८ वैशाख २०८१ शनिबार
कला

‘तपाेवनले सच्चा मित्र गुमायो’

काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनमा स्वामी आनन्द अरुणका साथ बलिउड अभिनेता विनोद खन्ना ।

काठमाडौं – बिहीबार मध्याह्न एकाएक इन्टरनेटमा अभिनेता विनोद खन्नाको निधन भएको खबर भाइरल बन्यो । खबर काठमाडौंको ओशो तपोवनसम्म पुग्न समय लागेन । खन्नाका हितैषी स्वामी आनन्द अरुणले पनि सामाजिक सञ्जालमा हेरेर नै खन्ना भौतिक दुनियाँमा नरहेकोे खबर पाए ।

‘भूमिका जे भए पनि त्यसमा प्राण भर्ने उनको चेष्टा रहन्थ्यो,’

‘कन्फर्म गर्न दिल्ली फोन गरें,’ उनले नागरिकसँग कुरा गर्दै भने ,‘कृति स्वामी र निलममाले हामीमध्येका एकजना साथी आज जानुभयो भनेर जबाफ दिनुभयो ।’ स्वामी आनन्द र खन्नाको चालिस वर्ष लामो मित्रता त्यो खबरसँगै टुंगियो ।  

 खन्ना र स्वामीको मित्रताका सेतु थिए, ओशो अर्थात् रजनिश । चालिस वर्षअघि सन् १९७५ मा भारतको पुना आश्रममा आनन्द अरुण र खन्नाको पहिलो भेट भएको थियो । ‘परिवारका सदस्यको लगातार निधनले पीडामा हुनुहुन्थ्यो,’ आनन्दले भने,‘ दुःख बिर्साउनकै लागि ओशो आश्रम आउनु भएको थियो । पछि त्यहीँ दीक्षा लिनुभयो । त्यसयता हामी आजपर्यन्त मित्र थियौं ।’ 

खन्ना ओशो आश्रम पुग्नुअघि खलनायकको भूमिकामा बढी चर्चित थिए । जब ओशोसँग जोडिए तब फिल्ममा नायक बनेर चम्किन थालेको स्वामी आनन्द सुनाउँछन । ‘भूमिका जे भए पनि त्यसमा प्राण भर्ने उनको चेष्टा रहन्थ्यो,’ स्वामीले भने ।  

१९७७ तिर त खन्ना अमिताभ बच्चनकै टक्करमा आएको स्वामी बताउँछन् । यही समयमा अमिताभसँग समानान्तर भूमिका निर्वाह गरेका उनका थुप्रै फिल्म सुपरहिट भएका थिए । 

स्वामी आनन्दका अनुसार खन्ना तीन पटक काठमाडौं आएका थिए । तीनै पटक  तपोवनमा बसेका खन्ना पहिलो पटक सन् १९९५ मा काठमाडौं झरेका थिए । त्यतिबेला ओशोको किताबको प्रदर्शनी चलेको थियो । नेपाल आउँदाको एक भ्रमणमा खन्नाले नेपालका कलाकारसँग पनि भेट गरेका थिए । ‘झण्डै १५ वर्षअघिको त्यो भेटमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायतका कलाकारसँग नेपाली फिल्मका बारेमा चर्चा गरेका थिए । नेपाली फिल्म कसरी बन्छ, कस्तो अवस्थामा छ भन्ने जिज्ञासा राखेको मलाई सम्झना छ,’ स्वामीले भने ।  

बलिउडको तामझाममा रहे पनि आश्रममा रहँदाको बानी उनले छाड्न सकेका थिएनन् । तपोवनमा रहँदा पनि नियमअनुसार बिहानै उठेर ध्यान गर्ने गरेको स्वामी बताउँछन् । ध्यानसँगै नाचगान गर्न पनि नधकाउने खन्ना नेपालको बसाइमा खुबै इन्जोए गर्थे । दुई पटक आउँदा तपोवनमा खुबै रमाइलो गरेका खन्ना तेस्रो पटक आउँदा भने जोसिला थिएनन् । ‘तेस्रो पटक काठमाडौं आउँदा अलिक कमजोर देखिएका थिए ।  त्यही बेला उनले ओशोको दीक्षा लिएका थिए । 

बिरामी हुनु एक वर्षअघि दिल्लीमा भेट्दा खन्ना निकै स्वस्थ रहेको उनले बताए । ‘कामको सिलसिलामा पुग्दा उहाँकै घरमा बसेर गफिएका थियौं,’ उनले सम्झे, ‘बडो तारिफ गर्नुभएको थियो’ उनले थपे, ‘ ओशो तपोवन देखेर ओशोका लागि धेरै काम गरेको भनेर फुर्काउनु भएको थियो ।  परिवारका सदस्य, नेताहरु पनि त्यो बेलासँगै थिए ।’

