coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दोस्रो जीवनको दोस्राे वर्ष

काठमाडौ– मंगलबार दानी थापा चक्रपथस्थित एउटा कार्यक्रममा थिइन् । दुई वर्षअघिको क्षण सम्झँदै उनले भनिन्, ‘दोस्रो जीवन नपाएको भए ! आज हाम्रो दोस्रो जीवनको दोस्रो वर्ष हो ।’

उनी २०७२ वैशाख १२ को भूकम्पमा धरहराबाट खसिन्, एक भाइ र एक बहिनी गुमाइन् । आफ्नै पनि एउटा खुट्टा गुमाइन् । साथमा रहेकी साढे दुई वर्षकी छोरी भने सकुशल पाइन् । धरहराबाट खसेपछि दोस्रोजीवन पाएजस्तो लाग्छ दानीलाई । यसैले त छोरी र आफ्नो उमेर बराबर मान्छिन् उनी ।
गोंगबुमा बस्थिन् दानी । भाइबहिनी अनि छोरी च्यापेर चिडियाखाना घुम्न गइन् । फर्केर आउँदा धरहरा पनि चढे पाँचैजनाले । टुप्पोमा पुगेर फोटो खिच्न थालेका मात्रै थिए, त्यही बेला हल्लियो धरहरा । चिच्याउन थाले सबैजना । दानी एउटा हातले छोरी र अर्को हातले रेलिङ समाएर थ्याच्च बसिन् । धरहरा ढल्कियो । दानीले केही थाहा पाइनन् । होस खुल्दा बहिनीको मृत शरीर छेउमै थियो । भाइको त लास पनि देखिनन् उनले । तर, छोरी सकुशल काखमै पाएर उनको सास आयो ।

‘उठ्न खोजें सकिनँ,’ दानीले सुनाइन्, ‘खुट्टा च्यापिएको अनि शरीर थिचेको, कसरी उठ्न सक्नु ।’ चिच्याइन् कसैले सुनेनन् । निकै बेरपछि एकजना आएर छोरी निकालिदिए । उनलाई भने कसैले निकाल्न सकेनन् । ४ बजेतिर प्रहरी आएर निकालेर अस्पताल पु¥यायो । त्यस बेलासम्म उनको एउटा खुट्टा काम नलाग्ने भइसकेको थियो ।
...
रुपन्देहीका गोपाल अर्याल बाफलमा लुम्बिनी वाटिका गेस्टहाउस चलाएर गुजारा गर्थे । भूकम्पले गेस्टहाउस भएको घर ढाल्यो । उनी पनि थिचिए । बाँच्छु जस्तो लागेन उनलाई । जीवनको अन्तिम दिन आएछ जस्तो लाग्यो । ५३ वर्षीय अर्यालको पाँच घन्टापछि उद्धार भयो । ‘उद्धारपछि त दोस्रो जीवनकै कल्पना गरें,’ उनले भने, ‘तर, एउटा खुट्टा भने गुमाउन बाध्य भएँ ।’
...
सन्देश बस्नेत नेपाल प्रहरी विद्यालय साँगामा छात्रावासमा बसेर पढ्थे । उनी त्यो दिन पनि छात्रावासमै थिए । एक्कासि जमिन हल्लिन थाल्यो । सबै भाग्न थाले । सन्देश पनि भाग्दै थिए । कौसीको पर्खाल झरेर थिच्यो । उनी जमिनमा ढल्न पुगे । पछि उनको खुट्टा काट्नुपर्ने अवस्था आयो । दुईवटै खुट्टा काटियो ।
...
भूकम्प गएको दुई वर्ष पुगेको दिन पारेर वी नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा एकपछि अर्कोले यसैगरी दुई वर्षअघिको भूकम्पको कहालीलाग्दो कहानी सुनाइरहेका थिए । संयोग, कहानी सुनाउनेमा अधिकांश भूकम्पका कारण खुट्टा गुमाउने थिए । ‘बाँच्छौं भन्ने त लागेकै थिएन,’ कार्यक्रममा उपस्थित सबैको एउटै भनाइ थियो, ‘आज त हाम्रो दोस्रो जीवनको दोस्रो वर्ष हो ।’
वी नेपालले खुट्टा गुमेकालाई उत्प्रेरणा दिन कार्यक्रम आयोजना गरेको थियो । वी नेपाल भूकम्पकै कारण जन्मेको संस्था हो ।

भूकम्पमा खुट्टा गुमाएकाहरु कृत्रिम खुट्टा जोड्न भृकृटीमण्डपस्थित राष्ट्रिय अंपाग कोषमा पुग्दा उनीहरुबीच भेटघाट भयो । सबु पौडेल पनि पतिले भूकम्पमा गुमाएको खुट्टाका ठाउँमा कृत्रिम खुट्टा राख्न त्यहीं पुगेकी थिइन् । त्यहाँ खुट्टा गुमाएका थुप्रैलाई भेटिन् उनले  । उनीहरु गुनासो सुनाउँथे, ‘बरु त्यस बेलै मर्न पाएको भए आनन्द हुन्थ्यो, बाँचेर दुःख भयो ।’ यस्तो गुनासो गर्नेमा धेरै महिला थिए  । उनीहरुलाई निराशाबाट मुक्ति दिन सबुले वी नेपाल संस्था खोलिन् । संस्थाले ह्यान्डिक्राफ्टको तालिम दिई आवश्यक सामान प्रदान गर्छ । सामान बनेपछि ल्याएर बेच्ने काम पनि गर्छ । अहिले १३ जना महिला वी नेपालमा काम गर्छन् । उनीहरुले महिनामा करिब ७ देखि १० हजारसम्म आम्दानी गर्छन् ।
दानी पनि वी नेपालमै काम गर्छिन् । कार्यक्रममा उनले भनिन्, ‘जीवनमा हार खानु हुँदैन भनेर वी नेपालले सिकायो ।’

प्रकाशित: १४ वैशाख २०७४ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App