६ वैशाख २०८१ बिहीबार
समाज

ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा

ललितपुर-वर्षा र सहकालका देवता रूपमा परिचित रातो मच्छिन्द्रनाथको जात्राअन्र्तगत बिहीबार मच्छिन्द्रबहालमा राखिएको मच्छिन्द्रनाथ देवतालाई खटमा राखी रथमा विराजमान गराइएको छ। देवतालाई पुल्चोकस्थित रथमा विराजमान गराइएको भोलिपल्टदेखि गाईदान, शान्तिस्वस्ति लगायत पूजा गरिने चलन रहेको गुठी संस्थान ललितपुरका शाखा प्रमुख बैकुण्ठ आचार्यले जानकारी दिए।

मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएपछि १७ गतेसम्म परम्परागत पूजा गरिनेछ र १७ गते मध्याह्नपछि मात्रै शुभ साइतअनुसार रथयात्रा आरम्भ हुनेछ । १७ गते बाजागाजासहित सुरु हुने रथ यात्रा पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालसम्म पु¥याएर त्यहीँ राख्ने परम्परा छ । जात्राको दोस्रो दिन सुन्धारा पुर्‍याएर एक दिन रथ यहीँ  राखिन्छ । स्थानीयले सोही दिन मच्छिन्द्रनाथको पूजाअर्चना गर्छन्।

१७ गते पुल्चोकबाट तान्न थालिएको रथ गाःबहालमा लगेर राखिन्छ । गुठी संस्थान ललितपुर शाखा प्रमुख आचार्यले भने, ‘त्यसपछि शुभ साइतअनुसार मंगलबजार, सुन्धारा, चक्रवहिल हुँदै लगनखेलस्थित थटीटोलमा लगेर राखिन्छ, त्यहाँ लगेपछि फेरि नयाँ साइत हेरेर फाटो देखाउनका लागि जावलाखेलतर्फ लगिन्छ ।’ लगनखेलस्थित छटीमा राखिएको रथ साइत हेरेर कुमारीपाटी हुँदै जावलाखेल लगिन्छ । रथ जावलाखेलमा पु¥याएको चौथो दिन हरेक वर्ष भोटो देखाउने परम्परा छ ।

नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित मछिन्द्रनाथको रथजात्रा गत वर्ष भने शुक्रअस्तका कारण दुई महिना लगनखेलमा राखिएको थियो ।

मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित भएको संस्कृतिविद् हरिराम जोशीले बताए । ‘करिब १६ सय वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ,’ उनले भने, ‘नेवारी परम्पराअनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलहरु परिक्रमा गराउने परम्परा छ ।’ वि.सं. ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन्।

‘ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा अक्षय तृतीयादेखि शुभ साइत पारी मच्छिन्द्रनाथलाई विराजमान गरिन्छ,’ गुठी संस्थान ललितपुर शाखा प्रमुख आचार्यले भने, ‘भगवान मछिन्द्रनाथको रथारोहणपछि विधिवत रुपमा यात्रा सुरु हुन्छ ।’ उनका अनुसार रथ तान्नु अगाडि गुरुज्यूको पल्टनबाट सलामी दिने परम्परा पनि छ।

जावलाखेलमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पु¥याउने परम्परा छ।  रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ । जात्रा सकिएर बुङमती पुर्‍याइएको रथ छ महिनासम्म त्यही राखेर साइतअनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ।

 

 

प्रकाशित: १५ वैशाख २०७४ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App