अभिनयसँगै राजनीतिमा पनि खन्ना सफल थिए ।  भारतीय जनता पार्टीबाट राजनीति गरेका खन्ना चार पटक सांसद चुनिएका थिए । ‘पर्यटन तथा संस्कृति राज्यमन्त्रीको हैसियतले छुट्टै नेपाल भ्रमण गरेका थिए । तर, बस्नका लागि भने तपोवन नै रोज्नु भएको थियो’ स्वामीले सम्झिए । 

 दिल्लीमा ओशो आश्रम खोल्ने सपना रहेको बारम्बार स्वामी आनन्दलाई सुनाउँथे । तर, सपना अधुरै राखेर गए । ‘छिटो जानु भयो, विश्वास लागेको छैन,’ आनन्दले भने, ‘बिरामी छँदा दुईचोटी फोन गरें तर भेट हुन सकेन ।’ क्यान्सरले थलिएर अन्तिम अवस्थामा पुगेका थिए खन्ना । अस्पतालमा आफन्तले फोन उठाएर अवस्था चिन्ताजनक रहेको बताउने गर्थे । 

खन्ना आफूमात्र ओशोका भक्त थिएनन्, मिल्ने साथी अमिताभ बच्चनलाई पनि पुना आश्रम लिएर पुगेका थिए । अमिताभका बुबा कवि हरिवंश राय बच्चन पहिले–पहिले आउने गरे पनि अमिताभलाई आश्रम पुर्याउनमा भने खन्नाकै हात थियो । 

महेश भट्ट, हेमा मालिनीलगायत हिन्दी सिनेमाका धेरै कलाकारलाई आध्यात्मिक चिन्तनका लागि खन्नाले आश्रम पु¥याएको स्वामी आनन्द बताउँछन् । १९८१ तिर भने खन्ना पूरै बैरागी भएर आश्रममा बसेका थिए । त्यतिखेर  चटक्कै फिल्म छाडे पनि निर्मातालाई उनले पैसा फिर्ता गरेका थिए ।

‘धेरै फिल्म साइन गर्नुभएको थियो । कतिपय फिल्मको केही भाग सुटिङ भैसकेको थियो । तर, खन्नाले मैले गर्दा तपाईंहरुको जति घाटा भयो त्यो भर्पाई गर्छु भनेर निर्मातालाई पैसा फर्काइदिएका थिए,’ स्वामीले भने ।  उनको अध्यात्म चिन्तन देखेर ओशो गुरु पनि प्रभावित रहेको स्वामी बताउँछन् ।  ‘त्यसैले ओशो अमेरिका जाँदा खन्नालाई साथै लानुभयो,’ आनन्दले भने ,‘एकदम साधारण मान्छेझैं फूल रोप्नुहुन्थ्यो ,गोड्नुहुन्थ्यो, मैले पानी हाल्थें । धन, सम्पत्ति र चर्चाको मोहले उनलाई कहिले समातेन । अमेरिकाबाट फर्केपछि  फिल्मतिर उनको मन फर्केन । भारतको मनालीमा स्वामीसँगै बस्दा फिल्म क्षेत्रका  मानिसले निरन्तर बोेलाउन थालेपछि खन्ना अभिनयमा फर्किएका थिए । लामो समयपछि फिल्ममा फर्कदा फेरि उही चर्चा र सफलता खन्नाले पाएको स्वामी आनन्द बताउँछन् ।

त्यसयता दश वर्ष लगातार हिन्दी फिल्ममा एकछत्र छाए । योसँगै खन्नाले राजनीति सुरु गरे ।  राजनीतिमा लागेपछि १९९८ मा पहिलो पटक चुनाव जितेर सांसद भएका थिए । चार पटक सांसद भए । तर पनि फिल्म क्षेत्र छाडेनन् । मन्त्री भएपछि भने केही समय उनले फिल्म खेल्न छाडेका थिए । तर, मन्त्री पदबाट निस्कनासाथ फेरि फिल्म खेल्ने कामलाई निरन्तरता दिए ।  

‘अब म राजनीतिमा सक्रिय हुन्छु, छोराहरूले गर्छन् भन्नुहुन्थ्यो’ फिल्मका बारेमा गरिएका कुरा स्मरण गर्छन् स्वामी आनन्द । पहिलो पत्नी गिताञ्जलीसँगको सम्बन्ध बिग्रनुअघि दुवै निकै रोमाञ्चक जोडी कहलाउँथे । कलेज जीवनमा धेरै केटीसाथी भएको भनेर समेत उनको चर्चा गरिन्थ्यो । गीताञ्जलीसँगको सम्बन्ध दिगो भएन । सम्बन्धविच्छेद भयो ।  सन्  १९९० मा धार्मिक युवती कवितासँग उनले दोस्रो विहे गरेका थिए । 
‘भारतको बलिउडले एउटा उम्दा कलाकार गुमायो नै तपोवनले भने आफ्नो हितैषी गुमाएको अनुभव गरेको छ । उनको आत्माले शान्ति पाओस्’ स्वामी आनन्दले कुराकानीको बिट मार्दै भने ।

प्रकाशित: १५ वैशाख २०७४ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App