coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उम्मेदवार छनोटमा एकलौटी भएको भन्दै कांग्रेस पार्टी कार्यालयमा तालावन्दी

सुर्खेत- स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटमा कांग्रेसमा गम्भीर विवाद देखिएको छ। क्षेत्र नं.२ को उम्मेदवार छनोटमा क्षेत्रीय कार्यसमितिले एकलौटी गरिएको भन्दै क्षेत्रीय सभापतिमा निकटम् प्रतिद्वन्द्वी कर्णबहादुर रानाले पत्रकार सम्मेलन गरेर असन्तुष्टी पोखे। उनले लेकबेसी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा उम्मेदवार छनौटमा एकलौटी गरिएको आरोप लगाए । ‘लोकप्रिय र चुनाव जित्नेलाई टिकट दिउँ भन्दा नातावाद र कृपावाद लागू गरियो’ रानाले पत्रकार सम्मेलनमा भने, ‘यसमा मेरो र मेरो टीमको पूर्ण असहमति छ ।’ लेकबेसी नगरपालिका र वीरेन्द्रनगरका वडा नं. १, ५, ६ लगायतमा आफ्नो असहमति रहेको बताए।

रानाले पार्टी सभापति कमलराज रेग्मीले उम्मेदवार छनोटमा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाए। ‘लेकवेसी नगरपालिकामा मेयरका लागि टोपबहादुर टंलामी सक्षम र योग्य हुँदाहुँदै उमेश पौडेललाई उम्मेदवार बनाइयो’ उनले प्रश्न गरे, ‘नामै नसुकेको मानिसलाई टिकट दिँदा कांग्रेसले कसरी जित्छ ?’ रानाले आफूले माइन्यूटमा ‘नोट अफ डिसेन्ट’ लेख्न खोज्दा क्षेत्रीय सभापति नारायण कोइरालाले माइन्यूट उठाएर हिँडेको आरोप पनि लगाए । ‘तपाईहरुले छानेका उम्मेदवारमा मेरो असहमति छ, त्यसलाई म लिपिवद्ध गर्छु भन्दा पनि उहाँहरुले दिनु भएन्’ उनले भने, ‘चुनाव जित्न सक्ने, कार्यकर्ता र जनतासँग नजिकको सम्वन्ध रहेको उम्मेदवार भन्दापनि गोजीबाट छानिएका उम्मेदवारलाई हामी मान्दैनौं।’

क्षेत्रीय कार्यसमितिले वडा तहबाट आएका सिफारिसलाई पनि लत्याएको छ । वडा नं ५ बाट अध्यक्षका लागि सिफारिस भएकालाई उम्मेदवार नबनाएर क्षेत्रीय कार्यसमितिले सदस्यमा सिफारिस भएकालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । वडा नं. ५ बाट अध्यक्षका लागि लक्ष्मीबहादुर शाही, चन्द्रलाल सापकोटा, ललित भट्टराई र लिलाराम सुवेदीको नाम सिफारिस भएको थियो । क्षेत्रीय कार्यसमितिले यि चार जना मध्येबाट एकलाई वडा अध्यक्षको उम्मेदवार बनाउनुपर्नेमा वडा सदस्यमा सिफारिस भएका राजबहादुर गुरुङलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ।

यस्तै वडा नं. ६ को वडा अध्यक्षका लागि ९५ प्रतिशत क्रियाशिल सदस्यले उपेन्द्र खड्काको नाममा हस्ताक्षर गरेर नगर कार्यसमितिलाई बुझाएका थिए। नगर कार्यसमितिले उपेन्द्र खड्काको सट्टामा सिफारिसमै नपरेका मोतिलाल कँडेललाई वडा अध्यक्षको टिकट दिएको छ। यस्तै वडा नं. १ बाट तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टको नाम सिफारिस भएपनि क्षेत्रीय कार्यसमितिले नवल गिरीलाई अध्यक्ष बनाएको छ। ‘विधि, प्रक्रिया र चुनाव जित्न सक्ने उम्मेदवार भन्दापनि आफ्ना नातागोता र आफूले चाहेमा मानिसलाई टिकट बाँड्ने काम भयो’ वडा नं. ६ बाट अध्यक्षका प्रत्यासी उपेन्द्र खड्काले भने, ‘लोकतान्त्रिक पार्टीको यो निर्णयकाविरुद्ध आन्दोलनको सुरुवात गछौं ।’ असन्तुष्ट पक्षले बुधबार बेलुका पार्टी कार्यालयमा तालावन्दी गरेको छ। नगर सचिव उपेन्द्र खड्काको नेतृत्वमा गएको असन्तुष्ट पक्षले तालावन्दी गरेको हो।

 

 

प्रकाशित: १३ वैशाख २०७४ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App