक नगरपालिका दुवै दलका जिम्मेवार नेतालाई जिम्मा दिइएको नेपाली काँग्रेसका सभापति खडकबहादुर शाहीले जानकारी दिए ।

नगरपालिकाका लागि वडा तहसम्म सहकार्यका लागि काँग्रेसबाट खगेन्द्रबहादुर मल्ल र माओवादी केन्द्रबाट केबलबहादुर मल्ललाई जिम्मेवारी दिइएको छ । सोरु गाउँपालिकाका लागि काँग्रेसबाट लोकबहादुर शाही र माओवादी केन्द्रबाट पुर्व सभासद नवराज धामी , खत्याड गाउँपालिकामा काँग्रेस सभापति खडगबहादुर शाही र माओवादी केन्द्रका संयोजक सुकविर बुढालाई जिम्मेवारी दिइएको छ ।

नेकपा एमालेले भने यस अघि नै सबै तहको निर्वाचनका लागि एकल रुपमा उम्मेद्वारी घोषणा गरिसकेको छ । उसले नगरपालिकाका लागि प्रमुखमा जितबहादुर मल्ल, उपप्रमुखमा सुन्तली रोकाया, खत्याडमा प्रमुख उब्जनबहादुर शाही र उप प्रमुखमा जयानन्दा रावल र सोरुमा प्रमुख पदमा धर्मबहादुर शाही र उप प्रमुख राज्यलक्ष्मी मल्लको उम्मे्दवारी टुंग्याइसकेको छ । मुगुम कार्मारोङ्घमा सोनाम लामाको प्रमुख पदमा उम्मेदवारी बनाएको छ भने उप प्रमुखको नाम आउन सकेको छैन । 

प्रकाशित: १५ वैशाख २०७४ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App