८ वैशाख २०८१ शनिबार
राजनीति

दलहरूलाई उम्मेद्वार छनौटमा सकस

धनकुटा – स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वार बन्न धेरै आकांक्षी हुँदा धनकुटाका राजनीतिक दलहरुले उम्मेद्वार छनौट गर्न सकेका छैन । निर्वाचनको मिति सरेकाले उम्मेद्वार छनौट रोकिएको भन्दै राजनीतिक दलका नेता पन्छिएपनि उम्मेद्वारका आकांक्षीलाई मिलाउन नसकेकै कारण रोकिएको हो । त्यसैले दलहरुलाई सर्वसम्मत उम्मेद्वार घोषणा गर्न सकस परेको राजनीतिक विश्लेषक एवं सहप्राध्यपक गोपाल अधिकारीले बताए । 

उम्मेद्वार बन्नको लागि कार्यकर्ताहरूको दौडधुप चलिरहेको बेला धनकुटाका राजनीतिक दललाई भुगोल र जातीय सन्तुलन मिलाएर उम्मेद्वार घोषणा गर्न चुनौतिपूर्ण रहेको छ । यसका साथै पार्टी भित्रको गुटगत प्रतिस्पर्धा र तालमेल गरेर चुनावमा जाने योजनाले पनि उम्मेद्वार छनौट रोकिएको सहप्राध्यपक अधिकारीले बताए ।  

नेपाली कांग्रेसले गाउँतहबाट उम्मेद्वारको आकांक्षीहरूको नाम सिफारीस गरेपनि क्षेत्रीय समितिमा पुगेर रोकिएको छ । चुनावको मिति सरेकाले क्षेत्रीय समितिमा आएका नाममा छलफल हुन नसकेको नेपाली कांग्रेस धनकुटाका उपसभापति नविनकिशोर शाक्यले बताए । नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिकाको प्रमुख र उपप्रमुख र सवै वडामा २ देखि ७ जनाको दावेदारी आएको छ । सवै उम्मेद्वार सर्वसम्मत बनाउने प्रयास भईरहेको उपसभापति शाक्यले बताए । 

त्यस्तैगरी नेपाली कांग्रेसलाई एमाले विरुद्ध अन्य राजनीतिक दलहरूसँग मिलेर चुनावमा जाने रणनीति समेत लिएको छ । जिल्ला सभापति  अग्नि पौडेल र पूर्वसभापति मनोहरनारायण श्रेष्ठले माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरमसंग चुनावी तालमेलको लागि छलफल गरिरहेको शाक्यले बताए । धनकुटाको क्षेत्र नं. १ मा रहेको ४ वटा स्थानीय तहमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमसंग र क्षेत्र नं. २ का तीनवटा स्थानीय तहमा राप्रपा संग तालमेलको प्रयास भइरहेको बताइएको छ । 

नेकपा एमालेले गाउँपालिका र नगरपालिकास्तरका कमिटीबाट सिफारीस भइआएका नाममा वैशाख ८ र ९ गते जिल्ला कमिटीको बैठकमा छलफल गरेपनि सर्वसम्मत हुन नसकेपछि प्रदेश कमिटीमा पठाएको छ । धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ र उपमेयरमा सकुन्तला बस्नेत र पाख्रीबास नगरपालिकाको मेयर विर्खबहादुर राईलाई उम्मेद्वार बनाउने सहमति भएपनि सार्वजनिक गरेको छैन । अधिकांस वडाध्यक्ष र सदस्यका उम्मेद्वार पनि टुंगो लागेको छ । अहिले उम्मेद्वार घोषणा गर्दा मतदाता र असन्तुष्ट व्यक्तिलाई उक्साउन विपक्षीको चलखेल धेरै हुने भएकाले उम्मेद्वार घोषणा नगरी चुनावी कार्यक्रम मात्रै गरिरहेको जिल्ला कमिटीका उपसचिव निरन राईले बताए । 

एमालेले चौविसे, साँगुरीगढी, खाल्सा छिन्ताङ सहीदभुमी र छथरजोरपाटी गाउँपालिका र  महालक्ष्मी नगरपालिकामा आकांक्षी मिलाउन सकेको छैन । उम्मेद्वारका आकांक्षीहरू जात र भुगोल कुरा गर्छन । भावनात्मक एकताको कुरा गर्दैनन् । त्यसैले प्रदेश कमिटीमा सिफारिस गर्नु परेको उपसचिव राईले बताए । 

त्यस्तै माओवादी केन्द्रले गाउँ र नगर तहबाट वैशाख १५ गते सम्ममा उम्मेद्वारका आकांक्षीको  नाम सिफारीस गरेपछि मात्रै टुंगो लगाउने भएको छ । धेरै वडामा सर्वसम्मत उम्मेद्वारको निर्णय भएको छ । नमिलेको वडामा जिल्ला कमिटीले टुंगो लगाउने छ । नगरको मेयर र उपमेयर र गाउँपालिकाको प्रमुख र उपप्रमुखको टुंगो जिल्ला कमिटीले लगाउने छ । जिल्ला कमिटीमा उम्मेद्वारको सहमति नभए प्रदेश कमिटीले निर्णय गर्ने माओवादी केन्द्र धनकुटाका सह–इन्चार्ज उज्ज्वल किँरातीले बताए । त्यस्तै स्थानीयस्तरमा अन्य राजनीतिक दलसँग तालमेलको प्रयास भईरहेकाले उम्मेदवारी छनौट ढिलो भएको किँरातीले बताए । 

त्यस्तै राप्रपाले पनि निर्वाचनको मिति सरेकाले उम्मेद्वार छनौट प्रक्रिया रोकेको छ । गाउँ र नगरमा उम्मेद्वारहरूको सिफारिस भईरहेको बेला निर्वाचन सरेकाले छनौट कार्य रोकेको राप्रपा धनकुटाका उपाध्यक्ष टिकप्रसाद घिमिरेले बताए । निर्वाचन कार्यालयमा दर्ता भएका  संघीय समाजवादी फोरम, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका साना दलले समेत उम्मेद्वार  घोषणा गरेका छैनन् ।  

प्रकाशित: १३ वैशाख २०७४ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App