७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनसेलको कर निर्धारण विवरण बुझाउन निर्देशन

काठमाडौं—सार्वजनिक लेखा समितिले एनसेल बिक्रीमा नेपाल सरकारले पाउने पुँजीगत लाभकर निर्धारण गर्न बनेको समितिलाई आफ्नो विवरण पेस गर्न निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकले समयावधि सकिँदासम्म पनि कुनै जानकारी नगराएको भन्दै कर निर्धारणको यथार्थ विवरण पेस गर्न निर्देशन दिएको हो। 

एनसेल बिक्रीमा कति लाभकर नेपाल सरकारले पाउने हो भन्ने अध्ययन गर्न ठूला करदाता कर कार्यालयका प्रमुख कर अधिकृतको नेतृत्वमा पाँचजना अधिकृतले आन्तरिक रुपमा कर निर्धारणको काम गरिहेको छ। उसले माघ २५ गतेदेखि काम गर्न सुरु गरेको र ७५ दिनभित्र सक्ने योजना रहेको थियो । समितिले आफैंले मागेको समयावधिभित्र पुँजीगत लाभकरको यथार्थ विवरण पेस गर्न सकेको छैन। 

गत वर्ष पुसमा स्विडिस कम्पनी टेलियासोनेरा (हालको टेलिया)ले मलेसियन कम्पनी आजियाटालाई एनसेल बिक्री गर्दा नेपाल सरकारले पाउनुपर्ने पुँजीगत लाभकर तिरेको थिएन । एक खर्ब ४० अर्ब रुपैयाँमा कारोबार भएको नेपालको सबैभन्दा ठूला कर्पोरेट किनबेचमा दुवै कम्पनी विदेशी भएको र ‘अफसोर डिलिङ’ भएको भन्दै टेलियासोनेरा पुँजीगत लाभकर नतिरी नेपालबाट बाहिरिएको थियो।

उक्त कारोबारमा नेपाल सरकारले कति लाभकर पाउँछ भन्ने अहिलेसम्म हिसाब किताब भएको छैन । एनसेल क्रेता आजियाटाले भने झन्डै १० अर्ब रुपैयाँ पँुजीगत लाभकर तिरिसकेको छ ।

 

प्रकाशित: १५ वैशाख २०७४ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App