ज्यान कसरी जोगाउने ?

शुक्रबार, १५ बैशाख २०७४, १० : १५ बुद्धिनारायण श्रेष्ठ

२०७२ सालमा ७.८ रेक्टर स्केलको भूकम्प छुटेकोे दुई वर्षभित्र ४.० देखि ६.९ स्केलसम्मका ४ सय ७८ पराकम्पन  गएको छ । ठीक दुई वर्ष पुगेको दिन अर्थात् यही वैशाख ११ गते पनि सिन्धुपाल्चोकको बरम्चीमा केन्द्रविन्दु परेको ४.२ रेक्टरको पराकम्पन भयो । यति लामो समयसम्म पनि पराकम्पन गइरहेकाले मानिसलाई एक प्रकारको त्रास छुटेको छैन । यस्ता पराकम्पन छुट्दा–छुट्दै २०७२ वैशाख १२ को भन्दा ठूलो महाभूकम्प घच्याक्क आउने हो कि भन्ने डर छ ।

संवत् १८९० मा ४.० र १९९० मा ८.४ स्केलको महाभूकम्प गएको थियो । तर महाभूकम्पको अर्को समयचक्र नपुग्दै अर्थात् ८२ वर्षमै शक्तिशाली भूकम्प गयो । भूकम्पवेत्ता तथा भूगर्भविद्हरु भन्दैछन्, यो महाभूकम्पीय तहको नभएकाले अर्को महाभूकम्प आउन बॉकी नै छ ।
                      
एक सर्भेक्षणअनुसार सम्भावित मृत्युको आधारमा नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११औं नम्बरमा पर्छ । नेपाल कहिल्यै भूकम्प प्रुफ थिएन र भविष्यमा पनि हुन सक्दैन भन्ने भूकम्पवेत्ताहरुको अवधारणा छ । भूकम्पको तिथि, मिति र समय कसैले यकिन गर्न नसके पनि नेपालमा साना–ठूला मानको भूकम्प गई नै रहन्छ । भूकम्पीय हिसाबले हिमालय क्षेत्र सँधै जोखिममा छ ।

भूगर्भवेत्ताहरु भन्दैछन्– २०७२ वैशाख १२ मा ‘गोरखा भूकम्प’ जाँदा फाटेको बार्पाकदेखि पूर्वको दोलखासम्मको लगभग १३० किलोमिटर पूर्व–पश्चिम लामो र ५० किमि चौडा धाँजा (चिरा) को शक्ति काठमाडौंभन्दा दक्षिणतिर महाभारत क्षेत्रमुनि लगभग १० किमि गहिराइमा अड्किएको छ । यस क्षेत्रमा गत ८२ वर्षदेखि सञ्चित सम्पूर्ण ऊर्जाशक्ति स्खलन हुनका निम्ति उक्त धाँजा फाट्दै चुरे र तराईको सिमाना क्षेत्रमा जमिनको सतहसम्म अइपुग्नुपर्ने थियो तर त्यसो हुन सकेन । त्यसैले गोरखा भूकम्पपछि काठमाडौंभन्दा दक्षिणको भागमा भूकम्पीय जोखिम बढेर गएको छ ।
यसका साथै लमजुङदेखि सुदूर पश्चिम क्षेत्र डोटी, डडेलधुरा, दार्चुला, कञ्चनपुर र भारतको देहरादून, नैनिताल, अलमोडा, कुमाउ, गढवाल आदि क्षेत्रमा गत ४०० वर्षभन्दा अघिदेखि महाभूकम्प गएको छैन । त्यसैले ती क्षेत्रमा महाभूकम्प पाकिसकेको हुनाले निकट भविष्यमा जानसक्छ या पाँच, दस, पन्ध्र, बीस वर्षपछि महाभूकम्प छुट्न सक्छ भन्ने धारणा भूकम्पविद्हरुको छ ।

