coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टेलियालाई नेपालमा कर तिर्न आग्रह

काठमाडौं– राष्ट्रिय युवा परिषद नेपालले एनसेल बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलिया सोनेरालाई उक्त खरिद–बिक्रीमा तिर्नुपर्ने पुँजीगत लाभकर नेपालमै तिर्न आग्रह गरेको छ। परिषदले स्विडेनका महावाणिज्यदूत गजेन्द्रबहादुर श्रेष्ठमार्फत बिहीबार उक्त कम्पनी र स्विडेन सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

परिषदका अध्यक्ष सरोज बानियाँको नेतृत्वमा १५ भन्दा बढी पदाधिकारी सहभागी टोलीले महावाणिज्यदूत श्रेष्ठलाई बिहीबार ज्ञापनपत्र बुझाएको थियो । 

‘नेपालमा व्यापार गरी नाफा आर्जन गरेको टेलिया सोनेरालाई नेपाल सरकारलाई करबापत तिर्नुपर्ने रकम तिरेर नेपाली जनताले देखाएको माया र विश्वासको कदर गर्न हामीले ज्ञापनपत्रमार्फत आह्वान गरेका छौं,’ बानियाँले भने ।

सुशासन तथा शून्य भ्रष्टाचारको पर्याय मानिने स्विडेन जस्ता देशका कम्पनीले नेपालमा कर नतिर्नु रहस्यमय रहेको उनले बताए । स्विडेनमा दर्ता रहेको कम्पनीले नेपालजस्तो सानो अर्थतन्त्र भएको देशमा आफ्नो कम्पनी बेच्दा आर्जन गरेको नाफामा पुँजीगत लाभकर तिर्नु उपयुक्त हुने भन्दै परिषदले बिहीबार ज्ञापनपत्र हस्तान्तरण गरेको थियो ।

बानियाँले कुनै पनि देशमा स्वामित्व बेच्दा आएको नाफामा पुँजीगत लाभकर तिर्नुपर्ने कानुनी व्यवस्था हुन्छ भन्दै टेलिया सोनेराले पनि करबापत लाग्ने रकम नेपाल सरकारलाई तिर्नुपर्ने विषयमा महावाणिज्यदूत श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । ज्ञापनपत्र बुझ्दै महावणिज्यदूत श्रेष्ठले परिषदको आग्रहलाई सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता गरे ।

सुरुताका मेरो मोबाइलको नामले चिनिने एनसेल करिब ६ वर्षअघि सन् २०१० मा रिब्रान्डिङ गरिएको मोबाइल सेवा प्रदायक कम्पनी हो । ऊबेलाको पूर्ण सरकारी दूरसञ्चार संस्थान (हालको नेपाल टेलिकम) को बजार एकाधिकार तोडेर उपभोक्तालाई सस्तो र गुणस्तरीय मोबाइल सेवा दिइरहेको दाबी गर्ने एनसेल नेपालमा सबैभन्दा बढी कर तिर्ने कम्पनी पनि हो । तर नेपालकै पहिलो ठूलो राशिको कर्पोरेट किनबेच प्रकरण सुरुदेखि नै विवादमा छ । यसको पुँजीगत लाभकरको विषयमा ठूलै बहस भयो । पुँजीगत लाभकर तिर्ने दायित्व बेच्ने कम्पनी अर्थात टेलिया सोनेराको भए तापनि हाल विभिन्न निकाय आर्थिक वा मनोवैज्ञानिक प्रलोभनमा परेर एनसेलविरुद्ध लागेको पनि परिषदको भनाइ छ ।

प्रकाशित: ३१ असार २०७३ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App