७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेतृत्व लिन विद्यार्थी नेता गाउँ पसे

काठमाडौं-राजधानीलाई कर्मथलो बनाउँदै आएका विद्यार्थी नेताहरू स्थानीय तहको चुनावका लागि गाउँ फर्किएका छन्। गाउँ/नगरपालिका प्रमुख/उपप्रमुख/मेयर/उपमेयर र वडा अध्यक्षमा प्रतिस्पर्धा गर्न उनीहरू गाउँ फर्किएका हुन्।

लामो समय सहर बसेर चुनावको मुखमा गाउँ फर्केकालाई टिकट पाउन र टिकट हात पार्नेलाई चुनाव जित्न भने कठिन हुने स्थानीयको आँकलन छ । काठमाडौं बसेर केन्द्रको मात्र राजनीति गरेको आरोप लागेका विद्यार्थी नेता स्थानीय चुनावमा उम्मेदवारको आकांक्षी बनेर गाउँ पसेका हुन् ।

अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिव भगतसिंह बोहरा क्षेत्रीले दार्चुलाको अपी हिमाल गाउँपालिका प्रमुखमा उम्मेदवारी दिँदैछन् । उनले बुधबार दिउँसो नागरिकसँग टेलिफोनमा भने, ‘चुनाव प्रचारका लागि म घरदैलो अभियानमा छु ।’

युवा जागरुक नभई गाउँको विकास सम्भव नभएकाले आफूले गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने निश्चित भएको उनले बताए । ‘अहिले स्थानीय तहले धेरै अधिकार पाइसकेको छ । युवाले जिम्मेवारी नलिई विकास सम्भव छैन’, क्षेत्रीले भने, ‘भोलि विकास पनि गर्न सकिने जनताका समस्यालाई समाधान गर्ने आशा बोकेको छु ।’

संविधानले दिएको अधिकार गाउँमा पु¥याउन स्थानीय तहमा पढेलेखेका मान्छेले नेतृत्व लिनुपर्ने उनले बताए । ‘स्थानीयले पनि पढेकै मान्छे खोजेका छन् । जनताको सेवा गर्न निकै उपयुक्त निकाय भनेको स्थानीय तह नै हो । केन्द्रसँग पहुँच भएको र पढेलेखेको मान्छे नै उम्मेदवार हुनुपर्छ ।’ नेपाली र राजनीतिशास्त्रमा स्नातकोत्तर सकेका क्षेत्रीले कानुनमा समेत स्नातक गरेको बताए ।

राजधानी बस्र्दै आएकी अनेरास्ववियुकी पूर्वकेन्द्रीय सदस्य सीता थापा पनि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिन  गाउँ पुगेकी छिन् । पशुपति क्याम्पसमा समाजशास्त्र विषयमा स्नातकोत्तर पहिलो वर्षमा अध्ययनरत थापा उपमेयरको आकांक्षी भएको बताउँछिन्।

चौध वर्षदेखि विद्यार्थी राजनीतिमा लागेकी उनी चुनाव मिति घोषणा भएपछि नगरपालिकाको नेतृत्व दाबी गर्दै गाउँ फर्केको  बताउँछिन् ।

अब न्यायिक समितिको समेत नेतृत्व लिनुपर्ने भएकाले पढेलेखेकाले नै नेतृत्व सम्हल्नुपर्ने थापाको भनाइ छ । ‘न्यायिक क्षेत्रको संयोजन गर्ने जिम्मा प्रमुख, उपप्रमुखले गर्नुपर्ने भएको छ’, उनी भन्छिन्, ‘गाउँको विकास गर्न अध्ययन, विश्लेषण गनुपर्ने छ ।’ अबको नेतृत्वलाई एक खालको चुनौती पनि छ ।

अहिलेको स्थानीय तहको संरचना स्थानीय सरकारको अवधारणा हो । स्थानीय सरकारको नेतृत्व गर्न पढेलेखेको हुनुपर्छ भन्ने आकांक्षीको दाबी छ ।