कथम् कदाचित् भविष्यमा ठूलो स्केलको महाभूकम्प आयो भने कसरी बाँच्ने अथवा कमभन्दा कम क्षति कसरी गराउने ? वास्तवमा भन्ने हो भने भूकम्पले मान्छेलाई मार्दैन । तर मानिसले आफूले बनाएको आफ्नै घरले आफैँलाई किचेर मार्छ । अर्काे कुरो, मानिसको आफ्नै क्रियाकलापले आफू मर्न पुग्छ । भूकम्प छुटेका समयमा मानिस कसरी बच्ने त ? यसबारे मानिसले केही मात्र भए पनि पूर्वसावधानी अपनाएर आफू सदैव जागरुक रहे भूकम्प आइहाले बच्नसक्ने सम्भावना रहन्छ । यसका निम्ति उचित तौरतरिका अपनाउँदा धेरै मात्रामा आफू सुरक्षित हुन सकिन्छ ।

अचानक भुइँचालो आएर जमिन कम्पन हुन थाले अथवा घर हल्लाउन थालेमा अथवा आफूलाई पनि हल्लाउन थालेमा डराएर, आत्तिएर छलाङकसेर भागदौड गर्नु हुँदैन । तर संयमित भएर निश्चय नै जतिसक्दो छिटो–छिटो तरिकाले घरबाट झटपट बाहिर निस्केर खुला स्थानतर्फ फट्को मार्नुपर्छ । माथिल्लो तलामा रहेको अवस्थामा अताल्लिएर भ्mयालबाट हामफाल्ने काम कहिल्यै गर्नुहुन्न । भरेङबाट सकेसम्म छिटो भुइँतलामा ओर्लेर खुला स्थानतर्फ दौडनु पर्छ । भूकम्पले भरेङ बिगारिसकेको रहेछ भने अथवा घरको भित्ता खसेर भरेङ छोपिसकेको अवस्था रहेछ भने एक दुई तला माथि भए झ्यालबाट बाहिरेर घरको गारोमा सानो तिनो प्वाल परेको भेट्टाए त्यसमा टेक्दै, प्वालमा हात राख्दै संयमित भएर आँटका साथ आफ्नो शरीरलाई सन्तुलित बनाएर आफूले जमिनमा खुट्टा टेक्नसक्ने गरी हामफाल्नु उचित हुन्छ । आफू रहेको स्थान कोठाको झ्याल, भित्ता भत्केर छोपिइसकेको भए र कोठाको कुनामा भ्वाङ परेको पाइए त्यसै निकासबाट बाहिर निस्केर भत्केर थुप्रिएको इँटाको रास तथा सिमेन्टको स्लाब भए त्यसैमाथि पर्ने गरी सन्तुलित ढङ्गले आफ्नो जीउ हल्का बनाउँदै कम गतिका साथ हामफाल्नु समयोचित हुन्छ ।

आफू बाहिर जाने कम्पाउन्ड गेट, घरको भित्ता अथवा छानो खसेर छोपिइसकेको अवस्थामा रहेछ भने सकिने भए ती सामग्रीको थुप्रोमा चढ्दै त्यसैबाट सुरक्षित स्थानतर्फ दगुर्नु पर्छ । बाहिरिने उपाय कुनै नदेखिए पर्खाल चढी बाहिरिने आँट गर्नुपर्छ । जोखिम हुनबाट बच्ने गरी पर्खालबाट बाहिर हामफाल्नु पर्छ । भरेङ अथवा झ्यालबाट सुरक्षित तरिकाले बाहिरिने अवस्था नदेखिए कोठाभित्र आफ्नो टाउको दुई घुँडाको बीचमा निहुराई हातको चाममुठीले थिची हाँसजस्तै गुडुल्किएर पलङ अथवा टेबलमुनि तथा ढोकाको संघारमा ओत लागेर सुरक्षित भई संयमित भएर बस्नुपर्छ ।

