८ वैशाख २०८१ शनिबार
अर्थ

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने सम्भावना बढ्दै

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने ठाउँको टाँगिया बस्ती ।

बारा– जीतपुर–सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने सम्भावना बढ्दै गएको देखिएको छ ।

२०५१ सालदेखि नै देशको एक्लो अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा दोस्रो निर्माण गर्ने हल्ला चल्दै आएको थियो । अहिले यसको प्राविधिक प्रगति समेत देखिन थालेकोले निर्माणको हुने सम्भावना बढेको बताइएको छ ।

अहिले विमानस्थलभित्र पर्ने नम्बरी जग्गाको मुआब्जा स्थानीयलाई वितरण गर्ने काम सुरु गरिएको, विमानस्थलभित्र पर्ने वनको काठ व्यवस्थापन र ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको र वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गर्न विज्ञको टोली खटेकाले निर्माण कार्यले गति लिन थालेको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख हरि अधिकारीले अघिलो वर्षको तुलनामा अहिले यसको चौतर्फी प्रगति हँुदै गएको बताएका छन् ।

‘वनसँग रुख कटान अनुमति मागिएको छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘अनुमति आउनेबित्तिकै रुख कटान गरी विमानस्थलको ट्र्याक खोल्ने कार्यमा नेपाली सेना खटिने छ ।’

केही महिनाअघि सरकारले टाँगिया बस्तीमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइसकेको आयोजना प्रमुख अधिकारीले बताए।
अहिले टाँगिया बस्तीको ऐलानी जग्गामा घर बनाएका स्थानीयलाई व्यवस्थापन गर्न मुख्य समस्या देखिएको उनले बताए ।
सरकार जसरी पनि यो विमानस्थल निर्माण गर्ने काममा लागेकोले यो बनेरै छाडने दाबी अधिकारीले  गरे । २२ वर्षअघि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनिए पनि काममा कुनै प्रगति नदेखिएपछि यस क्षेत्रका स्थानीयले रविराज दंगालको नेतृत्वमा आन्दोलन समेत गर्दै आएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले विमानस्थलले ओगट्ने नम्बरी जग्गाको मुआब्जा वितरण सुरु भएको बताएका छन् ।
‘यकिन गरिएको नम्बरी जग्गाका धनीलाई मुआब्जा लिन आउन सार्वजनिक सूचना निकालेका छौं,’ प्रजिअ मानन्धरले भने, ‘मुआब्जा वितरणपछि निर्माण सुरु हुनेछ ।’
नेपाली सेनाले त्यसको व्यवस्थापन र ट्र्याक खोल्ने जिम्मा पाएपछि त्यसलाई तारबारले घेर्न र बास बस्नको लागि समेत सेनाले भित्री तयारी सुरु गरेको उनले बताए ।
विमानस्थल निर्माण गर्न आवश्यक पर्ने १२ हजार बिघा जग्गामध्ये ११ हजार नौ सय १० बिघा जंगल भएको ऐलानी जग्गा हो । बाँकी एक सय १० बिघा निजी जग्गाको मात्रै मुआब्जा दिर्नुपर्ने भएकोले यो विमानस्थल कम लागतमा तयार हुने आयोजना प्रमुख अधिकारीले बताए ।  
देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य मुलुकबाट आउने ठूला जहाज अवतरण गर्न नसक्दा त्यसमा यात्रा गर्ने पर्यटक वा नेपाली नागरिक सिधै नेपालमा आउन नसक्ने अवस्थासमेत यो निर्माण भएपछि अन्त्य हुने बताइन्छ ।
विमानस्थल निर्माण कार्यमा केही प्रगति देखिए पनि टाँगिया बस्तीको जंगलभित्र  वर्षौंदेखि बस्दै आएका स्थानीयबारे सरकराले अहिलेसम्म केही नसोच्नु चिन्ताको बिषय भएको टाँगिया बस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले बताए ।
निजी जग्गा अधिग्रहण गरी मुआब्जा दिन सजिलो भए पनि ऐलानी जग्गामा बसेको टाँगिया बस्तीमा बसोबास गरिरहेका १६ सय घरधुरीलाई पुनर्बास गराउन सरकारले जग्गा छनोट गरी निर्णय गर्न बाँकी रहेको आयोजनाका अधिकारीहरुले बताएका छन् ।
विमानस्थल निर्माण गर्ने ठाउँको पूर्वमा बकिया खोला, पश्चिममा पसाहा खोला, उत्तरमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग र दक्षिणमा हरैया गाविस छ । प्राधिकरणले यो विमानस्थल सात खर्ब रुपैयाँमा बनाउन सकिने प्रारम्भिक अनुमान गरेको आयोजनाका अधिकारी बताउँछन् ।
निजी जग्गा अधिग्रहरण भई सकेपछि ऐलानी जग्गामा रहेको टाँगिया बस्तीलाई समयमै पुनर्बास गराएर चारैतिरबाट विमानस्थल निर्माण हुने भागलाई घेर्ने योजना रहेको उनले बताए ।
संसारका ठूला बिमानस्थलमध्ये एक हुने यस विमानस्थलको धावनमार्ग तीनदेखि तीनदेखि चार किलोमिटर लामो हुनेछ । धावनमार्गको चौडाइ ६०–७५ मिटरको हुने भएकोले यसमा विश्वकै ठूला जहाजले सजिलै आवतरण गर्ने अधिकारीले बताए ।
सरकारले बजेट उपल्बध गराउँदै गए भौगोलिक अनुकूलताका कारण निर्माणमा ढिलाइ नहुने उनले बताए ।
यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सकिने आयोजना अधिकारीको भनाइ छ । पहिलो चरणमा ३४ हजार र पूर्णक्षमतामा चार लाख जहाज उडान अवतरण हुन सक्ने क्षमता यो विमानस्थलको हुनेछ । सरकारले निर्माण गर्न भनिएको तराई–मधेस फास्ट ट्र्याक निर्माण भएपछि राजधानीबाट दोस्रो आन्तर्राष्ट्रिय विमानस्थल ८० किलोमिटरको दुरीमा हुनेछ ।

 

 

 

प्रकाशित: १४ वैशाख २०७४ ०५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App