‘देशको प्रमुख पदमा पुग्ने अग्रज महिला संघर्षमार्फत आएका हुन् । अब संविधान कार्यान्वयन गर्न पनि विद्यार्थी गाउँदेखि नै नेतृत्वमा आउनुपर्छ ।’ विद्यार्थी कालदेखि नै विकास निर्माणमा सहभागी भएकाले आफूलाई गाउँको नेतृत्व लिन अप्ठेरो नभएको उनले बताइन् ।

अर्घाखाँची छत्रदेव गाउँपालिकाको प्रमुख पदको आकांक्षी बनेर नेविसंघका पूर्व केन्द्रीय सदस्य लेखनाथ पोख्रेल पनि गाउँ पुगेका छन् । साबिकका आठ गाविस मिलेर सो  गाउँपालिका बनेको हो । काठमाडौं बसेर विद्यार्थी राजनीति गर्दै आएका पोख्रेल गाउँपालिका प्रमुखको उम्मेदवार बन्न गाउँ फर्केको बताउँछन्। 

‘राजनीतिमा माथि पुग्न गाउँबाटै नेतृत्व लिनुपर्ने महसुस गरेको छु’, पोख्रेलले भने, ‘विकेन्द्रीकरणअन्तर्गत काम, कर्तव्य र अधिकारलाई सही ढंगले सदुपयोग गर्न सकियो भने गाउँ बनाउन सकिन्छ ।’ नेताहरू काठमाडौं मात्र बस्छन् भन्ने आरोपलाई चिर्न पनि उनी गाउँप्रमुख बन्न लागेको बताउँछन्।

गाउँपालिका अध्यक्षलाई निकै ठूलो जिम्मेवारी दिइएकाले गाउँलाई सुधार्ने उनको इच्छा छ। ‘न्यायपालिकासहितको व्यवस्था गाउँमा गएकाले हामीजस्ता पढेलेखेकाले नेतृत्व लिन आवश्यक छ’, उनले भने । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर सकेका पोख्रेलले पाँच वर्षमा गाउँको विकास गर्ने संकल्प लिएको बताए ।

‘गाउँका स्रोत साधनलाई उपयोग गरी स्थानीयले नै आर्जन गरी त्यहीं विकास गर्नुपर्छ’ उनले भने, ‘संविधान अनुसार अधिकार कार्यान्वयन गर्न सके गाउँ÷नगरपालिकामा शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार तयार गर्न सकिन्छ ।’ चुनावका लागि गाउँ पुग्दा स्थानीयले गाउँमा बस्छ कि बस्दैन भन्ने आशंका भावले हेरेको पनि उनले बताए ।

त्यसैगरी बागलुङको जैमिनी नगरपालिकाा प्रमुखमा दाबी गर्दै नेविसंघका उपमहामन्त्री हरिहर शर्मा पनि गाउँ पुगेका छन् । नेपाली कांग्रेस बागलुङले सो नगरपालिकामा तीन जनाको नाम सिफारिस गरेको छ। तीनजनामा उनी पनि छन्। 

गाउँमा  बलियो आधार बनाउन नसकेसम्म राष्ट्रिय राजनीतिमा सफल हुन नसकिने उनको बुझाइ छ। स्थानीय सरकारको नेतृत्वमा रहेर विकासनिर्माणमा समन्वयकारी भूमिका निर्वाह गर्ने उनको इच्छा छ। पछिल्लो समय राजनीतिप्रति युवा पुस्ताको वितृष्णा आइरहेका बेला हुन लागेको स्थानीय निर्वाचनले एक खालको जागरण ल्याउने उनी बताउँछन् ।

नेपाली विषयमा स्नातकोत्तर सकेका शर्माले विकासलाई समृद्धि र प्रविधिसँग जोड्न आफू नगरपालिका प्रमुखको दाबेदार भएको बताए । ‘स्थानीय तह हिजोको जस्तो होइन अहिले धेरै अधिकार प्रत्यायोजन भएको छ’, शर्माले भने, ‘अब पढेलेखेकाले नै नेतृत्व लिनु आवश्यक छ।’

प्रकाशित: १५ वैशाख २०७४ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App