सामान्यतया भूकम्प एक दुई मिनेटभन्दा बढी नजाने भएकाले कम्पन थामिएपछि आपूm पुरिएको अथवा टेबल, पलङमुनि अथवा चौकोस संघारमुनि टाँड परेर निस्कन नसक्ने अवस्थामा परिएमा केही समय अथवा केही घन्टापछि उद्धारक टोली अथवा छिमेकी उद्धार कार्यमा तपार्इं चेपिएको स्थानतर्फ पनि आउन सक्छन् । यस्तो अवस्थामा आफूले ‘म चेपिएको छु’ भन्ने आवाज बेला–बेलामा दिनुपर्छ । चेपिएको स्थलमा सानोतिनो प्वाल भेट्टिएमा त्यसमा आफ्नो टाउको घुसार्न सकिए घुसारेर आवाज दिँदै मद्दत माग्नु पर्छ । हात मात्र घुस्रिने प्वाल भए त्यसमा हात घुसारेर इँटा अथवा काठको टुक्रा बजारेर आवाज निकाल्नु पर्छ । सानो प्वाललाई थुप्रेको सामग्री पन्छाउँदै ठूलो बनाउने प्रयास गर्नुपर्छ । आफू तीन चार तलामाथि भए र त्यो तला लर्कदै भत्कन लाग्यो भने झ्याल अथवा ढोकाको चौकोस समातेर आफू पनि त्यसैको सहारामा आफू जमिनमा बजारिनबाट बच्नु पर्छ । सबभन्दा महŒवपूर्ण कुरा भूकम्पीय दैवीप्रकोप हुँदा आपूm पूर्ण संयमित हुँदै जे–जस्तो अवसर पर्छ, त्यसलाई सदुपयोग गर्दै भत्केको संरचनाबाट बाहिर निस्कँदै खुला स्थानमा गएर आफू सुरक्षित रहनु पर्छ ।

भूकम्पपछि समन्वय र सहज उद्धार कार्य तदारुकताका साथ गर्न पूर्वतयारी तथा व्यवस्थापन गर्नुपर्ने पाठ वैशाख महिनाको भूकम्पले सिकाएको छ । यसमध्ये सर्वसाधारणलाई भूकम्पका बेला कसरी सुरक्षित हुने भन्नेबारे जानकारीको ज्ञान अभिवृद्धि गर्न तालिम सञ्चालन गर्नुपर्छ । भूकम्पीय जोखिमबाट बच्ने जनचेतनाको पाठ सिकाइ ‘झटपट झोला’ जस्ता सामानको पूर्वप्रबन्ध गर्न चेतना जगाउनु पर्छ । भूकम्पबाट हुनसक्ने सम्भावित जोखिमको पूर्वपहिचान गरी त्यस्ता जोखिमपूर्ण संरचनाहरुलाई मर्मत सम्भार गर्ने या भत्काउनुपर्छ । राष्ट्रियस्तर र स्थानीय स्तरमा तालिमप्राप्त उद्धारक जनशक्तिको विकास गर्नुपर्छ, ताकि जतिसक्दो छिटो उद्धार कार्य गर्न सकियोस् ।  

उद्धार कार्यमा संलग्न हुने संस्थाहरुबीच प्रभावकारी समन्वयको खाँचो हुन्छ । प्राविधिक हिसाबले समन्वयलाई भोलि नै भूकम्प छुट्दैछ भन्ने भावनाले चुस्त बनाइराख्नु पर्छ । जसमा कि छोटो समयमा धेरै उद्धार कार्य गर्न सकियोस् । उद्धार उपकरणहरु– जस्तो, ढलानलाई काट्ने विद्युतीय उपकरण, थुप्रेको इँटा, माटो आदि तत्काल छिटो हटाउने सोहर्ने विकसित सामान, सिमेन्ट ढलानलाई तत्काल प्वाल पार्नसक्ने ब्याटरी चालित ज्याबल, थुप्रेको इँटालाई टुक्राटुक्रा पारी माटोमा परिणत गर्नसक्ने केमिकल तरल पदार्थ आदि सामग्री तत्काल उपलब्ध हुने प्रबन्ध गर्नुपर्छ । यस्ता उपकरण र प्राविधिक सरसामान चलाउन जान्ने तालिमप्राप्त व्यक्ति तयार पार्नुपर्छ ।
 
विभिन्न क्षेत्रको माटोको परीक्षण गरी माटोले थेग्ने क्षमताअनुसारको मात्र भवन संरचना निर्माण गर्न अनुमति दिने पद्धतिको विकास गर्नुपर्छ । आवासीय घर, भवन, हाउजिङ कम्प्लेक्स, व्यापारिक मल, अफिस कम्प्लेक्स निर्माणसम्बन्धी वैज्ञानिक राष्ट्रिय मापदण्ड निर्धारण गरी कडाइका साथ अवलम्बन गराउने संयन्त्र विकास गरिनु पर्छ । यस्ता संरचनाहरुमा भूकम्प प्रतिरोधक (रिजलेन्ट) प्रविधि अपनाउन राष्ट्रिय पुनर्निमाण आयोगले हदैसम्म कडाई गर्नुपर्छ । स्मरणीय छ, भूकम्पले मानिसलाई मार्दैन तर भौतिक संरचना भत्केर त्यसले किचेर मानिसलाई मार्छ ।

भूकम्प गएपछि सबै व्यावसायिक हवाई उडान रद्द गरी हेलिकप्टर तथा साना हवाइजहाज उद्धारकार्यमा लाग्नुपर्ने नियमावली निर्माण गरिनुपर्छ । आवश्यक मात्रामा खाद्यान्न, कम्बल, ओछ्यान, पाल, त्रिपाल, फास्टफुड (तयारी खानेकुरो) आदिको क्षेत्रीयस्तरमा भण्डारण गर्ने व्यवस्था हुनुपर्छ । गोदाममा सञ्चित यस्ता सामान ६ महिना÷वर्ष दिनमा बदलिरहनु पर्छ । पुरानो सामान बिक्री गरी नयाँ स्टक राख्ने प्रचलन गर्नुपर्छ । क्षेत्रीयस्तरको स्वास्थ्य संस्थामा भूकम्पपीडितका लागि आवश्यक पर्ने औषधिको स्टक राखिने प्रबन्ध गरिनुपर्छ । यस्ता सञ्चित औषधि वर्ष–वर्ष दिनमा बिक्री गरी नयाँ औषधि तथा स्वास्थ्य सेवासम्बन्धी सामग्री उपकरण बदलिरहने व्यवस्था हुनुपर्छ ।

वैशाखको भूकम्पले भुइँचालो आउनुअगाडि जानकारी दिने यन्त्र जडान गर्ने प्रबन्ध गर्नुपर्ने पाठ पनि सिकाएको छ । यो प्रविधिद्वारा एफएम रेडियो, मोबाइल एप्सको माध्यमले सार्वजनिक स्थल तथा अस्पताल आदि स्थानमा साइरन तुरुन्त बज्ने गरी तत्काल भूकम्प आउने जानकारी सबै नागरिकसम्म पु¥याउन सकिने व्यवस्था गर्नुपर्छ  ।

त्यसैले महाभूकम्प छुट्दा कसरी आफू बच्ने र अरुलाई बचाउने भन्ने ज्ञान हासिल गर्नुपर्छ ।  आफूले बनाएको आफ्नै घरले आफैलाई किचेर आफू नमरौं भन्नका निम्ति भूकम्प प्रतिरोधक निर्माण मापदण्ड अवलम्वन गर्दै भूकम्पीय शिक्षा हासिल गरी सदा चनाखो तथा जागरुक होऔं । यस्तो मापदण्ड अवलम्वन गराउने तथा जनचेतना जगाउने कार्यमा राष्ट्रिय पुनर्निर्माण आयोगको अहम् भूमिका रहनु पर्छ ।
 






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad